सूचनाको शक्ति - The Power Of Information

        

‘नागरिकतामा फ्याउरो, सिँगाने, कुकुर नाम राख्ने हाकिमका हात भाँच्नपर्छ’

नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य भुवनबहादुर सुनारले दलित समुदायका व्यक्तिहरुको नागरिकतामा अपमानपूर्वक नाम राख्ने सरकारी अधिकारीको हात भाँच्नुपर्ने बताएका छन् ।

सोमबारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद सुनारले त्यस्तो नाम लेखिएको ठाउँमा कसरी हस्ताक्षर गरेको ? भन्दै हात भाँच्नुपर्ने बताएका हुन् । ‘विभिन्न जिल्लामा दलित समुदायका व्यक्तिको नागरिकतामा कुकुर, फ्याउरो, सिँगानेजस्ता नाम राखेर नागरिकता दिइएको भन्दै उनले आपत्ति जनाए ।

‘यस्तो पनि नागरिकता हुन्छ ? यस्तो पनि लेख्न मिल्छ ? ति हाकिमहरू, ति फटाहाहरु, यो देशमा एकथरि मान्छेलाई कति घृणा गर्न उद्यत हुँदा रहेछन् त ? कति अपमान गर्न उद्यत हुँदा रहेछन् त ?’ उनले भने, ‘नागरिकता लिन जाँदा ति हाकिमहरूले केरकार गर्ने, सोधपुछ गर्ने गर्दछन् । त्यो बेलामा पनि गरे होलान् । किन यस्तो नाम लेखेको भनेर किन भनेनन् ? दूरदराजका जनतालाई नागरिकता दिँदा त्यस्तो लेख्न मिल्छ ? त्यस्तो कागजमा सही गर्नेको हात भाँच्नुपर्छ कि पर्दैन ? अब यसको जिम्मेवार को हो ?’

उनले तत्काल नागरिकता सच्याउन पनि सरकारको ध्यानाकर्षण गराए । ‘यी नागरिकता सच्याउन म गृहमन्त्रीसँग अनुरोध गर्दछु । यो तुरुन्त सच्याइनुपर्छ,’ उनले भने । सुनारले यस्तो त्रुटीहरूको खोजि गर्न राष्ट्रिय दलित आयोग र दलित अभियन्ताहरुलाई पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार १७:२०