सूचनाको शक्ति - The Power Of Information

        

मौलाउँदै भ्रष्टाचार

घुस नपाएपछि राजश्व कार्यालय कोहलपुरले रोक्यो लिलामी

पैसा नपाएपछि लिलामीको निर्णय नै हुन सकेन । जसकारण सामान बिग्रिएको छ ।

राजश्व अनुसन्धान कार्यालय, कोहलपुरमा खुलेआम घुसखोरी चल्न थालेको छ । घुसकै विवाद हुँदा लिलामीका कामसमेत अवरुद्ध हुन थालेका छन् ।

कार्यालयका सहायक अधिकृत मानबहादुर विश्वकर्माले खुलेआम घुस माग्ने गरेको स्रोत बताउँछ । जफत गरिएका वस्तुको लिलामी सेटिङमा हुने र पैसा नदिए उनले प्रक्रिया नै रोक्ने गरेका छन् ।

यस्तै चलखेलका कारण कार्यालयमा रहेको ५०३ बोरा चामल, १८ बोरा चिनी र १२८ बोरा गरम मसला बिग्रिएको छ । यी सामान अमन ट्रेडर्स र एम जनरलले प्रक्रिया पुर्याएर लिलामीमा सकार्न लागेका थिए ।

तर, सहायक अधिकृत विश्वकर्माले दुई लाख रुपैयाँ मागेका थिए । पैसा नपाएपछि लिलामीको निर्णय नै हुन सकेन । जसकारण सामान बिग्रिएको छ । यसबाट राज्यलाई लाखौं नोक्सान भएको छ ।

उनले बाँकेका सफल अटो पार्टस्, अन्सारी अटो पार्ट्स, कालिका अटो पार्ट्स लगायत कम्पनीसँग मासिकरुपमै पैसा उठाउने गरेको स्रोत बताउँछ । ती कम्पनीमा भारतबाट तस्करी भएर आएका अटो पार्टस् बिक्री हुने थाहा पाएपछि यसरी कारबाही नगरी असुली हुने गरेको छ ।

बाँकेमा रहेको राजश्व कार्यालयले १६ वटा जिल्ला हेर्दछ । राजश्व छलीका घटनामा विस्तृत छानबिन भन्दा धेरै सेटिङ हुने गरेका कारण कर्मचारी मालामाल हुने गरेका छन् भने राज्य खोक्रो बनिरहेको छ ।

सहायक अधिकृत विश्वकर्माले आफु हाकिमको पैसा उठाउने खास मान्छे भएको र माओवादीमा पनि उच्च नेतासँग पहुँच भएको भन्दै कार्यालयमा असुली धन्दा बढाएको पनि कार्यालय स्रोतले जनाएको छ ।

साभार  – दृष्टि न्यूज डटकम

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलवार ११:५३