सूचनाको शक्ति - The Power Of Information

        

बर्दियामा अन्तिम पटक गर्भजाँच गराउँदैनन् गर्भवती

बर्दिया जिल्लाका गर्भवती महिलामा अन्तिम पटक गर्भजाँच गराउन आउनेको सङ्ख्यामा कमी देखिएको छ ।

स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८–०७९ मा पहिलो पटक गर्भवती जाँच गराउनेभन्दा अन्तिम पटक गर्भजाँच गराउनेको सङ्ख्यामा एक हजार ३८४ जनाले कमी देखिएको हो ।

स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८–०७९ मा पहिलो पटक छ हजार ९६५ जना गर्भवतीले जाँच गराएका थिए । अन्तिम पटक पाँच हजार ५८४ जना गर्भवतीले जाँच गराएका थिए ।

पहिलो पटकभन्दा अन्तिम पटक गर्भवती महिलाले स्वास्थ्य संस्थामा जाँच गराउन नआउनेको सङ्ख्या एक हजार ३८४ ले कमी रहेको छ । आर्थिक वर्ष २०७७–०७८ मा पहिलो पटक सात हजार जना गर्भवती महिलाले जाँच गराएका थिए । अन्तिम पटक भने पाँच हजार ९८४ जना गर्भवतीले जाँच गराएका थिए ।

गर्भवती भएपछि नेपाल सरकारको स्वास्थ्य मापदण्डअनुसार चार पटक अनिर्वाय स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ । पहिलो पटक (चौथो महिना), दोस्रो (छैटौँ महिना), तेस्रो (आठौँ महिना) र चौथो (नवौँ महिनामा) गर्भजाँच गराउनुपर्ने हुन्छ । चिकित्सकको प्रत्यक्ष निगरानीमा रही औषधि र स्वास्थ्य सेवा लिनुपर्ने स्वास्थ्य माापदण्डभित्र पर्छ ।

गर्भवतीको अन्तिम गर्भजाँचमा घटबढको विषयमा बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुभाष पाण्डेले पहिलो पटक गर्भजाँच गर्ने गर्भवतीमध्ये केही गर्भवतीले सिधै चिकित्सकसँग जाँच गर्ने गरेको पाइन्छ र केही गर्भवती नौ महिना नपुग्दै सुत्केरी हुँदा पनि तथ्याङ्कमा फरक पर्ने गरेको बताए ।

स्वास्थ्य कार्यालय बर्दियाका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले पहिलो पटक गर्भवती जाँच गरेपछि केहीले कानुन विपरीत असुरक्षित गर्भपतन गर्नु, गर्भ खेर जानु, गर्भावस्थामा शिशु अपाङ्ग देखिएमा र आमा असुरक्षित भएमा गरिने शल्यक्रिया लगायतका कारण पनि पहिलो पटक (चौथो महिना) र अन्तिम पटक (नौ महिना)मा गर्भवती जाँच गर्न आउने सङ्ख्यामा फरक पर्ने गरेको बताए ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार १६:४१