बाँकेको बैजनाथ गाउँपालिका–७ स्थित पेडारी नालामा वर्षौं पहिले निर्माण भएको पक्की पुल भत्किएपछि स्थानीयवासीलाई सास्ती भएको छ ।
कोहलपुर नगरपालिका–१५ को चन्दहवा हुँदै पूर्व–पश्चिम राजमार्गका बनकटुवा चोक पुग्ने करिब ५०० मिटर मात्रै दूरी रहे पनि पुल नहुँदा दुई किलामिटर लामो यात्रा गर्नुपर्ने बाध्यता छ ।
यस स्थानमा पुल निर्माणका लागि भन्दै पटक–पटक माटो परीक्षण हुने गरेको बताउँदै स्थानीयवासीले एक दशकसम्म पनि पुल निर्माण नहुँदा दैनिक आवतजावतमा सास्ती हुने गरेको बताएका छन् ।
बैजनाथ गाउँपालिका–७ का वडाध्यक्ष दिनेश थारूले एक दशकअघि नै पक्की पुल भत्किएपछि स्थानीयबासीले काठ दाउरा प्रयोग गरेर सामान्य हिँड्न मिल्ने गरी अस्थायी पुल बनाएको बताए ।
‘वर्षायाममा सो पुल भएर हिँड्नसमेत जोखिम छ,’ चौधरीले भने, ‘हाम्रो माग तत्काल पक्की पुल निर्माण होस् भन्ने नै हो ।’ चन्दहवामा पुल भत्किएको करिब एक दशक भइसकको छ । उनले स्थानीयलाई गाउँपालिकाका कार्यालय पुग्नसमेत समस्या हुने गरेका बताए ।
पुल निर्माणका लागि पटक–पटक सर्वेक्षण भए पनि निर्माण सुरु नभएकोमा भन्दै वडाध्यक्ष थारूले अहिले फेरि स्थानीय पूवार्धार विकास कार्यालयले एक प्राविधिक टाली सम्भाव्यता अध्ययनका लागि पठाएको जानकारी दिए ।
सत्यपाटी । बाँके ।