सूचनाको शक्ति - The Power Of Information

        

मेयर हर्क साम्पाङले भने, ‘प्रधानमन्त्री बस्ने सहरको त बिजोग रहेछ’

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ यतिबेला संघीय राजधानी काठमाडौंको यात्रामा छन् ।

यो आर्थिक वर्षमा धरानको विकासका लागि जाने बजेट संघीय सरकारले घटाइदिएपछि निराश उनी मेयरमा निर्वाचित भएपछि पहिलो पटक काठमाडौं आइपुगेका हुन् ।

धरानको विकाका एजेन्डासहित काठमाडौंमा गुनासो पोख्न आइपुगेका उनी यहाँ फोहोरको थुप्रो देखेर निराश नबेका छन् । काठमाडौंका सडक चिल्ला र फराकिला भए पनि फोहोरको डंगुरले आफ्नो मन दुखाएको उनले बताएका छन् ।

काठमाडौं पुगेलगत्तै महानगरका सडकमा थुप्रिएको फोहोर हटाउन श्रमदान गर्न मन लागेको व्यंग गर्दै उनले खाल्डाखुल्डी बाटो भए पनि धरान नै सफा लागेको बताए । प्रधानमन्त्री र मन्त्री बस्ने सहरको बिजोग देख्दा श्रमदान गर्न मन लागेको पनि उनले लेखेका छन् ।

‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लाग्यो,’ मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुक लेखेका छन्, ‘प्रधानमन्त्री र मन्त्रीहरु बस्ने सहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो ।’

उनले फेसबुकमा व्यंग्य गरेको भए पनि मेयर शाहले अनुरोध गरे साँच्चै श्रमदान गर्न पनि आफू तयार रहेको उनले भनेका छन्, ‘म दुई–तीन काठमाडौंमै बस्छु । मेयर बालेन शाहले भन्नुभयो भने श्रमदान गर्न पनि तयार छु ।’ धरानमा खानेपानीको अभाव पूर्ति गर्न साम्पाङले अहिले श्रमदान अभियान चलाइरहेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतवार १४:०१