बित्थडचीर गाउँपालिका–१ मा रहेको केदार माध्यमिक विद्यालयका छात्रा बेहोश हुन थालेका छन् । आइतबार सात छात्रा बेहोस भएका थिए । सोमबार सात र मंगलबार दुई छात्रा बेहोस भएका हुन् ।
उनीहरूको दुई घण्टापछि होश आएको प्रधानाध्यापक बिष्णुसिंह बोहराले बताए । उनले भने, ‘विद्यार्थीहरु एकपछि अर्को हुँदै बेहोश भए । पहिलो दिन एकजना बेहोस भएपछि लगातार अरु पनि बेहोश हुन थाले ।’
बेहोस भएका सबैलाई घर पठाए पनि दोस्रो दिन स्वास्थ्य चौकीमा पुर्याएर डाक्टरबाट जाँच गराएको उनले बताए । बेहोस भएका छात्रामा नबोल्ने तथा इसाराले घाँटी च्यापिएको बताउने, काँप्ने र बर्बराउने जस्ता लक्षण देखा परेको छ ।
विद्यार्थीहरुमा बेहोस हुने समस्या देखिएपछि सोमबार देउलेक प्राथमिक स्वास्थ्य केन्द्रबाट डाक्टर बोलाइएको थियो । उनीहरूमा ‘मास हिस्टेरिया’ भएको देउलेक प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर ईश्वर बलामीले बताए ।
उनले भने, ‘सबैभन्दा पहिला समस्या देखिएका छात्रामा केही समस्या हुनसक्छ । त्यसको जाँच गर्नुपर्छ । यो समस्याका लागि आइसोलेसनमा बस्नुपर्छ । सबै छात्रा एकै ठाउँमा भएमा धेरैलाई समस्या हुनसक्ने भएकाले केही दिन छुट्टाछु्ट्टै राख्नुपर्छ ।’
चिन्ता तथा डरका कारण त्यस्तो समस्या आउने गरेको डाक्टर बलामीले बताए । एक जनामा समस्या भएपछि सरुवा रोगजस्तै अरुमा समेत यस्तो समस्या आउने उनको भनाइ छ । यस्ता छात्रामा अन्य स्वास्थ्य समस्या देखिएमा अस्पताल पुर्याउन उनको सुझाव छ ।
विद्यालयमै पुगेका डाक्टर बलामीले १ घण्टा शिक्षकहरूलाई समेत सहजीकरण गरेका थिए । विद्यालयले बिरामी परेकाहरुलाई केही दिन विदामा घर बस्न सुझाव दिएको छ । विद्यालय भने विदा नगरेको बनाइएको छ । तर, विभिन्न सञ्चारमाध्यममा विद्यालय एक हप्तासम्म बन्द भएको समाचारप्रति विद्यालयले समेत जनाएको छ ।
सत्यराज सिंह । बझाङ ।