सूचनाको शक्ति - The Power Of Information

        

गजल–साहित्य

‘दागबत्तीको महत्व चितामा…’

बाँचुन्जेल यो मेरो यो तेरो गर्दै जीवन ढल्छ । दागबत्तीको महत्व चितामा जल्दा मात्र रैछ ।।

गजल – एक

उनीसँग देखेका, सपना पाल्न गाह्रो भयो ।
मनमनै पलाएको, माया फाल्न गाह्रो भयो ।।

बेमौसममा गर्जिएको, बादलुको स्वर ठुलो ।
मडारियो चारैतिर, दियो बाल्न गाह्रो भयो ।।

निर्दोष नजरमा, विश्वासको पर्खाल ढल्यो ।
छियाछिया भइदियो, मन टाल्न गाह्रो भयो ।।

हिँड्दा सहारा बन्छु, भन्ने लौरो टुट्यो किन ।
जोडेर फेरि सँगै, कदम चाल्न गाह्रो भयो ।।

नजरको धोका थियो, सप्तरङ्गी रङ देख्यो ।
नमेटिने दाग पो रैछ, पखाल्न गाह्रो भयो ।।

गजल – दुई

फुलको महत्व, डालीबाट नझर्दा मात्र रैछ ।
जुनको महत्व, अँधेरी रात नढल्दामात्र रैछ ।।

जग स्वार्थले डुबेको बेला डुङ्गाको के अर्थ ।
माझीको महत्व, नदी पार गर्दा मात्र रैछ ।।

भोको पेटलाई के पाथी के मानो, चिन्नु छैन ।
भकारीको महत्व, अन्न भित्र्याउँदा मात्र रैछ ।।

सुखमा साथ दिने गन्तव्यमा हजार हुन्छन् ।
आफ्नोको महत्व, पीडामा गल्दा मात्र रैछ ।।

बाँचुन्जेल यो मेरो यो तेरो गर्दै जीवन ढल्छ ।
दागबत्तीको महत्व चितामा जल्दा मात्र रैछ ।।

गजल – तीन

आफु जस्तो उस्तै स्वभाव अरुमा देख्छ ।
चस्मा लाउँछ दृष्टि अभाव अरुमा देख्छ ।।

संस्कार संस्कृतिको धज्जी उडायो आफैं ।
कुलत कुविचारको प्रभाव अरुमा देख्छ ।।

भनक रत्तिभर हुँदैन चतुर्‍याइँ कति हो ।
गला रेट्छ र स्वार्थी भाव अरुमा देख्छ ।।

मौन छ चित्र तर पनि चरित्र चित्रण गर्छ ।
शिल्पकलाले नै मनोभाव अरुमा देख्छ ।।

नाटक नौटङ्की कति सत्ताको खेलमा ।
निरंकुश प्रवृत्तिले दुर्भाव अरुमा देख्छ ।।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार ०९:०१