सूचनाको शक्ति - The Power Of Information

        

नौ वर्षपछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन

यस वर्षको जनैपूर्णिमा र गाईजात्रा शुक्रवार एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यो वर्षको जनैपूर्णिमा र गाईजात्रा शुक्रवार एकैदिन परेको जनाएको छ ।

मुख्यतः काठमाडौं उपत्यकाका नेवार समुदायले जनैपूर्णिमा र गाईजात्रा क्रमशः बिहीबार र शुक्रबार दुई दिन लगातार हुने जनाए पछि पञ्चाङ्ग समितिले २७ साउन अर्थात शुक्रबार नै दुवै परेको भन्दै प्रेस विज्ञप्ति नै जारी गरेर स्पष्ट पारेको हो ।

पञ्चाङ्ग समितिले सो बारेमा भ्रममा नपर्न आग्रह गर्दै धार्मिक र परम्परा अनुसार आफ्ना धार्मिक कृत्य शुक्रवार एकैदिन गर्न गराउनसमेत आग्रह गरेको छ । बिहीबार नै पूर्णिमा तिथि सुरु हुने भए पनि भद्रा पर्ने भएकाले भोलिपल्ट शुक्रबार जनैपूर्णिमा मनाउन तथा रक्षाबन्धन गर्न उचित हुने पञ्चाङ्ग समितिको भनाइ छ ।

यसअघि १९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१ र २०७० सालमा पनि यसपालिको जस्तै अवस्था परेको र एकैदिन जनैपूर्णिमा र गाईजात्रा मनाइएको समितिले जनाएको छ । सोसँगै झन्डै ९ वर्षपछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको हो ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार ०९:४२