सूचनाको शक्ति - The Power Of Information

        

नासुहरुले आज एक घण्टा पेन डाउन गर्ने

सरकारले असमान रुपमा तलबमान बढाएको भन्दै विरोधमा उत्रिएका नायब सुब्बा अर्थात नासुहरुले आज एक घण्टा पेन डाउन गर्ने भएका छन् ।

बिहान १० बजेदेखि ११ बजेसम्म सबै सरकारी कार्यालयका नासुहरुले एक घण्टा पेन डाउन गर्ने नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनक रावलले बताउनुभयो ।

उहाँकाअनुसार बिहान एक घण्टा विरोध कार्यक्रममा बसेको क्षतिपूर्तिस्वरुप दिउँसो १ बजेदेखि २ बजेसम्मको खाजा समयमा सबै नासुहरुले काम गर्नेछन् ।

नासुहरुले हिजो बिदामा बसेर साङ्केतिक रुपमा सरकारको विरोध गरेका थिए । नासुहरु बिदामा बस्दा हिजो सबै सरकारी कार्यालयमा सेवाग्राहीको काम हुन सकेको थिएन ।

सरकारले मर्यादाक्रम मिलाउने नाममा माथिल्लो तहका कर्मचारीको तलब बजेटमा घोषणा गरेभन्दा ९ प्रतिशतसम्म बढी बनाउन प्रस्ताव गरेपछि नासुहरु विरोधमा उत्रिएका हुन् ।

बजेटमा व्यवस्था गरेभन्दा बढी बढाउने गरिएको निर्णय फिर्ता लिइएको सरकारले जनाइसकेको भए पनि बजेटमा घोषणा गरिएअनुसार १५ प्रतिशत तलब बढाउँदा पनि माथिल्ला र तल्लो तहका कर्मचारीबीच तलबमानमा धेरै फरक परेकाले आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार ०८:४३