वर्षातको समयमा दैनिकजसो परेको पानीले जिल्लाको ग्रामीण सडक अवरुद्ध हुँदा स्थानीयलाई स्वास्थ्य लगायत अन्य सेवा लिन समस्या भएको छ ।
खप्तडछान्ना गाउँपलिकाको गोरखालीदेखि जयपृथ्वी नगरपालिकामा पर्ने जिल्ला सदरमुकाम चैनपुरसम्म पुग्ने बाटो ०७८ असोज ३१ गतेदेखि अवरुद्ध हुँदा अत्यावश्यक स्वास्थ्य सेवा लिनबाट स्थानीय वञ्चित भएको खप्तडछान्ना गाउँपालिका–५ की स्थानीय कल्पना उपाध्यायले गुनासो गरेकी छन् ।
खप्तडछान्ना गाउँपालिका–४ मेल्तडीका गौतम रोकायाको खेल्ने क्रममा गत सोमबार साँझ दायाँ हात भाँचियो । भाँचिएको हातको उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा सम्भव नहुने भएपछि मेल्तडीबाट सात घण्टा हिँडेर मंगलबार उनलाई बोकेरै चैनपुरस्थित जिल्ला अस्पतालमा पुर्याइयो ।
जिल्ला अस्पतालले उनको उपचार यहाँ नहुने भन्दै डडेल्धुरा वा धनगढी जान सुझाव दियो । बाढीले बाटो अवरुद्ध भएको सडक झण्डै एक बर्ष बितिसक्दा पनि मर्मत नहुँदा स्थानीय नागरिकले समस्या भोग्नुपरेको गौतमका मामा लोकेन्द्र रावलले बताए । उनले सडक मर्मत नहुँदा बिरामीलाई स्टेचरमा बोकेरै अस्पताल पुर्याएको बताए ।
उनले भने, ‘बाढीले अवरुद्ध भएको सडक मर्मतमा कसैले चासो दिँदैनन् । गाउँमा कोही बिरामी भए उपचारका लागि स्टेचरमै बोकेर करिब सात घण्टा पैदल यात्रा गरेर जिल्ला अस्पताल चैनपुर लैजानुपर्ने बाध्यता छ ।’ स्थानीय सरकारले पनि सडक मर्मतका लागि चासो नदेखाएकाले स्थानीय नागरिकले सास्ती भोग्नुपरेको उनको गुनासो छ ।
यस्तै खप्तडछान्ना गाउँपालिका–५ सुतारी गाउँका १३ वर्षीय सुशील सार्कीको टाउकोमा पानी जमेपछि साउन ८ गते उपचारका लागि भारतको दिल्ली जानुपर्ने भयो । बाटो बिग्रिएका कारण गाडी बोलाउने अवस्था थिएन । टाउको धेरै दुख्न थालेपछि बिहान स्टेचरमै बोकेर बस स्टेसनसम्म पुग्नुपरेको थियो ।
उनीहरू मात्र होइनन्, वर्षातका कारण खप्तडछान्नामा हिँड्ने बाटोसमेत बाढीले कटान गर्दा स्थानीयलाई स्वास्थ्य संस्था लगायत अन्य ठाउँमा जान समस्या हुँदै आएको छ । सडक मर्मत नहुँदा सुत्केरी, वृद्धवृद्धा तथा बालबालिकाले समेत स्वास्थ्य समस्या भएको बेला सहजै सेवा लिन नपाएको खप्तडछान्ना गाउँपालिकाका स्थानीय भोटे सार्कीले जानकारी दिए ।
गत असोज ३१ देखि कार्तिक ३ गतेसम्म आएको बर्षासँगै जडारीगाडमा आएको बाढीले सडक अवरुद्ध भएपछि स्थानीयलाई अत्यावश्यक सेवा लिन समस्या भएको सार्कीले बताए । जेठमा अलिअलि मर्मत भएको सडक बर्षापछि फेरि अवरुद्ध भएकाले आवतजावतमा निकै कठिनाइ हुने गरेको खप्तडछान्ना गाउँपालिका–७ का स्थानीय ज्ञानबहादुर चौहानले बताए ।
‘यहाँ लामो समयदेखि गाडी चल्न सकेका छैनन्,’ उनले भने, ‘बस्तीमा कोही बिरामी भएमा अहिले अस्पतालसम्म पुर्याउन कठिनाई हुने गरेको छ । विद्यार्थीहरुलाई विद्यालय जान असहज भएको छ ।’ सम्बन्धित निकायलाई बारम्बार आग्रह गर्दै आए पनि स्तरवृद्धिको काम हुन नसकेकाले समस्या बढ्दै गएको उनको भनाई छ ।
खप्तडछान्ना गाउँपालिका उपाध्यक्ष विष्णु थापाले सडक अवरुद्ध हुँदा स्थानीयलाई समस्या भएको स्वीकार गरे । उनले भने, ‘गाउँपालिकाभित्र चार–पाँच स्थानमा खोलाले सडक कटान गरेर सडक अवरुद्ध पारेको छ । अहिले मर्मत गरेपछि खोलाले धार परिवर्तन गरेर बगाइहाल्छ । बर्षा रोकिएपछि असोजबाट मर्मत सुरु गर्छौ ।’ बाढीले हिँड्ने सडक बगाउँदा युवाहरु मिलेर विभिन्न ठाउँमा अवरुद्ध भएको बाटो मर्मत गर्दै आएका छन् ।
सत्यराज सिंह । बझाङ ।