सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य–डायरी

भुसको आगोझैं फैलिँदै कोरोना

कोरोना विरुद्धको खोप लगाएका छौं भनेर नागरिक ढुक्कसँग बस्ने अवस्था छैन ।

पछिल्लो केही सातायता कोरोना संक्रमणदर निरन्तर उकालो लागिरहेको छ । संक्रमणसँगै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । कोरोना संक्रमण बढे पनि हाम्रो समाजमा बेवास्ता गरिएको छ । साउन महिला लागेयता हिन्दु धर्मावलम्बीहरु मठमन्दिर जाने क्रम बढेको छ । मन्दिरहरुमा भक्तजनको चाप यत्तिकै छ । कसैले पनि कोरोना मापदण्डको पालना गरेका छैनन् । मास्क लगाउन हेलचेक्र्याइँ गरिएको छ, भौतिक दुरी पालना अकल्पनीय विषय भइहाल्यो । फिल्म हलहरुमा पनि उत्तिकै भीड छ । फिल्म हेर्ने जाने दर्शकहरु गैरजिम्मेवार देखिएका छन् ।

रात्रीकालिन व्यवसाय सञ्चालक गरेका व्यवसायीहरुले पनि सरकारले बनाएको मापदण्ड पालना गरेका छैनन् । दोहोरी साँझ, डान्स बार लगायतका मनोरञ्जनात्मक क्षेत्र यतिखेर कोरोना उत्पादन गर्ने कारखाना बनेका छन् । देशभर रहेका तरकारी बजारमा पनि लापरवाही गरेको देखिन्छ । कालिमाटी, बल्खु, तीनकुने लगायत उपत्यकाका तरकारी तथा फलफूल बजार कोरोना फैलाउने थलो बनेको छ । व्यापारी र ग्राहक दुवैको मुखमा मास्क छैन । छिमेकी मुलुकबाट तरकारी ओसार्ने चालकहरुले पनि स्वास्थ्य मापदण्डको पालना गरेका छैनन् । जसका कारण कोरोनाले तीब्र र भयावह रुप लिन नसक्ला भन्न सकिँदैन ।

विदेशी मुलुकबाट नेपाल भित्रिएकाहरु सिधैं आफ्नो घर गइरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रभावकारी हेल्थ डेस्कको व्यवस्था गरेको पाइँदैन । उता, हवाइजहाजमा पनि सरकारले कोरोना नियन्त्रणका लागि बनाएका नियम पालना भएको छैन । न क्वारेन्टिनको प्रबन्ध नै मिलाउन सकिएको छ । यसले कोरोना संक्रमणलाई थप तीब्र बनाइरहेको छ । लामो र छोटो रोडमा चल्ने सार्वजनिक यातायातका चालक र सहचालक सबैभन्दा धेरै गैरजिम्मेवार छन् । उनीहरु मास्क लगाउँदैनन् । सरकारले भीडभाड नगर्नु भनेर निर्देशन दिइरहेको बेला उनीहरु गुन्द्रुक खादेझैं यात्रु खाँदछन् ।

सरकारी कार्यालय नै सरकारको मापदण्ड पालना गर्न चुकेको छ । कर्मचारी र सेवाग्राही दुवै कोरोना फेलाउन तम्सिएका छन् । भीड हेर्नेलाई मेला लागेझैं अनुभुति हुन सक्छ । सरकारी कार्यालय नै नियम विपरित सञ्चालन हुँदा कोरोना बढ्ने निश्चित छ । अस्पतालको हाल पनि बेहाल छ । बिरामी र कुरुवा दुवैले जनस्वास्थ्य मापदण्ड पालना गरेका छैनन् । अस्पताल घुमघामका लागि जाने स्थलझैं बनेको छ । बेफिक्री कोरोनालाई नै चुनौती दिएर हिँड्ने क्रम बढेको छ । जसले ठूलो क्षति निम्त्याउन सक्छ । अस्पतालमै जनस्वास्थ्य मापदण्डको पालना हुन सकेको छैन भने अरु ठाउँमा असम्भव झैं छ ।

पार्टी प्यालेसहरुमा अहिले पनि थुप्रै कार्यक्रम सञ्चालित छन् । विवाह, ब्रतबन्ध, भोज लगायत उत्सवहरु पार्टी प्यालेसमै मनाउने गरिएको छ । यता, वित्तिय संस्थामा पनि उत्तिकै भीड छ । तर, सबै क्षेत्र कोरोनाको मापदण्ड पूरा गर्न कही कतै चुकेको देख्न सकिन्छ । भिडियो र फिल्महरुको धमाधम सुटिङ भइरहेको छ । सुटिङ कलाकारदेखि लिएर हेर्ने दर्शकको भव्य भीड हुन्छ । तर, न भीडले स्वास्थ्य मापदण्डको पालना गर्छ न कलाकारले । भाटभटेनी लगायत अन्य थुप्रै सुपर मार्केट, होटल, रेष्टुरेण्टको पनि उही हाल छ । अटो शोरुम र वर्कसपले पनि कोरोना उत्पादन गर्न सहयोग गरिरहेको छ ।

फुटपाथ पसलेहरुले पनि भकाभक कोरोना फैलाइरहेका छन् । बाटोमा मास्क नलगाई हिँडेको प्रशस्तै भेटिन्छन् । स्वास्थ्य मापदण्ड पालना नगरीकन निस्फ्रिकी हिँड्ने क्रम रोकिएको छैन् । स्कुल र कलेजजस्तो ठाउँमा झनै लापरवाही देखिन्छ । ससाना विद्यार्थी पढ्ने ठाउँमा गरेको हेलचेक्र्याइँले कोरोना थप बढाउनेछ । विद्यार्थीले मात्र नभई शिक्षकले समेत मास्क लगाएका छैनन् । कोरोनाले बढ्दो रुप लिएपछि कतिपय अभिभावकले छोराछोरी विद्यालय पठाउन छोडिसके । कतिपय गाउँपालिका–नगरपालिकाले त स्कुल नै बन्द गरिदिएका छन् । पछिल्लो समय हात मिलाउने र अँगालो हाल्ने काम बढेको छ ।

यसअघि कोरोना देखिँदा सबैले नमस्तेलाई प्राथमिता दिएका थिए । तर, फेरि पनि हात मिलाउन थालिएको छ । घरघरमा फोहोर संकलन गर्ने र कबाड लिन आउनेहरुले पनि कोरोनालाई चुनौती दिएका छन् । उनीहरुले पनि स्वास्थ्य मापदण्डको पालना गरेका छैनन् । स्वास्थ्य मन्त्रालयले दिनहुँ कोरोनाको तथ्याङ्क सार्वजनिक गर्दछ । जसअनुसार उपत्यकासँगै देशभर कोरोना संक्रमण बढिरहेको छ । अधिकांश भीडभाड हुने ठाउँमा कसरी मापदण्ड पालना गराउने भन्नेतर्फ मन्त्रालय बेखबर छ । नयाँ बसपार्क, कोटेश्वर, चाबहिल, न्युरोड, रत्नपार्क लगायतका क्षेत्रमा निकै भीड छ । फुटपाथमा समेत हिँड्न सक्ने अवस्था छैन ।

दर्शन गर्ने नाममा भारतीय नागरिक धमाधम राजधानी छिरिरहेका छन् । पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने भनेर नेपाल छिर्नेको क्रम बढेको छ । तर, नाकामा कोरोना चेकजाँच शून्यजस्तै छ । ७७ जिल्लाका सर्वसाधारणहरु काम लिएर, घुमघाम गर्न काठमाडौं आइरहेका छन् । तर, नाकामा उनीहरुको परीक्षण गरिँदैन । गाउँपालिका र नगरपालिकाले कोरोना जाँच्ने कार्यलाई प्राथमिकता दिएका छैनन् । यता, काठमाडौंबाट गाउँघर जानेलाई पनि कडाइ गरिनुपर्छ । उपत्यका भित्रिने साँगा र थानकोट नाकामा जतिसक्दो कडाइ गर्नुपर्छ । उपत्यकाका नगर प्रमुखहरुले कोरोनालाई बेवास्ता गरेका छन् । सुरक्षाकर्मी पनि स्वास्थ्य मापदण्ड पालना नै नगरेर बेफिक्री ड्युटी गरिरहेका छन् ।

आफू पनि सतर्क हुनुपर्छ, अरुलाई सजग बनाउनुपर्छ भनेर उनीहरुमै चेतना नभएको हो ? राजनीतिक पार्टीहरुले नागरिक भेला गरेर कार्यक्रम गरिरहेका छन् । कोरोना फैलाउँने काम राजनीतिक दलले नै गरिरहेका छन् । कोरोनाकै कारण झण्डै १२ हजारको ज्यान गएको छ । कोरोना जितेर आउनेलाई पनि त्यसको व्यथा थाहा छ । तर, सरकारले अझै पनि मतलब गरेको छैन । १२ हजार सरकारका लागि थोरै भएको हो ? कोरोना नियन्त्रण गर्नका लागि सम्बन्धित निकायले नै चासो दिएको छैन । मठमन्दिर बन्द गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यान गएको छैन ।

शिक्षा मन्त्रालयलाई विद्यार्थीको ज्यान ख्यालख्याल भएको छ । गृह र स्वास्थ्य मन्त्रालयले भीड कसरी कम गर्ने सोचेका छैनन् । वकालत गर्ने ठाउँ, संग्रहालय र चिडियाखानामा पनि उस्तै पारा छ । स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङ कडाइ पनि नगर्ने, निषेधाज्ञा जारी पनि नगर्ने र नागरिकले तिरेको करबाट तलबभत्ता मात्र खाइरहेकै छन् । कोरोना विरुद्धको खोप लगाएका छौं भनेर नागरिक ढुक्कसँग बस्ने अवस्था छैन । खोप लगाएकालाई पनि कोरोना लाग्छ भनेर चिकित्सकले भनिरहेकै छन् । दैनिक कोरोना बढेको तथ्याङ्क स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरिरहेकै छ, तर आफैं तात्तिएको छैन ।

स्वास्थ्य मन्त्रालयले दिनहुँ कोरोना संक्रमितको विवरण सार्वजनीक गरेर नागरिकमा त्रास फैलाउनकै लागि मात्र सूचना जारी गर्न छोडिदिए हुन्छ । बेकारमा कोरोनाको तथ्याङ्क सार्वजनीक गरेर नागरिकलाई किन त्रसित बनाउने ? यसअघिका स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, हृदयेश त्रिपाठीले स्वास्थ्य मापदण्ड र निषेधाज्ञा नगरेको भए नेपालमा लाखौं मानिस कोरोनाका कारण मर्थे । त्यत्रो कडाइ गर्दा त सयौं मान्छे मरेका छन् । अहिलेको पाराले कति मर्ने हुन् ? अहिलेका स्वास्थ्य मन्त्री पनि नेकपा एकीकृत समाजवादीका हुन् । समाजवादीका यसअघिका मन्त्री सबै उही ड्याङका मुला हुन् ।

विरोध खतिवडा, रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठ लगायतले केही काम गरेनन् । यिनीहरुकै कारण समाजवादी पार्टी सिद्धिने निश्चित छ । मन्त्री भएर टिकटक बनाएर बस्न फुर्सद थिएन । काम नगर्ने अनि मन्त्री छाड्नुपर्यो भनेर बलिद्र आँशु बगाउने ? माधव नेपालको पार्टीमा राम्रो व्यक्ति नै छैनन् अनि पार्टी कसरी उँभो लाग्छ ? भएभरका झारपात सबै त्यहीँ पार्टीमा छन् । चाडवाडको सिजनसँगै प्रतिनिधिसभा र प्रदेश सभाको चुनावको मिति पनि घोषणा भइसक्यो, कोरोनाले थप भयावह रुप लिने निश्चित छ । उद्योगी तथा यातायात व्यवसायीहरु लकडाउनको विपक्षमा छन् । तर, नागरिक बचाउने कि व्यवसायी ? सरकारको हातमा छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार १०:५२