सूचनाको शक्ति - The Power Of Information

        

अर्थ–डायरी

शेयर लगानीकर्ताको बिल्लिबाठ

बुढापाका भन्ने गर्थे चोक्टा खान जाँदा झोलमा डुबेर मर्छन् । शेयरमा लगानी गरेर नाफा खान गएका नागरिकको साँवा नै सबै डुबेको छ ।

नेपाल सरकारले बनाइएको कानूनमा जुवातास खेल्न प्रतिबन्ध लगाइको छ । तर लुकेर जुवातास नागरिकले खेल्ने गर्छन् । ती नागरिकले एक दिन हार्छन् र एक दिन जित्छन् । जसरी जुवातास खेल्ने नागरिकहरु एक दिन जितेर रमाउँछन् । त्यसरी नै शेयर बजारमा नेप्से बढ्दा शेयरमा लगानी गर्नेहरु पनि रमाउँछन् । तर अर्कोदिन त्यही खेलेर उनीहरु हार्छन् र आफुलाई आफू सुकुम्बासी भएको पनि थाहै पाउँदैनन् । त्यसरी नै शेयरमा लगानी गर्नेहरु पनि भएको सम्पूर्ण सम्पत्ति हारेर कङ्गाल भएका उनीहरुलाई थाहा नै हुँदैन । पछिल्लो समय शेयरमा लगानी गर्नेहरु सबै यसै अन्तरगत पर्छन् ।

अहिले शेयर लगानीकर्ताहरु शेयरको मूल्य घटेर रुवाबासी गरिरहेका छन् भने उता ऋणा तिर्न नसकेर भगाभाग गरिरहेको छन् । शेयरको मूल्य एक दिन बढ्दा खुशी हुन्छन् र अर्को दिन शेयरको मूल्य घट्दा दुःखी हुन्छन् । एक वर्षअघि शेयरको मुल्य बढेको अवस्थामा एक कित्ता शेयरको तीन हजारमा किनेको र अहिले त्यही शेयर १०० रुपैंयाँमा बिक्री नहुँदा शेयरमा लगानी गर्नेहरुको बिल्लिबाठ भइरहेको छ । ५२ लाख नेपाली नागरिकले शेयरमा लगानी गरेका छन् । यिनीहरुले अर्बौ रुपैंयाँ शेयरमा लगानी गरेका छन्, तर त्यो लगानी अहिले बालुवामा पानी भइरहेको छ ।

कैयौं शेयर लगानीकर्ताहरु शेयरको मूल्य घटेर डुबिसकेका छन् भने कति त डिप्रेसनमा समेत गइसकेका छन् । यता शेयरमा लगानी गर्ने तथा शेयर धितो राखेर कर्जा दिने बैंक, फाइनान्स तथा सहकारीहरु अहिले टाट पल्टिसकेका छन् । कति नागरिक शेयरमा लगानी डुबिसकेपछि आफ्नै साथीभाइ, आफन्त तथा नातेदारसँग भागेर हिँडिरहेका छन् । नगरिकले बुझ्दै नबुझी वा दलालीको कुरामा लागेर यतिधेरै पैसा शेयरमा लगानी गर्दा आज सिधासाधी नागरिक चुर्लुम्म डुबिरहेका छन् । हरेक घरमा रुवाबासी र कुटाकुट चलिरहेको छ । शेयरमा डुबिसकेपछि कति नागरिक ऋण तिर्न नसकेर देश नै छोडेर भागिसकेका छन् भने कतिको भाग्ने क्रम सुरु भइरहेको छ ।

यसरी सिधासाधी नागरिक शेयरका कारण नराम्रोसँग डुब्दा सरकार कानमा तेल हालेर बसिरहेको छ । विज्ञहरुका अनुसार अझै पनि शेयरको मूल्य घट्ने छ र अब अर्थतन्त्रमा ठुलो सङ्कट आउने छ । बैंक, सहकारी तथा फाइनान्सहरुमा पैसाको हाहाकार भइरहेको छ । अहिले बैंक, फाइनान्स तथा सहकारीहरुमा पैसा निकाल्नेको भिड छ भने राख्ने कोही छैन । बैंक, फाइनान्स तथा सहकारीहरुले नागरिकसँग विश्वास गुमाइसकेका छन् । यसले गर्दा नागरिकले आफ्नो पुँजी बचत नगर्दा बैंक, फाइनान्स तथा सहकारीहरुले कर्जा प्रवाह तथा कुनै क्षेत्रमा लगानी पनि गर्न पाउँदैनन् ।

अब पनि घर, जग्गा, गाडी र शेयरमा मन्दी आउँछ भन्ने कुरा हरेक नागरिकको मुखबाट सुनिन्छ । शेयर बेच्नेहरु अहिले जथाभावी पाइन्छन् तर खरिद गर्नेहरु कतै छैनन् । नागरिकले आफूसँग भएको पैसा पनि सबै शेयर नै किनेर सकाए । यता शेयर किन्दा आफन्त तथा नातेदारसँग सापटी लिएको पैसा तिर्न नसकेर तनाव भइरहेको छ । शेयर धितो राखेर फाइनान्स, सहकारी तथा बैंकबाट लिएको कित्ता हाल्न नसकेर उनीहरुको बिजोग भइरहेको छ भने शेयर धितो राखेर कर्जा दिने बैंक, फाइनान्स तथा सहकारीहरुको पनि बिजोग भइरहेको छ । यता ऋणीहरुले कित्ता तिर्दैनन्, उता धितो लिलाम गर्दा बिक्री हुँदैन ।

वित्तिय संस्थाहरुले पहिला एक कित्ता शेयर चार हजार रहँदा व्यक्तिलाई कर्जा प्रवाह गरे, अहिले त्यहीँ शेयर २०० रुपैयाँ बिक्री नहुँदा बैंक, फाइनान्स तथा सहकारीहरु पनि डुबिसकेका छन् । पछिल्लो समय शेयर, घरजग्गा र गाडीमा लगानी गर्नेहरु डुबिसकेको वा भागिसकेको भनेर धेरै नागरिक बताउँछन् । अहिले बैंक, फाइनान्स तथा सहकारीमा पैसा राख्नेहरु सस्ंथा खुल्नुअघि नै पैसा निकाल्न लाइनमा हुन्छन् । कति सहकारीले त पैसा फिर्ता दिन नसकेर हात उठाएको वा भागिरहेको पाइन्छ भने बैंकहरुको पनि त्यहीँ हालत छ । अहिले बैंक तथा सहकारीहरुले ११ प्रतिशत ब्याज दिन्छन्, तर अब बचतकर्तालाई पैसा राख्दा १६ प्रतिशतसम्म ब्याज दिन्छु भनेर भन्दा पनि बचत गर्न मान्दैनन् ।

व्यापारी तथा नागरिकहरुले बैंक तथा फाइन्सहरुमा पैसा राख्न छोडिसकेका छन् । अहिले सहकारीले १५ प्रतिशत ब्याज दिन्छन्, तर अब २० देखि २२ प्रतिशत ब्याज दिन्छु भनेर बचतकर्तालाई पैसा राख्न फकाइरहेका छन् । सहकारी, फाइनान्स तथा बैंकहरुको यतिधेरै प्रयासले पनि नागरिक बैंक, फाइनान्स तथा सहकारीहरुमा पैसा राख्न तयार छैनन् र पैसा झिक्न लाइन लागेर बसिरहेका जताततै देखिन्छ । एउटा बजार प्रतिनिधिले पहिला दिनहुँ एकदेखि तीन लाखसम्म पैसा उठाउने गर्थे भने अहिले १० हजार रुपैयाँ पनि उठाउन सक्दैनन् । यसैबाट नागरिकको सहकारीप्रतिको विश्वास कति हट्यो भनेर सजिलैसँग अनुमान गर्न सकिन्छ ।

सहकारीहरुले अहिले कर्मचारीलाई तलबदिन नसकेर कर्मचारी निकालिरहेको छ वा सहकारी नै बन्द भइरहेको छ । अब यस्तो बेलामा फेरि पनि कसरी शेयरको मूल्य बढ्ला फेरि पनि कसले शेयर किन्ला । शेयरमा लगानी गर्नेहरुले केही महिनाअघि आन्दोलन गरे, अनसन बसे, राजनीतिक पार्टीको घरघरमा गए, राजनीतिक पार्टीको झोला बोके, तर शेयरको मूल्य बढेन झन् घट्यो । शेयर लगानीकर्ताहरुले जे गरे पनि शेयरको मूल्य बढेन । यसरी आन्दोलन गर्ने, अनशन बस्ने र राजनीतिक दलको घरमा धाउनेहरुले जति गरे पनि शेयरको मूल्य नबढेपछि उनीहरु त दुलोभित्र लुके भने शेयरमा लगानी गर्नेहरु चुर्लुम्ब डुबे ।

पहिला पहिला शेयरमा ठुलठुला लगानी गर्ने २५–३० जनाले शेयरको मूल्य बढाए । यिनीहरुले शेयर खरिद गर्नेबित्तिकै शेयरको मूल्य बढ्थ्यो भने नकिन्ने बित्तिकै शेयर घट्ने गथ्यो । शेयर बजार नै यिनीहरुको हातमा हुन्थ्यो । अहिले यिनीहरु बैंकको ऋणा तिर्न नसकेपछि डुबेर भागिसकेका छन् । अहिले शेयर धितो राखेर कर्जा प्रवाह गर्ने संस्थाहरु शेयरको मूल्य घटेर डुब्ने अवस्थामा आएपछि संस्थाहरुले शेयरमा दिएको कर्जा घटाउनु वा शेयर नै पुरै फुक्का गरेर लैजानु भनेर ऋणीलाई पेलिरहेका छन् । शेयर बेच्न चाहँदा बिक्री हुँदैन र अरु बैंक, सहकारी तथा फाइनान्सबाट ऋण लिएर कर्जा दिऊँ भनी कसैले कर्जा दिँदैन ।

शेयरमा लगानी गर्नेहरुको अहिले मर्नु कि बाँच्नुजस्तो हालत भइरहेको छ । नयाँ नागरिकले त अहिले शेयरमा लगानी गर्न छोडिसकेका छन् भने पुरानाका त कुरै छोड्दिऊ । अहिले बैंक, फाइनान्स तथा सहकारीहरु पनि घाटामा गएकाले यिनीहरुले बोनस पनि दिन छोडिसकेका छन् । बैंक, फाइनान्सहरुले १०० रुपैंयाँमा बेचेको एक कित्ता शेयरलाई हामी नागरिकले चार हजारमा किन्यौं, यसमा कसको मुर्खता देखिन्छ । शेयर दलालीको कुरा वा छिटो नै धनी बन्नका लागि भएको सम्पूर्ण सम्पत्ति शेयरमा लगानी गर्दा आज हरेक नागरिक निशास भएका छन् । एक वर्षअघि एक दिनमा २२ अर्बभन्दा बढी किनबेच भएको शेयर अहिले डेढ अर्बको बिक्री हुने गर्छ ।

यसरी नागरिक शेयरको मूल्य घटेर मर्नु कि बाँच्नु भएको अवसथामा छन् भने सरकार हाँसेर बसिरहेको छ । भूपु अर्थमन्त्री युवराज खतिवडा हुँदा उनले शेयरमा लगानी गर्नु भनेको जुवातास खेल्नु हो भनेका थिए । उनले शेयरमा लगानी गर्दा बुझेर वा सोचविचार गरेर मात्र लगानी गर्नुपर्छ भनेर नागरिकलाई भनेका थिए । तर कसैले उनको कुरालाई ध्यान दिएन । जसले गर्दा आज यो दिन देख्नु परिरहेको छ । शेयरमा लगानी गर्ने नागरिकले त शेयरको मूल्य बढ्दा धेरै नै कमाए तर मूल्य बढेको बेलामा शेयर किन्ने नागरिक अहिले चुलुम्ब डुबिसकेका छन् ।

यसबाट शेयर जुवातासभन्दा पनि खतरनाक हुन्छ भनेर थाहा पाइन्छ । अहिले पनि शेयर दलालीहरुले शेयरको मूल्य बढ्छ भनेर शेयरमा लगानी गर्न लगाएर नागरिक फसाइरहेका छन् र डुबाइरहेका छन् । शेयरको कारणले यत्रो नागरिक डुबिसके, कतिको घरमा रुवाबासी चलिरहेको छ, भएको सम्पूर्ण सम्पत्ति पनि शेयरले गर्दा सकिसक्यो, नागरिक अहिले सडकमा आइसकेका छन्, तर सरकारले शेयर किनबेचमा अहिले पनि प्रतिबन्ध लगाइएको छैन । सरकारले शेयरको कारण नागरिक डुबे र धेरैको घरमा रुवाबासी भएको छ भनेर अहिलेसम्म थाहा पाएको छैन । सरकारलाई शेयर किन्दा राजस्व आउने भएकाले पनि सरकारले अहिलेसम्म शेयर ब्रिकी वितरणमा प्रतिबन्ध लगाएको छैन ।

सरकारलाई नागरिकसँग होइन राजस्वसँग मात्र मतलब रहेको छ । एक वर्षअघि मेरो शेयर बेच्दा २० लाख आउँछ भन्ने नागरिक अहिले मेरो २ लाख पनि आउँदैन भन्छन् । सरकारले यसरी नागरिकलाई शेयरमा लगानी गर्न दिँदा एकतिर नागरिक डुबे र अर्कोतिर अर्थमा पनि तरलता आएको पाइन्छ । कतिले घरजग्गा बेचेर शेयरमा लगानी गरे, अहिले उनीहरुको बास पाटीपौवा र सडक किनारमा भइरहेको छ । अब नागरिकले शेयर किन्न छोड्नुपर्छ । अब दलालको कुरामा लागेर शेयरमा लगानी गर्नुहुँदैन र आफू पनि सक्षम हुनुपर्छ । अबको एक बर्षमा शेयरमा लगानी गर्ने बैंक, सहकारी तथा फाइनान्सहरु डुब्छन् वा भाग्छन् ।

पछिल्लो समय शेयरमा लगानी गर्नेहरु चिया पसल, भट्टी पसल वा किराना पसलमा मेरो सबै सम्पत्ति शेयरले गर्दा डुब्यो भन्दै रुवाबासी गर्छन् । आफूसँग भएको सम्पूर्ण पैसा पनि डुब्नु र ऋण तिर्न नसकेर भागेर पनि हिँड्नु यो कस्तो दिन आयो । बुढापाका भन्ने गर्थे चोक्टा खान जाँदा झोलमा डुबेर मर्छन् । शेयरमा लगानी गरेर नाफा खान गएका नागरिकको साँवा नै सबै डुबेको छ । बगेको खोला फर्कदैन र घटेको शेयर फेरि पनि बढ्दैन । त्यसकारण अब प्रत्येक नागरिक समयमै जानकार तथा सक्षम हुन आवश्यक छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार १५:२९