सूचनाको शक्ति - The Power Of Information

        

आयल निगम भन्छ– अहिले भाउ घटाउन सकिन्न, हाम्रो समस्या बुझिदिनुहोस्

 निगमप्रति गुनासो नगर्न र समस्या बुझिदिन नेपाल आयल निगमले नागरिकलाई आग्रह गरेको छ । केही समय अगाडिसम्म निगमलाई प्रतिलिटर पेट्रोलमा ३१ रुपैयाँ र डिजलमा ४६ रुपैयाँसम्म घाटा हुँदा पनि नागरिकको समस्या बुझेर भाउ नबढाएको र अहिले थोरै घटेर आउँदा भाउ घटाएन भनेर निगमप्रति गुनासो नगर्न र समस्या बुझिदिन निगमले सबै नागरिकलाई आग्रह गरेको हो ।

भाउ केही घटेर आएकाले पेट्रोलमा नाफा भए पनि डिजल र एलपी ग्यासमा निगमलाई अझै घाटा रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । सरकारले त नाफा घाटा मात्रै हेरेर भएन नि, नागरिकको समस्या पनि बुझ्नु पर्छ नि होइन ? भन्ने हाम्रो प्रश्नमा उपाध्यायले निगमले नाफा–घाटा नहेरेकै कारण केही समय पहिलासम्म निगम १० अर्ब रुपैयाँसम्म मासिक घाटामा गएको जवाफ दिनुभयो ।

नागरिकको हितमै सोचिएकाले गएको वर्ष पेट्रोलियम पदार्थको बिक्री गर्दा ५० अर्ब रुपैयाँ घाटा बेहोर्नुपरेको उहाँको भनाइ छ । केही समय अगाडि अर्थ मन्त्रालयले कर छुट दिने भने पनि अहिलेसम्म कुनै छुट नपाएको उहाँले दाबी गर्नुभयो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गएकाले अब केही समय यसैगरी भाउ घटेर आएपछि नेपालमा पनि घटाइने उपाध्यायले बताउनुभयो । उहाँका अनुसार अहिले निगमले आईओसीलाई साढे १४ अर्ब भारु तिर्न बाँकी छ । अहिले मूल्य घटेर आउँदा पनि मासिक ६५ करोड रुपैयाँ घाटा भएको निगमले जनाएको छ । एकातिर तिर्नुपर्ने ऋण, अर्कोतिर घाटा पनि निरन्तर रहेकाले तत्काल मूल्य कम गर्न नसकिएको उहाँले बताउनुभयो ।

आईओसीले आज नेपाललाई नयाँ मूल्य पठाएको छ । नेपाल आयल निगमका अनुसार आईओसीले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ९० पैसा र डिजलमा चार रुपैयाँ ७५ पैसा घटाएर पठाएको हो । तीन पटकसम्म मूल्य घटेर आउँदा पनि निगमले भाउ नघटाएको भन्दै नागरिकले भने गुनासो गरेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलवार २०:२७