केन्द्रीय राजधानी उपत्यकाभित्र र बाहिर सञ्चालनमा रहेका पार्टी प्यालेसहरुमा अहिले दिनहुँ कार्यक्रमहरु भइरहेका छन् । कति पार्टी प्यालेसमा तीजका लागि सङ्गीत वा भिडियो तयार भइरहेका छन्, कतै दिदीबहिनीहरुले दर खानका लागि कार्यक्रम सुरु गरिसकेका छन्, कतै राजनीतिक कार्यक्रमहरु सञ्चालन भइरहेका छन् भने कतै विवाह, ब्रतबन्ध र भोेजहरु सञ्चालन भइरहेको पाइन्छ । अहिले एकदिन पनि पार्टी प्यालेस खाली रहेको देखिँदैन । अहिले सञ्चालकलाई कमाउन भ्याइनभ्याइ छ ।
अहिले १५ दिन पहिले नै पार्टी प्यालेस अग्रिम बुकिङ्ग भइरहेका छन् । पार्टी प्यालेसमा कार्यक्रम गर्दा एक जनाले खाना खाएबापत ५०० देखि २५ सयसम्म तिर्नुपरेको छ । यस्ता कार्यक्रमका विषयमा सरकारले कुनै मापदण्ड नबनाउँदा नागरिक लखेटिरहेका छन् । सरकारले यस्ता विषयमा मापदण्ड तयार गरेर कार्यक्रममा खानेकुराको पैसा निर्धारण गर्न सकेको छैन । पार्टी प्यालेसमा पकाइने तरकारी, मासु, माछा, भात, दाल लगायतका विभिन्न परिकारहरु कति गुणस्तरीय वा स्वच्छ छन् भन्ने विषयमा समेत प्रश्न उठ्ने गर्छ ।
नागरिक भन्छन्, पार्टी प्यालेस सञ्चालकहरुले बजारबाट बिग्रिएको वा नबिकेका तरकारीहरु सस्तामो ल्याउएर पकाउने गर्छन् । यता पार्टी प्यालेसमा पाक्ने मासु पनि खर्सीको भनेर बाख्राको पकाउने, माछा पनि ताजा भन्दै बिग्रिएको वा बासी पकाउने र कुखुरा पनि मरेको पकाउने गर्छन् । यसरी यस्ता खानेकुरा खाँदा नागरिकलाई झाडापखाला लाग्ने, पेट दुख्ने वा टाउको दुख्ने गर्छ । यसरी पार्टी प्यालेसमा पकाएको खानेकुराहरु सबै बासी, बिग्रिएको र गुणस्तरहीन हुने गर्छ । अहिले सरकारले पार्टी प्यालेसलाई छाडा छोडिरहेको छ ।
पार्टी प्यालेसमा पकाइने खानेकुराको पनि अनुगमन हुँदैन । बच्चादेखि बुढाबुढीले पार्टी प्यालेसमा प्लेट लिने बित्तिकै त्यसको पनि पैसा लिइन्छ । थोरै खानेकुरा खाए पनि पैसा भने धेरै तिर्नुपर्छ । पार्टी प्यालेसमा पाकेका खानेकुरा गुणस्तरीय छन् वा छैनन् भनेर नापतौल विभागले चेकजाँच पनि गर्दैन । पार्टी प्यालेसमा एकले भोज लगाउने र अर्कोले खाने हुँदा यस्ता गुणस्तरहीन खानेकुराका बिषयमा कसैले विोधसमेत गर्दैनन् । जसले गर्दा पार्टी प्यालेस सञ्चालकले नागरिकलाई झन् बढी ठग्न पल्किरहेका छन् ।
त्यसैगरी कति पार्टी प्यालेस दर्ता बिनै सञ्चालन भएर सञ्चालन पैसा कमाइरहेका छन् भने कतिले राज्यलाई कर तिर्नुपर्छ भनेर लेखापरीक्षण गर्दा घाटामा गएको देखाएर राजस्व छल्ने काम गरिरहेका छन् । पार्टी प्यालेसमा नागरिकलाई खुवाउनका लागि राखिएको मदिरा पनि नक्कली वा गुणस्तरहीन हुने गर्छ । तर पैसा भने सक्कलीको भन्दा पनि बढी लिने गरिन्छ । पार्टी प्यालेस व्यवसाय गर्दा धेरै फाइदा हुने वा लगानी गरेको दुई–तीन वर्षमा नै साँवा उठ्ने भएकाले अहिले पार्टी प्यालेस खोल्ने होडबाजी चलिरहेको पाइन्छ ।
पहिले पैसा हुँदा घरमा र पैसा नहुँदा मठमन्दिरमा विवाह गर्ने चलन थियो । पहिले राती मात्रै बिहेको कर्मकाण्ड हुन्थ्यो । अहिले त्यो चलन नै हराइसकेको छ । के यसले नेपाली संस्कृतिमा केही असर परेको छैन ? हाम्रो चालचलन र संस्कृति मासिँदै त गएको छैन ? पार्टी प्यालेसमा कार्यक्रम गर्दा नागरिकले महंगो पैसा तिर्नुपर्छ । पहिले भोजदेखि विवाहसम्म घरमै गरिन्थ्यो । आफन्त, इष्टमित्र, र छरछिमेकलाई घरमै बोलाएर बिहे, ब्रतबन्ध लगायतका धार्मिक संस्कारका कार्यक्रम गरिन्थ्यो । अहिले यस्ता परम्परा हराउँदै गएका छन् ।
तीन दशक अघिसम्म भक्तपुर, ललितपुर र काठमाडौं पुरै खुला थियो । उपत्यकाभन्दा बाहिरी जिल्लामा पनि धेरै खुला जग्गा तथा ठाउँहरु थिए, अहिले ती खाली जग्गा र खेतीयोग्य जमिनमा सबै घर नै घर बनेका छन् । नागरिकले दुईदेखि तीन आना जग्गामा घर निर्माण गरेका छन् । थोरै वा तीन आना जग्गामा पाँच तलाको घर निर्माण गरेर एक फल्याटमा मात्र आफू बसेर अरु सबै भाडा लगाउने चलन वा प्रवृति बढ्दो छ । घर सानो भएकाले वा खाली ठाउँ नहुनाले गर्दा पनि घरमा विवाह, ब्रतवन्ध र भोजभतेर गरिँदैन ।
यसले गर्दा पनि पार्टी प्यालेस व्यवसाय निकै फस्टाएको छ । अहिले घरधनीले धार्मिक संस्कारका कार्यक्रम वा आफ्नै छोराको ब्रतवन्ध गर्नुपरेमा पार्टी प्यालेसमा जार्नुपर्ने बाध्यता छ । पार्टी प्यालेसमा भोज लगाउँदा अरुको देखासिकी वा विलासी खर्च गर्ने प्रवृति बढिरहेको छ । जसले गर्दा नागरिक भोजका लागि वा अरुलाई देखाउनका लागि ऋण लिएर, घरजग्गा धितो राखेरै भए पनि पार्टी प्यालेसमा भोजभतेर गर्छन् । के यसले नेपाली संस्कृतिमा केही असर परेको छैन ? यसले गर्दा कतै हाम्रो चालचलन र संस्कृति मासिँदै त गएको छैन ?
संस्कृतिले हामीलाई राम्रा ज्ञान दिने गर्र्छ, तर संस्कृतिको नाममा विकृति फैलिरहेको छ । हामी कहिलेसम्म अरुको देखासिकी गरेर बस्ने ? हामी नेपाली पार्टी प्यालेसमा ठुलाठुला भोज लगाउन सक्छौं, तर आर्थिक अवस्था कमजोर भएर बाटोमा मागेर बसेको नागरिकलाई केही दिन सक्दैनौं, हामीसँग पाँच पनि रुपैयाँ हुँदैन । तर पार्टी प्यालेसमा आफन्तलाई देखाउनकै लागि लाखौं रुपैयाँ खर्चेर भोजभतेर गर्न हामी पछि पर्दैनौं । देखासिकीमा लागेर घरखेत बेचेर र ऋण लिएर कहिलेसम्म भोजभतेर लगाउने ?
के यो राम्रो कुरा हो ? तपाईहरु आफैं मूल्याङ्कन गर्नुस् । अबको दिनमा पार्टी प्यालेसमा झन् बढी भीडभाड हुनेछ । यो देशमा पैसा हुनेले मात्र विवाह, ब्रतवन्ध र भोजभतेर लगायतका कार्यक्रम गर्न सक्नेछन् । सानो कार्यक्रमका लागि पार्टी प्यालेसमै धाएर भोजभतेर लगाउँदा धनीका छोराछोरीको मात्र विवाह हुने र गरिबका छोराछोरी अविवाहित हुने अवस्थाको सिर्जना भइसकेको छ । पार्टी प्यालेसले गर्दा नेपाली समाजमा ठुलाठुला बेथितिहरु सिर्जना भइरहेका छन् ।
त्यसैगरी पार्टी प्यालेस सञ्चालकहरु सरकारले बनाएको मापदण्ड तथा कानुन मान्दैनन् । घनाबस्ती र बाटोको छेउछाउमा पार्टी प्यालेस सञ्चालन हुँदा नागरिकले हामीलाई समस्या भयो, ट्राफिक जाम भयो, दुर्घटनाको जोखिम बढ्यो भन्दा सरकारका कुनै पनि निकायले सुन्दैनन् । उनीहरु तेल हालेर बसिरहेका छन् । यसरी सञ्चालनमा रहेका यस्ता पार्टी प्यालेसलाई हटाउनुपर्छ भनेर वडा र नगरपालिकामा नागरिकले उजुरी दिँदा पनि अहिलेसम्म वडाध्यक्ष र मेयरले यिनीहरुलाई हटाउनका लागि केही प्रयाससमेत गरेका छैनन् ।
नगरिकको गुनासो वा उजुरी आउँदा पनि वडाध्यक्ष र मेयरहरु पार्टी प्यालेस सञ्चालकसँग पैसा खाएर कारबाही गर्दैनन् र सञ्चालनमा रोक लगाउन सक्दैनन् । त्यसैगरी बाटो छेउछाउमा सार्वजनीक जग्गा मिचेर जथाभावी सञ्चालनमा रहेका पार्टी प्यालेसमा नागरिक भोज खान आउँदा मोटरसाइकल तथा गाडीहरु पनि बाटोमै पार्किङ्ग हुन्छन्, जसका कारण ट्राफिक जाम भएर दुर्घटना निम्तिने हुँदा बाटोका छेउछाउमा सञ्चालनमा रहेका पार्टी प्यालेसलाई हटाउनुपर्ने नागरिकको माग छ ।
एउटा पार्टी प्यालेस व्यवसाय सञ्चालन गर्नका लागि कतिले जग्गा भाडामा लिन्छन् भने कतिले जग्गा किनेर सञ्चालन गर्ने गर्छन् । एउटा पार्टी प्यालेस खोल्नका लागि २ करोडदेखि ५० करोडसम्म लगानी भएको पाइन्छ । तर लगानी गरेबापत पनि यिनीहरुले राज्यलाई कर तिर्दैनन् । एउटै पार्टी प्यालेसले दैनिक दुई लाखदेखि १० लाखसम्मको व्यापार गर्छ, तर राजस्व तिर्दैन । पार्टी प्यालेसमा काम गर्न बुढाबुढी, बच्चा तथा महिलालाई राख्ने गरिन्छ । उनीहरुलाई पनि थोरै तलब दिएर वा खाएको भरमा काममा लगाइन्छ ।
हाल सञ्चालनमा रहेका पार्टी प्यालेसहरु ४ आनादेखि १ रोपनी जग्गामा सिमित छन् । सञ्चालनमा रहेका पार्टी प्यालेसहरु सबै घनाबस्तीको बीचमा वा बाटोको छेउछाउमा सञ्चालनमा रहेका छन् । केही कारणले पार्टी प्यालेसमा खाना पकाउँदा आगो लागेमा आसपासका नागरिकको जीउधनमा क्षति पुग्ने खतरा उत्तीकै छ । अहिले उपत्यकाभित्र सञ्चालनमा रहेका पार्टी प्यालेस बन्द गर्ने वा उचित मापदण्ड तयार गरी त्यस्ता पार्टी प्यालेसलाई तत्कालै उपयुक्त स्थानमा सार्नुपर्ने नागरिकको माग छ ।
राजनीतिक दलको आडमा पार्टी प्यालेस सञ्चालकले राज्य र नागरिकलाई ठगिरहेका छन् । अब सरकारले आवश्यक मापदण्ड तयार गरी पार्टी प्यालेसमा बनाएका खानेकुराको अनुगमन गरी मूल्य निर्धारण पनि गर्नुपर्छ । साथै पार्टी प्यालेसमा हुने कार्यक्रमका लागि पनि कार्यक्रम हेरेर मूल्य निर्धारण गरी मापदण्डको पूर्णपालना गराउनुपर्छ । यसो गरेमा नागरिक ठगिनबाट बच्ने छन् र राज्य पनि करबाट वञ्चित हुने छैन । साथै सरकारले पार्टी प्यालेसमा अनुगमन गरी मापदण्ड विपरीत सञ्चालनमा रहेकालाई बन्द गर्नुपर्छ ।
अब हरेक नागरिकमा ऋण लिएर वा घरजग्गा धितो राखेर पार्टी प्यालेसमा भोजभतेर र कार्यक्रम गरेर फजुँल खर्च गर्नुहुँदैन भन्ने चेतना आउन निकै जरुरी छ । पार्टी प्यालेसले सञ्चारकर्मीलाई विज्ञापन दिएर नागरिकलाई ठग्ने गरिरहेका छन् । पार्टी प्यालेस सञ्चालकहरु अर्र्बपति बन्दै गएका छन्, नागरिक ठगिँदै गएका छन् र भोजभतेर खाने पार्टी नागरिक बिरामी भएर अस्पताल धाउनुपर्ने अवस्था छ । अब पार्टी प्यालेसका विरुद्धमा नागरिक बोल्ने र सञ्चारकर्मीले कलम चलाउने समय आइसकेको छ ।
त्यसकारण सरकारले अब समयमै पार्टी प्यालेसको ठगीधन्दालाई नरोकेमा नागरिक कङ्गाल र सञ्चालक मालमाल हुने अवस्थाको सिर्जना हुनेछ । अब नागरिकले पनि अरुको देखासिकी गर्न छोड्नुपर्छ । किनभने अरुको देखासिकी गर्दा समाजमा वा हाम्रो नयाँ भावी पुस्ताहरुले विलासी सस्ंकृति अपनाउने छन् । फर्जुल खर्चले गर्दा पछि आफैलाई नोक्सान हुने गर्दछ र यसले गर्दा समाज र राष्ट्रमा बेथितिको बाटोमा धकेलेर समाजलाई विकृति, विसंगती र अराजकतातर्फ लैजाने खतरा देखिन्छ ।
रुषा थापा ।