सूचनाको शक्ति - The Power Of Information

        

सरकारले असमान रुपमा तलबमान बढाएको विरोधमा देशभरका नासु आज बिदामा बस्ने

सरकारले असमान रुपमा तलबमान बढाएको विरोधमा  देशभरका नायब सुब्बा (नासु) हरु आज बिदामा बस्ने  भएका छन् ।

बजेटमा घोषणा गरेभन्दा असमान ढंगले सरकारले कर्मचारीको तलब बढाएको भन्दै केही दिन यता आन्दोलन गर्दै आएका नासुहरु आज बिदामा बसेर सांकेतिक रुपमा सरकारको विरोध गर्ने भएका हुन् ।

काठमाण्डौ भक्तपुर र ललितपुरका नासुरुहरुले हिजो  सिहंदरबारको अर्थ मन्त्रालयमा भेला भएर असमान तलब वृद्धिको विरुद्ध आन्दोलन गरेका थिए ।

 हिजो पेन डाउन गरेर काम ठप्प बनाएका उनीहरु आज बिदामा बस्न लागेका हुन् । असमान तलब वृद्धिका विरूद्ध र प्रस्तावित संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने मागका सन्दर्भमा आन्दोलन गरिरहेको नेपाल निजामती कर्मचारी युनियनको भनाइ छ ।

युनियनका महासचिव जनक रावलले मर्यादाक्रम मिलाउने नाममा सरकारले माथिल्लो तहका कर्मचारीको बजेटमा घोषणा गरेभन्दा ९ प्रतिशतसम्म बढी बनाउन प्रस्ताव गरेकोले विरोध गर्नुपरेको बताउनुभयो ।

बजेटमा व्यवस्था गरेभन्दा बढी बढाउने गरिएको निर्णय फिर्ता लिइएको सरकारले जनाइसकेको भए पनि  बजेटमा घोषणा गरिएअनुसार १५ प्रतिशत तलब बढाउँदा पनि माथिल्ला र तल्लो तहका कर्मचारीबीच तलबमानमा धेरै फरक परेकोले आन्दोलन गर्नुपरेको बताउनुभयो ।

चालू वर्षको बजेटबाट सरकारले कर्मचारीको तलब १५ प्रतिशतले बढाएको थियो ।  तर अर्थ मन्त्रालयले शाखा अधिकृतभन्दा माथिका कर्मचारीको तलब २४ प्रतिशतसम्म बढाउन प्रस्ताव गरेपछि आफूहरुलाई अन्याय भएको भन्दै नासुहरुले आन्दोलन थालेका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलवार ०८:३५