सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन आयोग

मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताले भोट दिन पाउने

अनलाइनबाट समेत निवेदन दिन पाइने

मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेकाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा मतदान गर्न पाउने भएका छन् ।

तर त्यसका लागि फोटोसहितको मतदाता नामावलीमा भने नाम भएको हुनुपर्ने  निर्वाचन आयोगले जनाएको छ । गएको साउन १९ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएकाले मात्रै मतदान गर्न पाउनेछन् ।

आयोगले चुनावका लागि गएको २० गतेदेखि नयाँ मतदाताको नामावली सङ्कलनको काम स्थगित गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार चुनावको मिति घोषणा भएको दिन अर्थात गएको १९ गतेसम्म सङ्कलन भएको र मतदान हुने मितिभन्दा अघिल्लो दिन मंसिर ३ गतेसम्म १८ पर्ष पुग्ने व्यक्तिहरुको मतदाता नामावलीलाई अद्यावधिक गर्ने तथा दाबी विरोधको प्रक्रिया सुरु भएको छ ।

आउँदो भदौ १२ गतेदेखि १९ गतेसम्म निर्वाचन कार्यालहरुमा मतदाता नामावली अद्यावधिकको काम हुनेछ । यो अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुटो विवरण दिइ नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा उजुरी दिने, दोहोरो नामावली र एकाघर परिवारका सदस्यको ज्यान गएको भए हटाउन निवेदन दिनेलगायतका काम हुनेछ ।

नामावली अद्यावधिकका लागि इमेल, फ्याक्स तथा अनलाइनबाट समेत निवेदन दिन पाइने छ । आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया पूरा गरी भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशित गर्ने जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार ०८:३४