प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले गत स्थानीय चुनावका १ लाख २० हजारभन्दा बढी उम्मेदवारले निर्वाचन खर्चको विवरण नबुझाएको बताएका छन् ।
आइतबार काठमाडौंमा सम्पादकहरूसँगको अन्तरक्रियामा थपलियाले अबको चुनावमा खर्चको विवरण नबुझाउनेलाई उम्मेदवार नै बन्नबाट रोक लगाउनेबारे समेत आयोगले छलफल गरिरहेको उनले बताए ।
‘खर्च विवरण नबुझाउने संख्या भयावह देखियो,’ उनले भने, ‘त्यस्तो प्रवृत्ति नियन्त्रण गर्न उम्मेदवार बन्न नपाउने कानुनी व्यवस्था गर्ने सोच बनाएको छ ।’
खर्च नबुझाएका उम्मेदवारको विवरण केही दिनमा सार्वजनिक गर्ने उनले जानकारी दिए । त्यस्तै उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्ने स्वघोषणा गर्नुपर्नेबारे पनि छलफल भइरहेको उनले उल्लेख गरे ।
सत्यपाटी । काठमाडौं ।