सूचनाको शक्ति - The Power Of Information

        

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदल बैठक बस्दै

चुनावमा सिट बाँडफाँटको लागि सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको बैठक आज सोमबार बस्दैछ ।

बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँडमा सहयोग गर्न कार्यदल बनाइएको हो । यो कार्यदल संयोजकमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् भने ५ दलीय गठबन्धनबाट दुई–दुई जना सदस्य छन् ।

गत बिहीबारको बैठकमा कार्यदल सदस्यहरूबीच ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, गत स्थानीय चुनावमा प्राप्त मत र दलहरूको राजनीतिक संवेदनशीलताका आधारमा सिट बाँडफाँडको सैद्धान्तिक समझदारी बनेको थियो ।

गठबन्धन दलहरूका आ–आफ्ना प्रस्तावसहित सोमबारको बैठकमा प्रस्तुत हुने गरी उक्त बैठक सकिएको थियो ।यसैबीच, गठबन्धनका शीर्ष नेताको बैठकले कार्यदललाई छिटो प्रतिवेदन तयार गर्न निर्देशन दिएको छ ।

आइतबार बालुवाटारमा बसेको बैठकले कार्यदललाई चाँडोभन्दा चाँडो कार्य सम्पन्न गर्न निर्देशन दिएको कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

कार्यदलमा नेपाली कांग्रेसबाट सिटौला संयोजकसहित महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् । माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन् ।

एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल रहेका छन् । यसैगरी, जसपाबाट रामसहाय यादव, रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार ०९:२२