डुडुवा गाउपालिकाको १२ औं गाउँसभामा गणपुरक संख्या नपुगेर स्थगित भएको छ । गाउँपालिका अध्यक्षद्धारा आह्वान गरिएको गाउँसभामा नेकमा एमाले र जनता समाजवादी पार्टीबाट निर्वाचित बहुमत अनुपस्थित हुँदै आएपछि गाउँसभा नै अझै अनिश्चित भएको छ ।
लुम्विनी प्रदेश सरकारको गाउँ–नगरसभा सञ्चालन सम्बन्धी व्यवस्था गर्न बनेको ऐन २०७६ को परिच्छेद ३ दफा ७ (१) को प्रावधान बमोजिम १२ औं गाउँसभाको प्रथम बैठकमा बहुमत २६ जना सदस्य अनुपस्थित भएपछि स्थगित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताए ।
उनका अनुसार आइतबार दिउँसो बोलाइको बैठकमा बहुमत सदस्य उपस्थित नभएपछि साँझ ५ः३० बजे बैठक स्थागित भएको सूचना जारी गरिएको हो । गाउँसभा बैठकको जानकारी पाएका डुडुवाका नागरिक चासोका साथ उल्लेख्य सहभागी भएको पनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले जानकारी दिए ।
त्यस अवसरमा उपस्थित भएका गाउपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जनताका हितमा काम गर्ने भन्दै जनताको हितविपरित कुनै पनि निर्णय नगर्ने स्पष्ट पारे । सभामा पत्रकारहरु समक्ष बोल्दै अध्यक्ष चौधरीले कानून विपरित कुनै पनि निर्णय तथा कार्य नगर्ने भन्दै विपक्षी दलका पदाधिकारीहरु विभिन्न बखेडा झिकेर विवाद गरेको बताए ।
जनताले चुनेका जनप्रतिनिधीले काम गर्ने बातावरण नबनाउँदा अनाहकमा जनताले दुःख पाउने भन्दै निकासका लागि अघि बढनुपर्नेमा जोड दिदै समस्या समाधानका लागि तत्काल प्रयत्न गर्ने अध्यक्ष चौधरीले बताए । गाउँसभा बस्न नसकेपछि गाउँपालिकाले नया आर्थिक वर्ष २०७९–०८० का वार्षिक निति तथा कार्यक्रम र बजेट समेत ल्याउन सकेको छैन । यसले योजना लगायतका कार्यक्रम प्रभावित भएका छन् ।
सत्यपाटी । बाँके ।