संयुक्त राष्ट्रसंघका विश्वभरमा एक दर्जन द्वन्द्वग्रस्त क्षेत्रमा करिब ७४,००० शान्ति सैनिक तैनाथ छन् । तिनीहरूलाई चर्चित फिका नीलो हेलमेटमा सहजै चिन्न सकिन्छ । तिनीहरु मध्ये महिला भेट्टाउन अलि गाह्रो छ । त्यहाँ सैन्य विशेषज्ञ, प्रहरी र स्थलगत सैनिक एकाइहरू छन्, जुन १२१ देशहरूबाट शान्ति कायम गर्न मद्दत गर्न खटिएका छन् ।
तिनीहरुमध्ये महिला कमै भेटिन्छ किनकी शान्ति सेनामा ८ प्रतिशत मात्रै महिला छन् । यो १५ वर्ष पहिलेको तुलनामा उल्लेखनीय वृद्धि हो, त्यतिबेला शान्ति सेनाको संख्या आजको जस्तै थियो, तर महिलाहरू केवल २ प्रतिशत मात्र थिए । २० वर्षदेखि संयुक्त राष्ट्रसंघले यो तथ्याङ्क सुधार गर्न प्रयास गरिरहेको छ । तर पुरुष जत्तिकै महिला शान्ति सैनिकहरू राख्ने राष्ट्रसंघको दीर्घकालीन लक्ष्य पूरा नहुन सक्छ ।
एक अमेरिकी कूटनीतिज्ञ र अन्तर्राष्ट्रिय मामिलाका विशेषज्ञको रूपमा, म अफ्रिका, ल्याटिन अमेरिका र मध्य पूर्वमा शान्ति स्थापनामा संलग्न भएको छु । महिला शान्ति सैनिकको संख्यामा नाटकीय रूपमा वृद्धि गर्दा सामुदायिक सम्बन्धमा सुधार लगायतका स्पष्ट फाइदाहरू छन्, तर शान्ति स्थापनाको क्रमिक विकासले लैङ्गिक समानतालाई असम्भव बनाउँछ ।
संयुक्त राष्ट्रसंघले के माग गर्छ ?
संयुक्त राष्ट्रसंघको आफ्नै सेना छैन । त्यसकारण जब संयुक्त राष्ट्रसंघले शान्ति मिसन सुरु गर्छ, यसले आफ्ना १९३ सदस्य देशहरूलाई आवश्यक व्यक्तिहरू उपलब्ध गराउन आग्रह गर्नैपर्छ । संयुक्त राष्ट्रसंघले सेना लिएका संगठनमार्फत् प्रत्येक देशलाई एकजना सैनिकका लागि हरेक महिना १,४०० अमेरिकी डलर भुक्तानी गर्छ ।
यसले गरिब देशहरूलाई आफ्नो सेना कायम राख्न र सैनिकहरूलाई भुक्तानी गर्न मद्दत गर्छ । बंगलादेश, नेपाल, भारत र रुवान्डा हरेकले शान्ति सेनाको रूपमा काम गर्न सबैभन्दा बढी अर्थात् ५,००० भन्दा बढी सैनिकहरू दिन्छन् । अमेरिकाले हाल ३० जनामात्रै सैन्य अधिकृतहरू उपलब्ध गराएको छ ।
शान्ति सेनामा कार्यरत नेपाली सैनिक क्याप्टेन शिचन मोक्तान । सौजन्य : संयुक्त राष्ट्रसंघ
सन् २००० मा, संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले १३२५ संकल्प प्रस्ताव पारित गर्दा शान्ति स्थापनामा लैङ्गिक असन्तुलनलाई पहिचान गर्यो । उक्त प्रस्तावले महिलाहरूलाई सेवा गर्ने थप अवसरहरू प्रदान गर्न आग्रह गरेको थियो । सन् २०१८ देखि संयुक्त राष्ट्रसंघले विशेष रूपमा आफ्ना शान्ति मिसनहरूलाई पुरुषहरू जत्तिकै सकेसम्म धेरै महिलाहरू समावेश गर्ने दिशामा काम गर्न निर्देशन दिन थाल्यो ।
अनुसन्धानले देखाउँछ कि द्वन्द्व सुल्झाउन महिलाहरूलाई समावेश गर्नु राम्रो सोच हो, खासगरी तिनीहरू प्रायः पुरुषहरूभन्दा धेरैजसो युद्ध पीडित हुने गरेका छन् । जब महिलाहरू शान्ति वार्तामा सहभागी हुन्छन्, यसबाट प्राप्त हुने शान्ति अझ दिगो हुन्छ । महिला शान्ति सैनिकहरूको संख्या धेरै हुँदा नागरिकस्तरमा सम्बन्ध सुधार गर्न मद्दत मिल्दछ ।
स्थानीय समुदाय र शान्ति सैनिकबीच खुला कुराकानी र आपसी विश्वास अभिवृद्धिले उन्नत सांस्कृतिक समझदारी र महिलाले यौन हिंसाको जानकारी महिला शान्ति सेनालाई जानकारी गराउन सक्ने हुनाले यस्ता जानकारीसहित महत्वपूर्ण चलाखीको विकासतर्फ डोर्याउन सक्छ । यो विशेषगरी महत्वपूर्ण छ, किनकि विगतका केही वर्षहरूमा शान्ति सेनाले बालबालिकासहित नागरिकलाई दुर्व्यवहार गर्ने गरेको आरोप लागेका घटना धेरै छन् ।
महिलालाई सहभागिताका अप्ठयारा
उल्लेखित फाइदाका बाबजुद पनि शान्ति सेनामा धेरै महिलालाई सहभागी गराउनमा तीनवटा प्रमुख अवरोधहरू रहेका छन् । पहिलो, भारत र टर्कीमा १ प्रतिशतभन्दा कम र हंगेरीमा २० प्रतिशतसम्म गरी हरेक देशका सशस्त्र बलहरूमा महिलाहरूको सहभागीता लगभग थोरै प्रतिशत छ ।
दोस्रो, धेरै थोरै देशहरूले महिलाहरूलाई मैदानमा लडाइँका लागि प्रशिक्षण दिन्छन्, जुन संयुक्त राष्ट्रको शान्ति मिसनको एउटा हिस्सा रहन्छ । तेस्रो, लडाईका लागि महिलाहरूलाई तालिम दिने देशहरू प्रायः लोकतान्त्रिक र धनी हुन्छन् । उनीहरूले संयुक्त राष्ट्रसंघको जोखिमयुक्त शान्ति मिसनहरूमा सैनिक पठाउने सम्भावना पनि कम हुन्छ । शान्ति स्थापनाको तरिका परिवर्तन भएकाले यी व्यावहारिक चुनौतिहरू झनै कठिन भएका छन् ।
शान्ति स्थापनाको विकास
सन् १९४८ मा इजरायल र यसका अरब छिमेकीहरूबीचको युद्धमा प्रतिकार्यस्वरूप आफ्नो पहिलो शान्ति मिसन सुरु गर्दा संयुक्त राष्ट्रसंघ स्थापनाको तीन वर्षमात्र भएको थियो । त्यो अपरेसनमा, र त्यसपछिका विभिन्न भूभागहरूमा देशहरूबीचका द्वन्द्वको समाधान गर्ने क्रममा, एकपटक लडाइँ रोकिएपछि दुईतर्फी सेनाबीच युद्धविराम कायम राख्न मध्यस्थ शान्ति सैनिकहरू राख्ने गरिन्थ्यो ।
सन् १९९० को दशकमा, शान्ति सेनाले अंगोला र मोजाम्बिक जस्ता ठाउँहरूका गृहयुद्धलाई पनि सम्बोधन गर्यो । ती अपरेसनहरूले पूर्व लडाकूहरूलाई निष्क्रिय गर्दै उनीहरूलाई नागरिक जीवनमा पुनः एकीकृत गर्नु र नयाँ राष्ट्रिय सेनाको गठन गर्नुपथ्र्यो । अक्सर सबैभन्दा महत्वपूर्ण काम चुनाव सञ्चालनका लागि गरिन्थ्यो । सन् १९९४ मा मोजाम्बिकमा म अमेरिकी राजदूत हुँदा, यो सबै सफलतापूर्वक सम्पन्न भयो र शान्ति सैनिकहरू घर गए ।
शान्ति सेनामा कार्यरत नेपाली सैनिक क्याप्टेन सोनी खड्का । सौजन्य : संयुक्त राष्ट्रसंघ
तर यस प्रकारको शान्ति स्थापना पनि प्रायः विगतको अवशेष हो । सन् २०१० र सन् २०१४ को बीचमा र अफ्रिकामा सुरु गरिएको संयुक्त राष्ट्रसंघका पाँच वटा सबैभन्दा पछिल्ला शान्ति मिसनहरूमा, शान्ति सेनालाई नागरिकहरूको सुरक्षा गर्न र सशस्त्र विद्रोही समूहहरूको चुनौती कम गर्न सरकारको नियन्त्रण क्षमता विस्तार गर्न मद्दत गर्ने जिम्मेवारी दिइएको छ । त्यसो गर्न धेरै स्थलगत सेना एकाइहरू चाहिन्छ ।
जसका कारण उदाहरणका लागि, मालीस्थित मिसनमा १२,००० सेनाहरू समावेश छन् । यी सबैभन्दा ठूला मिसनहरू मात्रै होइनन्, सबैभन्दा घातक पनि हुन् । यी मिसनहरूमा प्रत्येक वर्ष औसत १६ जना शान्ति सैनिकहरू मारिन्छन्, जबकि सबैभन्दा पुरानो शान्ति स्थापना कार्यहरूमा प्रत्येक वर्ष औसत दुई शान्ति सैनिकहरू मारिने गर्थे । संयुक्त राष्ट्रसंघले सुरुमा सबै युद्धरत पक्षहरू शान्ति सैनिकहरूको उपस्थितिमा सहमत छन् ।
साथै शान्ति सैनिकहरू निष्पक्ष रहन्छन् र उनीहरू आफ्नो रक्षा गर्नमात्र बल प्रयोग गर्छन् भनी जोड दिएको थियो । पाँच वटा नयाँ मिसनहरूमा, आवश्यकता अनुसार बलको प्रयोग गर्न पाउने अनुमतिलाई विस्तार गर्न आवश्यक छ । यसको मतलब शान्ति सेनाहरूले सबै लडाकुहरूको सहमति खोजिराख्नुपर्दैन, र सत्तामा रहेको सरकारलाई सहयोग गर्न निष्पक्षता त्यागिएको छ । परिणाम स्वरूप, सरकारको विरोध गर्नेहरूमध्ये केहीले शान्ति सेनालाई पनि निशाना बनाउन थाले ।
महिला शान्ति सेनासँगको सम्बन्ध
यी नवीनतम शान्ति मिसनहरूलाई बल प्रयोग गर्न सक्षम बन्नका लडाईको लागि तयार हजारौं सेनाहरू आवश्यक पर्दछ । त्यस कारणले गर्दा, शान्ति सेनामा ८६ प्रतिशत सैन्य बलहरू छन्, तर केवल ६ प्रतिशत सेनाहरू महिला छन् । महिला सेना कम प्रतिशत युद्धमा संलग्न हुने, जोखिम नलिने अन्य प्रकारका शान्ति सैनिकहरूको तुलनामा एकदमै फरक छ ।
यसमा २७ प्रतिशत सैन्य विशेषज्ञ, १९ प्रतिशत अधिकृत कर्मचारी र १९ प्रतिशत प्रहरी महिलाहरू छन् । जबकि धनी देशहरूले संयुक्त राष्ट्र शान्ति स्थापनाको आर्थिक लागतको ८६ प्रतिशत तिर्छन्, जुन ६.४ अरब डलर वार्षिक रकम हो, सैनिकका हिसाबले भने तिनीहरूले कुल सेनाको ८ प्रतिशत भन्दा कम योगदान गर्छन् ।
इजरायलमा जस्तै संयुक्त राष्ट्रसंघका ६ वटा पुराना मिसनहरूमा ७ प्रतिशत मात्रै महिला छन् र तीमध्ये ३७ प्रतिशत महिला धनी देशहरूबाट आएका छन् । अन्य पाँच घातक मिसनहरूमा ५ प्रतिशत सेनाहरू महिला छन् र तिनीहरूमध्ये केवल ३ प्रतिशत धनी सदस्य राष्ट्रहरूबाट आएका हुन् । त्यसैले, धनी देशहरूले धनराशीमा तिर्छन्, गरीब देशहरूले रगतमा चुकाउँछन् ।
थप महिला शान्ति सेना प्राप्त गर्नका लागि सदस्य देशहरूले सबैभन्दा खतरनाक शान्ति मिसनहरूमा थप महिलाहरू खटाउनुपर्ने हुन्छ । अर्को शब्दमा भन्नुपर्दा, त्यो रगत बगाउने मौका थप महिलालाई पनि दिन आवश्यक छ । सम्बन्धमा पूर्व अमेरिकी राजदुत अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक डेनिश जेटको द कन्भरसेशनमा छापिएको विचारको भावानुवाद ।
प्रस्तुती : मनोजराज रेग्मी । आइएनएस–स्वतन्त्र समाचार
सत्यपाटी । काठमाडौं ।