सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य

स–साना कदमले सुधारिँदै भेरी अस्पतालको सेवा

सम्बन्धित विभागिय प्रमुखको सिफारिसमा नेपाल सरकारको मापदण्डमा रहि बिरामीको उपचारमा सतप्रतिशतसम्म सहुलियत दिने जनाएको छ ।

नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार भेरी अस्पतालले सञ्चालित निःशुल्क तथा लक्षित कार्यक्रमलाई थप सुधार गरेको छ । ‘स–साना कदम…सेवा सुधारमा…’ नारा दिएर उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन थप सुधार थालेको हो ।

निःशुल्क तथा लक्षित कार्यक्रम अन्तरगत सेवाग्राहीको आर्थिक अवस्थाको जानकारी दिन अनिवार्य रहेको स्थानीय तहको सिफारिसलाई अनिवार्य पेश गर्नु नपर्ने भएको छ । जुनसुकै आर्थिक र सामाजिक हैसियत भएका व्यक्तिले उक्त सिफारिस ल्याएर सहुलियतका लागि आउन थालेपछि त्यसलाई स्थानीय तहको सिफारिस अनिवार्य नहुने भएको छ ।

अस्पतालले जुनसुकै आर्थिक र सामाजिक हैसियत भएका व्यक्तिले पनि सिफारिस लिएर आउने र सहुलियतको निम्ति दावी गर्ने गरेको पाइयो । यसले गर्दा लक्षित वर्गका असहाय र निमुखा बिरामी नै सेवाबाट वञ्चित हुने गरेकोले भाद्र १ गतेदेखि भेरी निःशुल्क वा सहुलियत उपचारका लागि स्थानीय तहको सिफारिस अनिवार्य नहुने जनाएको छ ।

अस्पतालले भनेको छ, ‘वयस्कको हकमा नेपाली नागरिक भएको पहिचान खुल्ने कुनै पनि प्रमाण (नागिरकता, मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्र आदि) पेश गर्नुपर्नेछ । नाबालकको हकमा अभिभावकको परिचय पत्रलाई आधार मानिनेछ । उपचारमा आउने बिरामीलाई सहुलियत दिँदा उपचारमा संलग्न चिकित्सकको विश्लेषणलाई महत्व दिइनेछ ।’

अस्पतालले स्वःघोषणामार्फत सहुलियत वा निःशुल्क सेवा प्राप्त गरेका बिरामीको विवरण सार्वजनिक लेखापरिक्षणको निम्ति संग्रह गरेर राख्ने र समय–समयमा सार्वजनिक गर्ने जनाएको छ । कुनै बिरामी आर्थिक सहुलियत दिन उपयुक्त लागेमा उपचारमा संलग्न कन्सल्टेन्ट चिकित्सकले ५० प्रतिशतसम्म सहुलियतका लागि सिफारिस गर्न सक्ने पनि अस्पतालले जनाएको छ ।

सम्बन्धित विभागिय प्रमुखको सिफारिसमा नेपाल सरकारको मापदण्डमा रहि बिरामीको उपचारमा सतप्रतिशतसम्म सहुलियत दिने जनाएको छ । सामाजिक सेवा इकाइमार्फत प्रवाह गरिने सेवाहरूलाई सहज रुपमा सेवाग्राहीसम्म पुर्याउन बहिरंग सेवामा २ दुई हजार ५०० र अन्तरंग सेवातर्फ १० हजार रुपैयाँभन्दा बढीको रकम स्वीकृत गर्नुपरेमा मेडिकल सुपरिन्टेन्डेन्टबाट गराउनुपर्ने, तर मेसुको व्यस्तताले गर्दा उक्त बिल भर्पाई स्वीकृत गर्न समय लाग्ने भएमा नर्सिङ प्रशासकले गर्न सक्ने गरी अधिकार प्रत्यायोजन गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालले भनेको छ, ‘उपचारमा संलग्न विशेषज्ञ चिकित्सक र विभागीय प्रमुखको सिफारिस भएमा सोहि अनुरुप छुट सदर हुनेछ भने सिफारिस नआएको खण्डमा सामाजिक सेवा इकाइ प्रमुख (नर्सिङ प्रशासक)ले नै सो निर्णय गर्न मिल्ने प्रावधान मिलाइएको छ । बीमा काउन्टर र नियमित ओपडी पर्चा काउन्टर अगलअलग ठाउँमा हुँदा बिरामीहरूले दुःख पाइरहेकोमा बीमा काउन्टरलाई पनि नियमित ओपिडी काउन्टरकै नजिक राखिनेछ ।’

बीमामा सेवा लिन आउने बिरामीहरूले बिमा सुविधा लिन काउन्टर र फार्मेसीमा औषधिको पुर्जा बुझाउनुपर्ने, त्यसको लागि अस्पताल बाहिर भौंतारिनुपर्ने र सोहि क्रममा दलालहरूको चंगुलमा फसेर निशुल्क पाइने औषधीसमेत बाहिर किनाइदिने परिपाटीको अन्त्य गरि बिरामी पक्षलाई सहज होस् भनेर बिमा काउन्टरमै फोटोकपी राखी निःशुल्क फोटोकपी गरिदिने व्यवस्था समेत अस्पतालले मिलाइएको छ ।

अस्पतालमा बिरामीको चाप

अत्याधिक गर्मी र बर्षायामका कारण नेपालगन्जस्थित भेरी अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको छ । भेरी अस्पताल नेपालगन्जमा सोमबार दिउँसोसम्म बहिरङ सेवा, बीमा सेवा र इमर्जेन्सी सेवा गरी ५५३ जनाले स्वास्थ्य सेवा लिएका छन् । अस्पतालको तथ्याङ्कअनुसार आइतबार अस्पतालमा यसरी सेवा लिनेको सङ्ख्या ६९३ थियो । पछिल्लो समय भेरी अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको अस्पतालका प्रमुख एवं मेडिकल सुपरिटेन्डेन्ट डा.बद्री चापागाईंले जानकारी दिए ।

‘वर्षायाममा सामान्यतया बिरामीको सङ्ख्या बढी हुने गरे पनि यसवर्ष भने दिन प्रतिदिन बिरामीको सङ्ख्या बढिरहेको छ,’ अस्पतालका प्रमुख डा.चापागाईंले भने, ‘यसरी बिरामीको चाप बढ्नुलाई अस्पतालको सेवा विस्तारसँगै सरकारी अस्पतालप्रति आममानिसको विश्वास बढ्दै गएका रूपमा पनि लिन सकिन्छ ।’ सोमबार उपचारका लागि आएका नेपालगन्ज मनिकापुरका सीता रानाले अस्पतालमा देखिएको भीडले पर्चा काट्नमात्रै नभई एक स्थानबाट अर्को स्थानमा जानसमेत समस्या भएको बताए ।

‘सरकारी अस्पतालमा राम्रो सेवा पाइन्छ भनेर सधैँ यही अस्पतालमा आउँछौं,’ रानाले भने, ‘अहिले आउँदा सबैतिर भीड मात्रै छ, बिरामीलाई सास्ती हुन थाल्यो ।’ अस्पताल प्रमुख चापागाईका अनुसार साउनयता ओपिडी, बीमा र आपतकालिन सेवातर्फ १२ हजार ८७ जनालाई उपचार सेवा दिइएको छ । यो सेवा अघिल्लो वर्षको भन्दा निकै बढी भएको मेडिकल सुपरिटेन्डेन्ट डा.चापागाईंको भनाइ छ ।

अस्पतालले एकैदिनमा करिब सात सय जनासम्म बिरामीलाई उपचार सेवा दिएको जनाएको छ । निजी अस्पतालले सरकारले सञ्चालन गरिरहेको स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेपछि भेरीमा बिरामीको चाप बढेको छ । भेरीको तथ्याङ्क अनुसार साउन महिनामा दुई हजार ८४३ जनाले बीमा सेवामार्फत उपचार पाएका छन् । भेरी अस्पतालमा फेरि कोभिडका बिरामी आउनेक्रम बढ्न थालेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार ११:३१