सूचनाको शक्ति - The Power Of Information

        

मंसिर ४ को निर्वाचन

यस्तो हुनेछ संघ र प्रदेश निर्वाचनको कार्यतालिका

स्वीकृत हुँदै समानुपातिकतर्फको कार्यक्रम 

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका बमोजिम असोज २३ गते पहिलो हुने निर्वाचित हुने प्रणाली प्रत्यक्षतर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता हुनेछ ।

आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन व्यवस्थापनका लागि आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ ।कार्यतालिका अनुसार मङ्सिर ४ गतेदेखि समानुपातिक र प्रत्यक्षतर्फको मतगणना सुरु भएसँगै निर्वाचन कार्यक्रम टुङ्गिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।

उक्त अवधिका लागि आयोगले ७६ वटा कार्यक्रम तय गरेको छ । यद्यपि तालिकामा केही संशोधन हुनसक्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए । प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन हुनेछ त्यसैका आधारमा असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु हुनेछ ।

मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्नेछ । जनक शिक्षा सामग्री केन्द्रले प्रत्यक्षतर्फको मतपत्र छाप्न करिब एक महिना लाग्ने जनाएको छ । घटस्थापनाको भोलिपल्ट अर्थात् असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्ति हुनेछ । असोज १९ गते विजयादशमी परेको छ ।

असोज २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछन् ।

असोज २८ देखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार मङ्सिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ । मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ ।

स्वीकृत हुँदै समानुपातिकतर्फको कार्यक्रम

समानुपातिकतर्फको निर्वाचन कार्यक्रम स्वीकृत हुने क्रममा छ । समानुपातिक निर्वाचन प्रणालीका लागि आयोग परिसरमै निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।

आयोगका अनुसार साउन ३० गते नै निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । निर्वाचन प्रयोजनका लागि साउन २२ गतेदेखि ३१ गतेसम्म दल दर्ता हुँदैछ । दर्ता भएका दलले असोज २ र ३ गते उम्मेदवारको बन्दसूची बुझाउने छन् ।

आगामी चुनावबाट प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभातर्फ ३३० जनप्रतिनिधि निर्वाचित हुनेछन् । समानुपातिकतर्फ ११० जना प्रतिनिधि सभा सदस्य तथा २२० जना प्रदेश सभा सदस्य निर्वाचित हुनेछन् ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलवार ०८:३९