सूचनाको शक्ति - The Power Of Information

        

भ्रष्टाचार अभियोगमा १० जनालाई मुद्दा

सडक निर्माणका क्रममा साढे २१ लाख भ्रष्टाचार गरेको आरोपमा हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टेकदत्त प्याकुरेलसहित चार जनाविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्याकुरेलसहित इन्जिनियर मकरध्वज शाही र असिस्टेन्ट सब–इन्जिनियर विनोद थापा र ठेकेदार गणेश भण्डारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

कर्मचारी र ठेकेदारको मिलेमतोमा अदानचुली वडा नं.१ स्थित थलाल्नादेखि कल्खेसम्म र वडा नं.४ स्थित लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा सरकारलाई हानी नोक्सानी पुर्याइ भ्रष्टाचार गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

कर्मचारीहरूलाई भ्रष्टाचार भएको रकम २१ लाख ४७ हजार ४९२ रूपैयाँ बिगो कायम गरी कैद र बिगो अनुसार जरिबानासहित बिगो असुल गर्न मागदाबी लिइएको अख्तियारका प्रवक्ता भण्डारीले बताए ।

उनीहरूले वास्तविक फिल्डमा भएको कामभन्दा बढी, नभए नगरेको काम देखाइ बदनियतपूर्वक गलत नापी किताब, अन्तिम बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने, पेश गर्ने र स्वीकृतिका लागि सिफारिश गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

ठेकेदार भण्डारीले भने आफूले गैरकानूनी लाभ लिने र गाउँपालिकालाई हानी पु¥याउन वास्तविक कामभन्दा बढी भुक्तानी लिएकाले २१ लाख ४७ हजार ४९२ रूपैयाँ बिगो कायम गरी जफत हुन र कैद वा बिगोबमोजिम जरिवाना गर्न मागदाबी अख्तियारले लिएको छ ।

यसैबीच, मुगुमा पर्यटन पदमार्ग अनियमितता गर्ने तत्कालीन वन अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । ६ लाख ३२ हजार ६७७ रूपैयाँको अनियमितता भएको भन्दै अख्तियारले भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो ।

मुगुका तत्कालीन डिभिजनल वन अधिकृत भरतबहादुर बुढा थापा, सब–इन्जिनियर गोरसिंह बडुवाल, असिष्टेन्ट सब–इन्जिनियर हिमालकुमार मल्ल, उपभोक्ता समितिका अध्यक्ष मानबहादुर शाही, सचिव धमेन्द्र शाही र कोषाध्यक्ष कुशुमदेवी शाहीविरुद्ध मुद्दा दर्ता भएको हो ।

कर्णाली प्रदेश सरकारमार्फत आर्थिक वर्ष २०७६–०७७ मा छाँयानाथ रारा नगरपालिका–७ टोप्ला गाउँमा पर्यटन पदमार्गका लागि विनियोजित बजेटमा अनियमितता भएको भन्दै अख्तियारले भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो । कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीबाट भ्रष्टाचार भएको रकम बराबरको बिगो कायम गरी असुल गर्न र कैद र जरिबानासमेत अख्तियारले मागदाबी गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतवार १९:४२