लामो समयदेखि प्रयाप्त वर्षा नहुँदा धान रोपाइँ लगायत पानीको अभावमा अन्य खेतीबारी हुन नसकेपछि बाँकेको नरैनापुर गाउँपालिकालाई सुख्खा क्षेत्र घोषणा गरिएको छ ।
सिँचाईको अभावमा खडेरी परेको ठहर गर्दै गाउँपालिकाको कार्यपालिका बैठकले नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरिएको गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।
अध्यक्ष शाहले यसपटक लामो समयदेखि वर्षा नहुँदा आकासे पानीको भर पर्नुपर्ने बाध्यताका कारण नरैनापुर गाउँपालिका क्षेत्रमा धान रोपाइँ नभएकोले सुख्खा क्षेत्र घोषणा गरिएको बताए ।
‘सिंचाइको व्यवस्था नभएकोले अधिकांश किसानहरु वर्षाको भरमा खेती गर्नुपर्छ,’ उनले भने । अध्यक्ष शाहले केही किसानले वैकल्पिक उपाय गरेर लगाएको धानवाली समेत नष्ट भइसकेको हुँदा किसान अतिनै समस्यामा परेको बताए ।
चर्को गर्मीसँगै उक्त क्षेत्रमा पानी नपरेपछि अधिकांश कृषि योग्य जमिन बाँझो रहेको र पानीको स्रोतहरु सुक्न थालेपछि नरैनापुरमा पानीको अभाव हुँदा सो पालिकालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले बताए ।
प्रमुख प्रशासकीय अधिकृत बस्नेतले सयौं किसानले पालिकामा आएर आफ्नो गुनासो सुनाउँदै यसपटक रोपाइँ हुनै नसकेको हुँदा के खाने भन्ने चिन्ताले सताएको जनाएपछि सुख्खा क्षेत्र घोषणा गर्ने निर्णयमा पुगेको बताए ।
खडेरीले गर्दा कृषिमा आश्रित बहुसङ्ख्यक जनताको जीवन कष्टकर बन्दै गएको अवस्थाप्रति प्रदेश र सङ्घीय सरकारले विशेष प्राथमिकतामा राखेर तत्काल ध्यान पुर्याउन आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष शाहले बताए ।
सुख्खा क्षेत्र घोषणासँगै गाउँपालिकाले किसानका लागि विशेष राहतको प्याकेज ल्याउन पनि प्रदेश र सङ्घीय सरकारसँग माग गरेको छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहको अध्यक्षतामा बसेको गाउँ कार्यपालिकाको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।
सो क्षेत्रमा सिँचाइका लागि डिप बोरिङ्गको व्यवस्था गर्न, किसानलाई सहुलियत रुपमा डिजलको व्यवस्था गर्न, कृषि विद्युतीकरणको व्यवस्था गर्न र कृषि मिटर उपलब्ध गराई विद्युत महसुल निःशुल्क गर्न अधिकांश किसानले माग गरेका छन् ।
यसैगरी, कृषि ज्ञान केन्द्र नेपालगन्जले नरैनापुर गाउँपालिकामा ३५ प्रतिशत जति रोपाइँ भएको तथ्याङ्क आएको जनाउँदै लामो समयदेखि पानी नपर्दा सोमध्ये पनि रोपेको अधिकांश धान सुकेर नष्ट भएको हुन सक्ने जनाएको छ ।
गाउँ कार्यपालिकाको सोही बैठकले सुख्खा क्षेत्र घोषणा गरिएकोमा ८० प्रतिशत करमा छुट दिने निर्णय पनि गरेको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए । जिल्लाकै सबैभन्दा दुर्गम र पिछडिएको मानिने नरैनापुरका अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । सिक्टा सिंचाई आयोजनाको निर्माण कार्य जारी रहेको र केही वर्षभित्रै पालिकामा सिक्टाको पानी पुग्ने आशा गरिएको छ ।
सत्यपाटी । बाँके ।