सूचनाको शक्ति - The Power Of Information

        

समाचार

अख्तियारको नेपालगन्ज कार्यालयमा ७५० बढी उजुरी

चालू आर्थिक वर्षको पहिलो महिनाको २२ दिनमै ४१ वटा उजुरी परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरी दर्ता सहज पारिएपछि आयोगको नेपालगन्ज सम्पर्क कार्यालयमा उजुरी दिनेहरू बढेका छन् ।

अख्तियारले कार्यालयमै उपस्थित भएर लिखित रूपमा उजुरी दिनुपर्ने बाध्यता हटाएर इमेल, टेलिफोन, मोबाइल र हुलाकबाट समेत उजुरी दिनसक्ने व्यवस्था गरेपछि उजुरी दिनेहरू बढेका हुन् ।

विभिन्न प्रविधिको प्रयोग गरेर उजुरी प्रक्रियालाई सहज र सरल पारिएपछि उजुरी दिनेहरू बढ्दै गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगन्ज सम्पर्क कार्यालयका प्रमुख विजयराज पौडेलले बताए ।

उनका अनुसार लिखित उजुरी गर्न हिच्किचाउने, पहिचान खुल्न सक्ने डरले पनि उजुरी दिन नचाहनेहरूलाई आधुनिक प्रविधिको प्रयोग गरी उजुरी दिनसक्ने व्यवस्था निकै प्रभावकारी हुँदै गएको छ ।

आर्थिक वर्ष २०७७–०७८ मा नेपालगन्ज सम्पर्क कार्यालयमा करिब ६०० उजुरी परेकोमा उजुरी दिन सहज बनाइएपछि आर्थिक वर्ष २०७८–०७९ मा ७५० भन्दा बढी उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगन्ज कार्यालयले जनाएको छ ।

अख्तियार सम्पर्क कार्यालय नेपालगन्जमा चालू आर्थिक वर्षको पहिलो महिनाको २२ दिनमै ४१ वटा उजुरी परेका छन् । जसमध्ये सबैभन्दा बढी उजुरी प्रत्यक्षभन्दा अप्रत्यक्ष माध्यमका छन् ।

आयोगको कार्यालयमा हुलाकबाट १०, समाचार पत्रबाट दुई, लिखित ११, टेलिफोनबाट पाँच, इमेलबाट १३ वटा उजुरी पुगेको जानकारी कार्यालयले दिएको छ ।

आगामी दिनमा उजुरी झनै बढ्ने जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगन्ज कार्यालयका प्रमुख पौडेलले कार्यालयको काम पनि बढ्ने बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार ०९:१०