नेपालमा प्रचलित लोक साहित्यमा नेतृत्वको कुरा गर्दा राजा, रानी, राजकुमार र राजकुमारीहरूका प्रसङ्गहरू बढ्ता पाइन्छन् । हाम्रा दन्त्यकथाहरू सुरु हुन्छन् ‘एकादेशमा एक जना राजा थिए’ भनेर तर वि.सं.२००७ सालको सेरोफेरोमा आएर नेपालमा नेतृत्वसँग सम्बन्धित नेता, नायक जस्ता केही नवीन शब्दहरूको प्रयोग हुन थाल्यो । यसको अर्थ हो समाजमा राजाको सट्टा अब नयाँ स्वरूपको नेतृत्वको उदय भैरहेको थियो ।
नेतृत्त्व गर्नु, मार्ग देखाउनु, लिएर जानु, आदि अर्थ वहन गर्ने संस्कृतको नी धातुबाट व्युत्पन्न भई निर्माण हुने शब्द हुन् नीति, नेता, नेतृ, नाय, नायक, नायिका र नेपालीमा नकारात्मक रूपमा चित्रण गर्दा नायकलाई ‘नाइके’ बनाएको पाइन्छ र समासको अन्त्यमा आएमा, ग्रामणी, अग्रणी, सेनानी जस्ता शब्दहरू पनि यस धातुबाट बन्दछन् । मूलतः नेतृत्व गर्ने नेता र नेतृत्वलाई आधारभूतरूपमा नीतिको कार्यन्वयनको अगुवाइ गर्ने व्यक्तिका रूपमा लिइन्छ । यो आलेखको केन्द्रीय विषय पनि उनीहरू नै हुन् ।
यो आलेखमा नेतृत्त्वको उदयको चर्चा जन्मजात नेतृत्वमा आउने राजा, सम्राट वा साम्राज्ञीको विषय नभएर समाजको एक साधारण सदस्यको रूपमा जन्मिएर आफ्नो बलबुताले राज्यको नीति निर्माणको तहमा पुग्ने नेतृत्वको सन्दर्भमा सीमित छ । जन्मजात निरङ्कुश प्रकृतिको कार्यकारी नेतृत्वबाट निर्देशित व्यवस्थाबाट प्रवर्धित भएका नेतृत्व, सैन्य तानाशाही अन्तर्गत उदय हुने नेतृत्व, धर्मतन्त्रात्मक, कुनै दर्शन विशेष जस्तोकि साम्यवाद, वा अन्य कुनै वाद र दर्शनमा आधारित भई बालिग मताधिकारको आधारमा हुने आवधिक र स्वतन्त्र निर्वाचन प्रणाली अस्वीकार गर्ने तानाशाही नेतृत्व देख्ने गरिन्छ ।
ठालुहरूको सभा (हाउसअफलर्डस्) निर्देशित प्रजातन्त्रमा उदय हुने नेतृत्व । त्यसैगरी आलङ्कारिक राजतन्त्र भएको मुलुकमा उदय हुने नेतृत्व र बालिग मताधिकारका आधारमा प्रत्यक्ष र परोक्ष निर्वाचित प्रणालीबाट उदय हुने नेतृत्व र यी सबैखाले व्यवस्था र प्रणालीको विरोध गर्ने सत्ता बाहिर उदय हुने नेतृत्व । नेतृत्वको जन्म वा उदयबारे हामीकहाँ मूलतः दुईवटा दृष्टिकोणहरू रहेका छन् । दैवी उत्पत्तिको दृष्टिकोण र सामाजिक उत्पत्तिको दृष्टिकोण ।
दैवी उत्पत्तिको दृष्टिकोणले नेतृत्वको जन्ममा ईश्वर वा दैवलाई प्रमुख जिम्मेवार ठान्दछ । दैवी उत्पत्तिको दृष्टिकोणलाई चेतना प्रधान वा आध्यात्मिक दृष्टिकोण पनि भन्न सकिन्छ । यो दृष्टिकोणले जब–जब समाजमा धर्मको क्षय हुन्छ, अधर्म बढ्दछ, दुष्टको विनाश र सज्जनको रक्षा तथा धर्म स्थापना गर्न ईश्वरले युगयुगमा अवतार लिन्छन् भन्ने विश्वास गर्दछ । जुनकुरा महाभारतको लडाइमा युद्ध गर्न अनिच्छुक बनेका अर्जुनलाई सङ्ग्राममा प्रेरित गर्ने हेतुले कृष्णका मुखबाट सम्झाइएको भनी दक्षिण एसियाली समाजको आध्यात्मिक ज्ञान धाराका रूपमा नेतृत्वको जन्म कसरी हुन्छ भनी दिइएको दृष्टान्त हो तलको श्लोकः
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् । । ४–७ । ।
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे । । ४–८ । । (गीता, अध्याय ४, श्लोक ७ –८)
दक्षिण एसियामा हिन्दु तथा बौद्ध धर्म अन्तरगतका अवतारवादी विश्वास गर्ने दर्शनहरूले यो अवधारणाको राम्रोसँग प्रतिनिधित्व गर्दछ । मत्स्यदेखि कल्की अवतारसम्मको आधारभूत दृष्टिकोणहरू समाज परिवर्तन र त्यसको नेतृत्वसँग सम्बन्धित छन् ।
सामाजिक उत्पत्तिको दृष्टिकोणले मानिस र समाजको विकासको चरण र तत्कालीन अन्तरविरोधलाई प्रमुख ठान्दछ । यो दृष्टिकोण अनुसार समाजको सामूहिक चेता वा सामूहिक विवेकको प्रयास स्वरूप नयाँ नेतृत्वको जन्म हुन्छ । नेतृत्व सम्बन्धी सामाजिक उत्पत्तिको दृष्टिकोणलाई, वैज्ञानिक वा तत्त्व प्रधान वा भौतिकवादी दृष्टिकोण पनि भन्दछन् । यो धारले भने सामाजिक चेतना र सामूहिक विवेकले नै चयन गरी नेतृत्वको उदय हुने विश्वास गर्दछ ।
आफानास्येभ (१९८५, फण्डामेन्टल्स् अफ् फिलोसफिकल नोलेज)का अनुसार सङ्कटको वस्तुगत अवस्था परिपक्व भएपछि राजनीतिक सङ्गठनहरूले आफ्नो माझबाट सबभन्दा अनुभवी, निपुण र क्रियाशील प्रतिनिधिहरूलाई नेताको रूपमा अघि सार्छन् । ती व्यक्तिहरू नै महान नेतृत्वका रूपमा इतिहासमा स्थापित भएका हुन्छन जसले समाजको अग्रगामी रूपान्तरणका निम्ति आफ्नो सम्पूर्ण सामर्थ्य र जीवन समर्पित गरेका हुन्छन् ।
माथिको विषयगत वा वस्तुगत दुवै दृष्टिकोणबाट हेर्दा नेतृत्वको जन्म आवश्यकताको पृष्ठभूमिबाट तयार भएको पाइनुका साथै वस्तुगत आधारमा व्याख्या गर्न सकिन्छ । यी दुवै दृष्टिकोणहरू अचम्मसँग समानता कहाँ छ भने ‘सूर्य पूर्वमा झुल्किएर पश्चिममा अस्ताउने वा पृथ्वी पश्चिमबाट पूर्वतर्फ घुम्ने’ जे भने पनि दुवैले गतिलाई प्रतिबिम्बित गरेझैँ दुवै दृष्टिकोणका समान निष्कर्ष छन् ।
नेतृत्वहरूका विशेषतागत आधारमा हेर्दा उनीहरू लोकतान्त्रिक, दार्शनिक–वैचारिक, चमत्कारिक, धार्मतन्त्रात्मक, निरङ्कुश, अग्रगामी, प्रतिगामी, प्रशासनिक, सैन्य तानाशाही लगायतका हुन्छन् । नेतृत्वको माथि उल्लिखित विशेषताहरू हेर्दा विश्वका विभिन्न राष्ट्र र समाजमा थुप्रै व्यक्तित्वको उदय भएको छ । उदाहरणका रूपमा केही नेतृत्वको चर्चा गर्दा महात्मा गान्धी बृटिस उपनिवेशबाट भारतीय मुक्ति आन्दोलनका वैचारिक तथा दार्शनिक नेता थिए उनको सत्याग्रह र अहिंसात्मक आन्दोलन सङ्घर्षका विशेष नमुना हुन् ।
दक्षिण अफ्रिकाका नेल्सन मन्डेला पनि रङ्गभेद नीति विरुद्ध दक्षिण अफ्रिकाली जनताको मुक्ति संग्रामका सर्वोच्च नेता हुन् उनले गान्धीवाद र केही स्यावोटेज जस्ता विद्रोहका तौर तरिका पनि अवलम्बन गरेका थिए । अब्राहाम लिङ्कन अमेरिकाका सोह्रौँ राष्ट्रपति थिए जसले अमेरिकी गृहयुद्धको अन्त्य, दाश प्रथाको उन्मूलन र अमेरिकालाई आधुनिक राज्य बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
विन्स्टन चर्चिल दोस्रो विश्वयुद्धमा बेलायतको नेतृत्व गर्ने सफल प्रधानमन्त्री थिए जसले कम क्षति साथ बेलायतलाई यो युद्धबाट जोगाएका थिए । उनको व्यक्तित्वको उदय सैन्य पृष्ठभूमिबाट भएको थियो र असाध्य कुशल वक्ताको रूपमा चिनिन्थे । लेनिनले रुस बोल्सेभिक क्रान्तिको नेतृत्व गरी संसारमा प्रथम साम्यवादी राज्य स्थापना गर्नुका साथै साम्यवादी दर्शनको एक प्रवर्तक पनि थिए । उनको दर्शनलाई अहिले पनि लेलिनवादी दर्शन भनेर लिने गर्दछन् ।
माओत्सेतुङ जापानको उपनिवेश र सामन्तवादी पछौटे राज्यका विरुद्ध सशस्त्र संघर्ष गर्ने साम्यवादी आन्दोलनका नेता थिए जसले चीनमा कम्युनिष्ट जनवादी क्रान्ति सम्पन्न गरेका थिए । होचीमिन्ह सादगी व्यक्तित्वले चिनिएका भियतनामको साम्यवादी आन्दोलनका नेता थिए । भारतीय स्वतन्त्रता संग्राममा सशस्त्र सङ्घर्षका पक्षपाती नेता सुभासचन्द्र बोस थिए । माथि उल्लिखित नेतृत्वलाई वैचारिक आधारमा उदारवादी, साम्यवादी र राजतन्त्रवादीको धुरीमा छुट्याएर हेर्दा एकले अर्काको अस्तित्वलाई अस्वीकार गर्ने मात्र हैन कतिपयले देवता भनेर पूजा गर्ने र उसैलाई अर्कोपक्षले दानव भनेर दुत्कार्ने गरेको पाइन्छ ।
जे भए पनि समाज विकासको निश्चित चरणमा निश्चित आवश्यकता परिपूर्तिका लागि यी सबै खाले नेतृत्वको आआफ्नो स्थानमा महत्वपूर्ण भूमिका भएकै कारण आफ्नो राष्ट्रिय समाज र अन्तर्राष्ट्रियरूपमा पनि उनीहरूको विशेष स्थान छ । कुनै खास कालखण्डमा क्रान्ति विशेषको नायकत्व गर्ने दार्शनिक, वैचारिक, चामत्कारिक नेतृत्वको हकमा भने समाजले चिरकाल पर्यन्त उनीहरूको स्मरण गर्ने गर्दछ । यी नेतृत्वबाहेक अन्य थुप्रै नेता तथा नेतृत्वले विश्व समाजको रूपान्तरणमा महत्वपूर्ण योगदान गरेका छन् तर यस आलेखमा यति नै ।
नेपालमा २००७ सालको क्रान्तिको सेरोफेरोबाट उदीयमान बन्न पुगेका वर्तमान र स्वर्गीय नेतृत्वहरूमा विश्व परिवेशलाई प्रभावित पार्ने सामर्थ्य नदेखिनु पछि नेपालको भौगोलिक र अर्थतन्त्रको आकार निर्धारक बन्न पुगेको देखिन्छ । धरहराको उचाइ कुतुवमिनार र एफिलटावरसँग अनि आजको बुर्जखलिफा फुच्चे दरिइनुमा सानो आकारको नेपाली अर्थतन्त्र जिम्मेवार भए जस्तै सामान्यतः सम्बन्धित राष्ट्रका नेताहरूको अन्तर्राष्ट्रिय ख्याति मुलुकको अर्थतन्त्रको आकारद्वारा निर्धारित हुन्छ । आज भारत, चीन र अमेरिका जस्ता देशका नेताहरूसँगको दाँजोमा नेपालका नेताहरू फुच्चे दरिइनुमा सामान्यतः यहाँको सानो आकारको अर्थतन्त्र जिम्मेवार ठहरिन्छ । नेपालमा राजाद्वारा प्रवर्धित नेतृत्व, राजनीतिक दलहरूका संस्थापक नेतृत्व, र दलहरूको अभ्यास र विस्तारका प्रक्रियामा उदित नेतृत्वहरू, र स्वतन्त्र नेतृत्वहरू रहेका छन् ।
नेपालमा उदित नेतृत्वको प्रकारलाई संक्षिप्तरूपमा उल्लेख गर्नुपर्दा (१) विचार दर्शन र दृष्टिकोणका पृष्ठभूमिबाट उठेका, (२) ज्ञान र विद्वत् पृष्ठभूमिबाट उठेका, (३) विचार सम्प्रेषण कुशलताका कारण लोकप्रिय मतको पृष्ठभूमिबाट उठेका, (४) जन कार्य र समाजसेवाको पृष्ठभूमिबाट उठेका, (५) दलहरूमा आर्थिक लगानीको पृष्ठभूमिबाट उठेका, (६) जातजाति तथा सांस्कृतिक पृष्ठभूमिबाट उठेका, (७) दलहरूको लडाकु दस्ताबाट उठेका, (८) विभिन्न आरक्षित क्षेत्रबाट उठेका, र (९) अन्य कारणबाट उठेका नेतृत्वहरू रहेका छन् । क्रान्ति र आन्दोलनको चडावका बेलाको नेतृत्वले सुत्केरीले आफ्नो प्रसव पीडा महसुस गरेझैँ राष्ट्रका समस्याबाट मुलुकको रूपान्तरणको लागि सम्पूर्णरूपमा लागिपरेको हुन्छ भने जब क्रान्ति र आन्दोलनको प्रभाव घट्दो हुन्छ नेतृत्वहरू केवल सुँडेनी रूपमा मात्र हुन्छन् अर्थात् उनीहरूको अभिष्ट पद, प्रतिष्ठा र पैसाका लागि नै सीमित हुन्छ ।
क्रान्ति र आन्दोलनमा होमिएका कार्यकर्ताहरू पार्टी नेतृत्वका लागि भार बन्दै गएका हुन्छन् । क्रान्ति र सङ्घर्षमा होमिएका कारणले शारीरिक पारिवारिक र आर्थिक स्थितिमा पुगेको क्षतिबारे नेतृत्व समक्ष पटकपटक गुनासो गरिरहने भएको हुँदा नेतृत्व उनीहरूको मुख हेर्नु नपरे हुन्थ्यो भनेर पन्छिन थालेका हुन्छन् । यस्तो अवस्थामा धनबली, जनबली, बाहुबली, जातबली जस्ता व्यक्तिहरूको नेतृत्वमा दबदबा हुन पुग्दछ । नेपालजस्तो अर्धऔपनिवेशिक अर्थतन्त्र भएको मुलुकका हकमा दलाल खान्दानी घरानाका चाकडी र चाप्लुसीमा माहिर एवं महत्वाकाङ्क्षी व्यक्तिहरू पार्टी कब्जा गर्न उद्यत् भएर आउने गर्दछन् । आम जनताको मुक्तिका निम्ति भनिएको पार्टी अन्ततोगत्वा मुठीभर दलाल, उत्पीडक वर्गको स्वार्थ रक्षाको कवच भएर उभिन पुग्दछ । यो अवस्थामा आम नेता र कार्यकर्ता पङ्ति क्रान्तिको विरासतको छद्मभेषमा रहेका दलालका रूपमा पतित भैसकेका हुन्छन् ।
सामान्यतः वर्तमानका लोकतान्त्रिक राज्यहरूमा नेतृत्वको परिचर्चा गर्दा जननिर्वाचित लोकतान्त्रिक नेतृत्व नै हो । जे जस्तो विचारधारा बोकेका भए तापनि दलभित्र र राज्यमा आवधिक निर्वाचन प्रणाली भित्रबाट चयन भएर आएका नेतृत्वलाई मात्र वर्तमान विश्व जनमतले स्वीकार गर्ने मनोविज्ञान निर्मित भएको छ । यसभित्र नेतृत्वका निम्ति आधारभूत योग्यता र क्षमताका साथै कानूनी मापदण्डहरू विश्वव्यापी मानवअधिकारका विषयहरूद्वारा निर्देशित नागरिक तथा राजनीतिक, आर्थिक, सामाजिक तथा संस्कृतिका, पर्यावरण, विकास लगायतका अधिकारसँग नबाझिएका हुनुपर्ने अपेक्षा गरिन्छ ।
लोकतान्त्रिक नेतृत्वको आधुनिक अवधारणा सहभागितमूलक लोकतन्त्र (पार्टिसिपेटरी डेमोक्रेसी),आधारभूत तहका समस्यासँग जोडिएको लोकतन्त्र (ग्रासरुट लेभल डेमोक्रेसी) र कुनै नमुना (मोडल)भन्दा पनि प्रक्रिया प्रधान भएको हुनुपर्दछ भन्ने अपेक्षा गरिन्छ । लोकतान्त्रिक नेतृत्व शासक होइन सहजकर्ता, नीतिपरायण, पारदर्शी, अरु समक्ष नियमितरूपमा प्रतिक्रिया वा राय लिने स्वभाव भएको, रचनात्मक क्षमता भएका, आफूमाथि भएको आलोचना धैर्यका साथ सुनि आत्मसमीक्षा गर्न तत्पर, सामूहिकरूपमा काम गर्ने स्वभाव, उचित कुरामा लचकता, आवश्यक कुरामा दृढ अडान, कार्यकर्ता र आम जनतासँगको दोहोरो सञ्चारमा खुला, सदाचार (इन्टेग्रिटी) र उच्च नैतिकता भएको हुनुपर्छ भन्ने मान्यता छ ।
लोकतान्त्रिक नेतृत्त्वले आफूलाई ‘नजान्ने भन्दा जान्ने र जान्नेहरू भन्दा नजान्ने’ व्यक्तिका रूपमा स्वीकार गरेको पाइन्छ । उ रोमान्सका लागि हैन समस्याबाट समाज, जनता र राष्ट्रलाई मुक्तिका निम्ति आत्मबाटै लागिपरेको हुन्छ, जो नरम र विशाल मानवीय हृदयले भरिएको हुनुपर्छ भन्ने अपेक्षा गरिन्छ । लोकतान्त्रिक नेतृत्वको विपरीत निरङ्कुश नेतृत्व मूलतः अल्पसङ्ख्यक सम्भ्रान्त, कुलीन र शोषणमा आधारित व्यवसाय भएका उत्पीडक वर्गहरूको पक्षधरता लिने गर्दछ ।
जनमतको प्रायः कदर नगर्ने, घमण्डी, दम्भी, अरुको राय नलिने, अरुलाई नसुन्ने र आफूलाई ब्रह्मज्ञानी सम्झने, रचनात्मक कुराको स्थान नदिने, कठोर प्रवृत्तिका हुन्छन् । ‘मुसाहरूलाई सुत्नका निम्ति जतिसुकै सुन्दर बिछ्यौना दिए तापनि त्यसले त्यो बिछ्यौनाका कपास काटेर त्यसैभित्र अर्को गुण बनाउँछ !’ भने जस्तै निरङ्कुश नेतृत्व समूहलाई हैन निश्चित गुटलाई हातमा लिई काम गर्दछन् । उनीहरू जनताको पीडाको अन्त्यका लागि भन्दा पनि आफ्नो सुविधा र जीवन कृतिका निम्ति लागि रहेका हुन्छन् । निरङ्कुश नेतृत्वको झुकाव आमरूपमा दल र संस्थातर्फ भन्दा पनि गुट र उपगुट हुँदै अन्त्यमा आफूलाई मात्र विश्वास गर्ने एक विचलित (डेभिएटेड) व्यक्तिवादमा गएर पतन हुन्छ ।
मानिसलाई देवता बनाइनु र मानिस आफूले देवता बन्न खोज्नु भनेको मानिसले आफ्नो क्षमतामाथि गरेको अविश्वास र लघुताभाष हो । यो विन्दुबाट यथार्थ मानवीय व्यक्तित्वको मृत्यु र काल्पनिक दैवी व्यक्तित्वरोपण गरिएको हुन्छ । वास्तवमा हीनताबोध ग्रन्थी (इनफेरियोरिटी कम्प्लेक्स)ले ग्रस्त भएका नेतृत्व जहिले पनि आफूलाई महान (सुपेरियरण) भएको देखाउने प्रयत्न गर्दछ । यो हीनताबोधलाई दबाउने मनोवैज्ञानिक प्रक्रिया हो । यसर्थ हीनताबोध (इनफेरियोरिटी कम्प्लेक्स) र अधिक आत्मविश्वास (सुपेरियोरिटी कम्प्लेक्स) दुवै एउटै सिक्काका फरक पाटा झैँ एउटै व्यक्तिमा पाइने फरक गुण वा लक्षणहरू हुन् । देवत्वकरणका मूलतः दुई प्रकारका स्वरूपहरू हुने गर्दछन् । एउटा स्वरूप देवत्वकरण हो भने अर्को आत्मदेवत्वकरण वा स्वदेवत्वकरण हो ।
परदेवत्वकरणको प्रक्रियामा समाज वा राष्ट्रमा पर्न आएको सङ्कटका बेला नेतृत्वमा रहेको व्यक्तिले देखाएको हिम्मत, दूरदर्शिता, बुद्धि, र विवेकका कारण लक्षित समाज वा राष्ट्रमा हुन गएको हितको बदलामा पुरस्कार स्वरूप लोकले नेतृत्वलाई देवतातुल्य मान्दछन् वा देवत्वकरण गर्दछन् । कुनै राष्ट्रको सङ्कटका बेलामा आफ्नो विलक्षण र चामत्कारिक नेतृत्व प्रदर्शन गरेबापत उक्त व्यक्तिलाई राष्ट्रले देवतातुल्य सम्झने गर्दछ; तर उक्त नेतृत्वले उसलाई देवताका रूपमा गरिएको गुणगान अस्वीकार वा हतोत्साहित गर्दछ ।
भारतीय स्वतन्त्रता संग्राम नेता महात्मा गान्धी, दक्षिण अफ्रिकी रङ्गभेद विरोधी क्रान्तिका नेता नेल्सन मन्डेला लगायतका केही नेतृत्वहरूलाई लाक्षणिक रूपमा यस वर्गमा राख्न सकिन्छ । आफ्ना लाखौं मानिसहरूलाई कत्लेआम गर्दै आएका आक्रान्ताहरूबाट आफ्नो रक्षा गर्ने नेतृत्वलाई देवता तुल्य मान्नु अस्वभाविक पनि हुँदैन । देवत्वकरणको यो प्रक्रियामा एकापट्टि अनुयायीहरूमा देवत्वकरण गरी स्वार्थ सिद्ध गर्ने कुनै पनि मनसाय रहेको हुँदैन भने अर्कापट्टि सम्बन्धित नेतृत्व भावनात्मकरूपले किञ्चित पनि प्रफुल्लित नभई यो प्रक्रियालाई निरुत्साहित गर्ने गर्दछ । यो कोटीको देवत्वकरण मानव कमजोरीका रूपमा प्रकट भए तापनि आफैंमा एक विशुद्ध प्रकृतिको देवत्वकरण हो ।
आत्मदेवत्वकरणमा व्यक्ति आफूले आफैँलाई देवता तुल्य देखाउने प्रयास गर्दछ र आफ्ना अनुयायीलाई त्यसैमा प्रवृत्त गर्दछ । मनोवैज्ञानिकरूपले हीनता ग्रन्थीले ग्रसित हुने हुँदा आफ्नो मानवीय क्षमतालाई ढाकेर आलुलाई देवता तुल्य बनाउन आत्मदेवत्वकरण गर्दछन् । यस्ता व्यक्तिहरूले पहिले आत्मदेवत्वकरण नगरी अनुयायीहरूले उनीहरूको देवत्वकरण गरेका हुँदैनन् । आत्मदेवत्वकरणका केही विशेषताहरूमा आफ्नो टिपन–चिना जन्मकुण्डली पुनर्लेखन गराउनु र ज्योतिषीबाट आफ्ना ग्रह बलिया भएको प्रचार गराउनु । आफू जीवित छँदै सालिक स्थापना गराउनु, डमी बनाउनु, हुलाक टिकट, रुपैयाँ, बिल्ला वा स्टिकरहरूमा आफ्नो तस्विर छपाउनु ।
आफ्नो निर्वाचन क्षेत्रलाई विशेष स्थान दिलाउँदै लगानी वृद्धि गर्नु । परिवारको सदस्य वा आफन्तलाई उत्तराधिकारीका रूपमा उक्त क्षेत्रमा तयार पार्नु । आफ्नो उत्पत्तिको वर्गभन्दा माथि गएर सम्भ्रान्त वर्गसँग व्यावसायिक र वैवाहिक नाता गाँस्नु । पार्टी, कार्यकर्ता र मतदाताहरूलाई भ¥याङ बनाइ आफूलाई निरन्तर सत्तामा राख्ने मनस्थिति बनाउनु । अपारदर्शी स्रोतबाट अकुत सम्पत्ति कुम्लयाउनु, राज्यसँग आफ्नु विशेष हैसियतको माग गर्नु जस्ता विशेषताहरू पर्दछन् । अन्य विशेषतामा, आफ्नो प्रशस्तिगान भएका जीवनी गाथाहरू प्रकाशित गराउनु, आफ्नो पारिवारिक वर्चस्वरहने आफ्नो नामको प्रतिष्ठान बनाउनु, आदि इत्यादि ।
आत्मदेवत्त्वकरण गराउने नेतृत्वको दुर्दान्त अन्त्यका कैयौँ उदाहरणहरू छन् । आत्मदेवत्त्वकरण गर्नेहरूप्रति अङ्ग्रेज कवि पि.बि.शेलीद्वारा लिखित ‘ओजीमन्डियस’ ब्यंग कवितामाथिको चित्रण रोचक छ । कविताले एउटा मरुभूमिमा कुनै प्राचीन राजा ओजीमन्डियसको सालिकको भग्नाबसेसमा छ, जहा खुट्टा र टाउको छुट्टिएको एक भागमा लेखिएको प्रशस्ति ‘My name is Ozymandias, king of kings: Look on my works, ye Mighty,…!’ उल्लेख गरिएको छ। ओजीमन्डियस ले भन्छ ‘हेर म राजाहरूको राजा, मेरो कामहरूलाई हेर…’, आदि । आफूलाई अजरअम्मर सम्झने उक्त राजा आज मरुभूमिको बालुवाका कणहरूमा छरिएको छ । जहाँ न उसका अङ्गरक्षकहरू छन्, न पार्षद्, न जनता न राज्य । अतः आत्मदेवत्वकरणका ओजीमन्डियस पथ हो, सबैमा चेतना भया । (लेखक समाजशास्त्र तथा मानवशास्त्र विषयका अध्येता र भाषा विज्ञान विषयका अनुसन्धाता हुन् ।)
आइएनएस–स्वतन्त्र समाचार
Design : Aarush Creation
रघुनाथ अधिकारी ‘निलमशेखर’ ।