सूचनाको शक्ति - The Power Of Information

        

उत्कृष्ट कृति ‘फर्गेट एस्टर्डे’को परिचर्चा

भाव र बिम्बहरूको उत्कृष्ट संयोजन भएको कृति ‘फर्गेट एस्टर्डे’को परिचर्चा भएको छ । ज्योति साहित्य प्रतिष्ठानको १८४ औं शृङ्खलामा कवि मीना श्रेष्ठद्वारा लिखित कविता संग्रह ‘फर्गेट एस्टर्डे’को परिचर्चा भएको हो ।

काठमाडौंको नयाँ बानेस्वरस्थित टेरेस क्याफेमा भएको कार्यक्रममा प्राध्यापक तुलसी दिवस र कवि शैलेन्द्र साकारले कृतिको परिचर्चा गर्दै यसले समाजका कुरा बोकेको र नेपाली समाजले भोगेका विषयहरु सरल ढंगबाट कविता संग्रहका रुपमा प्रस्तुत गरिएको बताए ।

प्राध्यापक तुलसी दिवसले आफूले यसअघि नचिनेको र नपढेको कवि मीना श्रेष्ठ र उनको कविता संग्रहमा शब्दहरूमा भाव र बिम्बहरूको प्रयोग भएकोले आफ्नै अनुभूतिहरू व्यक्त गरिएकाले मीना राम्रो कवि भएको बताइन् ।

कवि शैलेन्द्र साकारले कवितामा कवित्व भएकोले मीना राम्रो सम्भावना भएकी शक्तिशाली कविका रुपमा उदाएको बताए । कार्यक्रममा कवि सुधा मिश्र, उषा केसी र असीम सागरले उक्त सङ्ग्रहबाट एक–एक वटा कविता वाचन गरेका थिए ।

कार्यक्रममा कवि मीना श्रेष्ठले दुई वटा कविताहरू वाचन गरेकी थिइन् । ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा भएको कार्यक्रममा कवि श्रेष्ठले आयोजकका साथै तुलसी दिवस, शैलेन्द्र साकार लगायतलाई धन्यवाद ज्ञापन गरिन् ।

कार्यक्रममा पत्रकार स्रष्टा तुलसीहरी कोइराला, निरूपा प्रसून, ममता मृदुल, रमेशचन्द्र अधिकारी, विष्णु भण्डारी आचार्य, अम्बिका याम्फु अनमोल, भुवन भट्टराई, जगदिश अधिकारी, सन्तोष प्रधान चौधरी, जगदिश्वर थापा, दीपेन्द्र दोङ्ग तामाङ, सुशील कृ.ब. श्रेष्ठ लगायतले परिचर्चामा भाग लिएका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार १०:३६