राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागिएको छ । नागरिकता विधेयक फिर्ता गरेको भन्दै तरूण दलले राजीनामा दिन नभए महाअभियोग लगाएर हटाउन माग गरेको हो ।
अध्यक्ष विद्वान गुरुङले विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले प्रतिशोध साँधेर नागरिकता विधेयक फिर्ता गरेको आ रोप लगाउँदै दलले यस्तो माग गरेको हो । नागरिकलाई संविधानले दिएको अधिकार कुण्ठित गर्ने काम गरिमामय पदमा बस्ने राष्ट्रपतिलाई नसुहाउने भन्दै दलले राजीनामा दिन नभए महाअभियोग लगाउन माग गरेको हो ।
‘राष्ट्रको गम्भीर र जनताको जीवनसँग जोडिएको विषयमा खेलवाड गर्ने, बेवास्ता गर्ने र सीमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादामा नरहने राष्ट्रपतिले नैतिकताको उच्च उदाहरण बनी राजीनामा दिनु उचित हुने अन्यथा महाअभियोगबाट पदच्युत समेत गर्न सार्वभौम संसद र नेपाल सरकारसँग नेपाल तरुण दल केन्द्रीय समिति जोडदार आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
यता, राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक फिर्ता गरेपछि सत्तारुढ कांग्रेसले संविधानसम्मत रुपमा अघि बढ्ने प्रतिक्रिया दिएको छ । कांग्रेसका प्रमुख सचेतक मीन विश्वकर्माले संविधानको व्यवस्थाअनुसार संसदमा पुनः छलफल गरेर राष्ट्रपतिसमक्ष पेस गर्ने बताए ।
उनले भने, ‘त्यतिखेर उहाँले प्रमाणीकरण नगरी सुखै छैन ।’ दुवै सदनबाट पारित भएर साउन १५ गते राष्ट्रपतिसमक्ष पेस गरिएको उक्त विधेयक १४ दिनपछि राष्ट्रपतिले फिर्ता गरेकी हुन् । नेपालको संविधानको धारा ११३ मा विधेयक प्रमाणीकरणको व्यवस्था छ । उक्त धाराको उपधारा ४ मा कुनै पनि विधेयक राष्ट्रपतिबाट फिर्ता आएमा पुनः दुवै सदनमा पुनःविचार गरेर पेस गर्नुपर्ने उल्लेख छ ।
सत्यपाटी । काठमाडौं ।