प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ बैठकको कार्यसूची
सत्यपाटी । काठमाडौँ ।
प्रतिनिधि सभाको बैठक आज मंगलबार बस्दै छ । बैठक मंगलबार बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने छ ।
मंगलबारको बैठकमा चुनावमा महिलाहरुको उम्मेदवारी बढाउनेबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्ने सम्भावना रहेको छ ।
दोस्रो जनआन्दोलन २०६२/०६३ ले स्थापित गरेको समावेशी समानुपातिक सहभागिताको विषयलाई संविधानले स्वीकार गरेको परिवेशमा महिलाको उल्लेखनीय सहभागिता नभएकाले आगामी निर्वाचनमा प्रदेश सभा र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन आवश्यक भएको भन्दै आजको बैठकमा जरुरी सार्वजनिक महत्वको विषयमाथि विभागीय मन्त्रीको ध्यानाकर्षण गराउने सम्भावित कार्यसूची रहेको छ ।
यसैगरी, सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रतिनिधि सभा नियमावली बमोजिम गठित विभिन्न समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।
यस्तै, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम बाधा अड्काउ फुकाउ आदेश सदनमा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
सत्यपाटी । काठमाडौँ ।