सूचनाको शक्ति - The Power Of Information

        

रुपन्देहीमा गोली चल्यो, एक युवक घाइते

रुपन्देहीको ओमसतियामा एक युवकमाथि गोली प्रहार भएको छ। अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका–१, बेलहिया बस्ने विकास गुरुङ घाइते भएका छन्।

ओमसतिया गाउँपालिका–४, वसन्तपुरमा अज्ञात समूहले गुरुङमाथि गोली प्रहार गरेको थियो। नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहले मोटरसाइकलमै सवार गुरुङमाथि आइतबार राति पौने १२ बजेतिर एक राउण्ड गोली हानेको प्रहरीले जनाएको छ।

रोहिणी गाउँपालिका–१, बाइपासस्थित सिद्धर्थ कटेजमा गएराति उक्त समूह लुटपाट गरी भाग्दै थियो। त्यही बेला ओमसतियाको वसन्तपुर वडा कार्यालयअगाडि जम्का भेट भएका गुरुङमाथि लुटपाट गर्ने समूहले गोली प्रहार गरेको बताइएको छ।

पेटको बायाँतर्फ गोली लागेका गुरुङको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ। गोली प्रहार गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार ०८:४६