पोखराको हरियोखर्क अस्पतालस्थित प्यालिएटिभ केयरको बेड नं. बी २०० मा भेटिन्छन्, कोलिन फिलिप स्मिथ । समय हुने बित्तिकै कि पढ्ने, कि लेख्ने, कि डुल्न हिड्नु हुने कोलिन अहिले अस्पतालको बिस्तरामा पेटसम्बन्धी रोग ग्यास्ट्रोइनटेस्टनल स्ट्रोमल ट्यूमरसँग लड्दै छन् ।
हिँडेर एक्लै नेपालका अधिकांश जिल्ला पुगेका उनलाई अहिले बिस्तराबाट उठ्न हिँडडुल गर्न सहाराको आवश्यकता पर्छ । उमेरले ८६ वर्ष पुगे । शरीरले साथ दिएको समयमा अहिले अस्पतालको बिस्तराबाट चिया पिउन क्यान्टिनसम्म पनि पुग्छन् । बिस्तरा छेउको टेबलमा रहेको बाइबल पनि पढ्छन्, धेरै बोल्दैनन् ।
त्यसबाहेकको अधिकांश समय निदाउँछन् । दुई महिनादेखि अस्पतालमा रहेका कोलिन स्मिथको दिनचर्या अहिले यस्तै छ । उनको यथार्थ नाम कोलिन फिलिप स्मिथ भए पनि यो नामले उनलाई चिन्ने र बोलाउने कम छन् । किनकी उनलाई चिन्नेहरूले बोलाउने नाम ‘पुतली बाजे’ हो । ‘पुतली बाजे’ नेपालमा बसेको ५६ वर्ष भइसकेको छ ।
गोरो वर्णको विदेशी, सेतो दारी पालेका, साधारण सर्ट र पाइन्ट लगाएका, नेपाली भाषा बोल्ने र बुझ्ने, पुतलीका फोटोहरू भएको पोस्टकार्ड लिएर पोखराका सडकहरूमा ओहोरदोहोर गरेका देख्नेहरूले चिन्न थालेपछि नाम राखिदिए ‘पुतली बाजे’ । यो समयमा कोलिनले नेपालमा पुतलीको पहिचान, खोज, अध्ययन र सङ्कलनमा महत्वपूर्ण योगदान पुर्याएकाले नै आज पुतलीको खोजमा नेपालको नाम पनि विश्वको नक्सामा चिनिएको छ ।
गणितमा अब्बल स्मिथ शिक्षण गर्न जब नेपाल आए
बेलायतमा जन्मिएका कोलिनको सानै उमेरदेखि नै रुचि र अध्ययनको विषय गणित थियो । विद्यालयदेखि स्नातकोत्तर तहसम्मको अध्ययनमा उनले गणितलाई नै आफ्नो अध्ययनको मूल विषय बनाए । त्यसलगत्तै उनले एक विश्वविद्यालयमा सहायक लेक्चररको रुपमा सन् १९५९ मा गणितको अध्यापन गराउन थाले । सन् १९६६ मा युनाइटेड मिसन टू नेपालबाट स्मिथ शिक्षण कार्यका लागि बेलायतबाट नेपाल आए ।
पोखरा, गोरखा र काठमाडौँका विभिन्न विद्यालय र क्याम्पसमा उनले विज्ञान र गणित विषय पढाए । गोरखाको विद्यालयमा पढाउँदा उनको विद्यार्थी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र दिवङ्गत चिकित्सक उपेन्द्र देवकोटा पनि हुन् । शिक्षणको क्रममा उनले आफ्नो रुचिको रुपमा पुतलीको सङ्कलन गर्न थाले । उनका मामाले बेलायतमा पुतलीको सङ्कलन गर्थे । सानै उमेरमा मामाले सङ्कलन गरेको पुतली देख्दा उनी पनि पुतलीतर्फ आकर्षित भएका थिए ।

नेपालमा आएपछि यहाँ थुप्रै रङ्गको पुतली उनले देखे । जसले गर्दा शिक्षणबाट समय मिल्ने बित्तिकै उनले आफ्नो रुचिका रुपमा पुतली सङ्कलनको काम थाले । पुतलीको मोहले नै स्मिथलाई नेपाल छाडेर जान दिएन । शिक्षणका लागि आएका स्मिथले पढाउने काम विस्तारै छोड्दै पुतलीको अध्ययनमा समय दिन थाले । बेलायतमा सन् १९८० मा कोलिनका पिता बितेपछि उनी बेलायत फर्कएका थिए ।
त्यसपछि आमा बिरामी भएपछि पाँच वर्ष आमाको हेरचाहमा बेलायतमै बसे । सन् १९८६ मा आमा बितिसकेपछि ‘पुतली बाजे’ नेपाल फर्किए । त्यसपछि निरन्तर रुपमा उनले आफ्नो जीवन नेपालमै पुतलीको खोज, अनुसन्धान र सङ्कलनमा बिताए । काठमाडौँ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पिएन क्याम्पस, एक्याप, इन्टरनेसनल माउन्टेन म्युजियम, फरेस्ट्री क्याम्पस, लिर्बड लगायतमा पुतलीसँग सम्बन्धित विषयमा रहेर उनले काम गरे ।
पुतली बाजे र परियार समुदाय
नेपाल आएदेखि सन् १९७२ सम्मको समयमा उनले विभिन्न विद्यालयमा शिक्षणसँगै पोखराको गण्डकी बोर्डिङ स्कुलको स्थापनाको लागि पनि काम गरे । दुई वर्षसम्म सो विद्यालयमा पढाएका स्मिथ धेरै समय पोखरामा नै बसे । पहिले पोखरा नदीपुर क्षेत्रमा भाडामा बस्ने स्मिथ केही समयपछि पोखरा लामागाउँमा सानो घर बनाएर बसे ।
स्मिथ बसेको सो क्षेत्रमा परियार समुदायको बाहुल्यता थियो । उनले परियार समुदायको बच्चाहरूलाई पनि औधि माया गर्थे । उनले दशैँ तिहारको छुट्टिमा त्यहाँका १२, १३ वर्षका बालकहरूलाई रूपातालमा क्याम्पिङमा लैजान्थे । सो क्याम्पिङमा उनी पुतली सङ्कलन गर्ने र बालकहरूलाई पढाउथे । बालकहरू रमाइलो पनि मान्थे ।
सुरेन्द्र परियार त्यही बालकहरू मध्येका एक हुन् । कोलिनको प्रेरणा र सिकाइले उनी पनि पुतलीको अध्ययन र सङ्कलनमा आकर्षित भए । उनी अहिले पृथ्वी नारायण क्याम्पस पोखरामा रहेको अन्नपूर्ण नेचुरल हिस्ट्री म्युजियममा प्रमुखको रुपमा काम गर्दै छन् । सो म्युजियम पुतली सङ्ग्रहालयको उपनामले पनि चिनिन्छ, किनभने त्यहाँ पुतलीहरू सङ्कलन गरिएको छ ।
सुरेन्द्र भन्छन्, ‘उहाँले नै मलाई पुतलीको अध्ययन र सङ्कलनका लागि प्रेरणा दिनुभयो, सिकाउनुभयो । परियार समुदायप्रति उहाँको विशेष लगाव थियो । माया गर्नुहुन्थ्यो । हामीलाई क्याम्पमा लैजाँदा उहाँले नै पुतली सङ्कलनका बारेमा सिकाउनुहुन्थ्यो । उहाँले परियार समुदायका धेरैलाई सहयोग पनि गर्नुभएको छ ।’

मीन परियार
क्याम्पमा जानेमा उमेरले सबैभन्दा ठूलो हुन् मीन परियार । मीनको क्याम्पमा खाना पकाउने जिम्मा हुन्थ्यो । आमा नभएको मीनलाई स्मिथले आफ्नो घरको काम गर्नका लागि सघाउन भनेका थिए । सोही अनुरूप स्मिथसँग मीन बस्न थानेका थिए । र अहिलेसम्म पनि स्मिथको हेरचाहमा उनी हुन् । स्मिथ र मीनका बीचमा काममा सघाउने भनी सहमति भए पनि सम्बन्ध बाबुछोराको जस्तो भएको छ । बाहिरबाट देख्नेहरूले मीनलाई स्मिथको धर्म छोरा नै भन्ने गरेका छन् ।
स्मिथ पटक पटक बिरामी हुँदा अस्पताल लैजाँदा सम्बन्धमा छोरा नै भनेका छन्, मीनले । उनी भन्छन्, ‘म सानोदेखि सँगै बस्दै आएको अब यति वर्ष भइसक्यो । मेरो पनि छोराछोरी भइसकेको छ । अस्पताल ल्याँउदा सबै मैले गरेको छु । उहाँको बानी व्यहोरा सबै थाहा छ मलाई ।’ उनी स्मिथसँगै यतिबेला पनि अस्पतालमा छन् । बिरामी स्मिथको कपडा धुने, सरसफाइ गरिदिने, खाना खुवाउने सबै जिम्मा एक्लै मीनले गर्दै छन् । मीन स्मिथलाई ‘सर’ भनेर सम्बोधन गर्छन् ।
उनको सम्झनामा स्मिथ पहिले मिजासिलो स्वभावको थिए । उनले भने, ‘टीभी, फिल्म हेरेको मन नपराउने । आफूचाहिँ धेरैजसो समय पढ्नुहुन्थ्यो कि लेख्नुहुन्थ्यो । पुतलीको फोटोहरू खिच्नुहुन्थ्यो ।’ आफ्नो बाल्यकाल नै स्मिथसँग बितेको र स्मिथले पनि आफूलाई विश्वास गर्ने भएकाले उनको हेरचाह गर्नमा नै खुसी लाग्ने मीनले बताए । लामागाउँको घरमा सानो एक कोठामा कोलिन बस्छन् भने पछाडिको अर्को घरमा मीनको परिवार बस्दै आएका छन् ।
‘पुतली बाजे’ले गरेको पुतलीको अनुसन्धान र सङ्कलन
कोलिन स्मिथले पुतलीको खोज अनुसन्धान गर्नुअघि पनि नेपालमा अध्ययन हुने गरेको थियो तर विदेशबाट आएकाहरूले नेपालको पुतली सङ्कलन गर्थे र विदेश लैजान्थे । नेपालमा मात्र पाइने कतिपय पुतलीहरूका बारेमा बुझ्न अहिले विदेश जानुपर्ने अवस्था रहेको बताउँछन्, पुतली अध्ययन तथा खोजकर्ता सुरेन्द्र परियार ।
परियार भन्छन्, ‘कोलिनले नेपालको पुतली नेपालमा नै रहनुपर्छ भन्नुहुन्थ्यो । यी पुतली पनि नेपालको प्राकृतिक सम्पत्ति हो । यसलाई बाहिर लैजान नदिई नेपालमा नै अध्ययन अनुसन्धानका लागि काम गर्नुपर्छ भन्नुहुन्थ्यो ।’ त्यसैले नै उनको पहलमा नै पृथ्वी नारायण क्याम्पसको अन्नपूर्ण नेचुरल हिस्ट्री म्युजियममा स्मिथले सङ्कलन गरेका पुतली र निशाचर पुतली (मोथ्स) राख्न थालियो ।
हाल सङग्रालयमा नेपालका ६६० प्रजातीको पुतली र निशाचर पुतलीको सङ्कलन राखिएको छ । नेपालमा पुतली र निशाचर पुतली (मोथ्स)को संकलन पोखराको पीएन क्याम्पसमा रहेको एक्यापको संग्राहलय, पोखराकै अन्तर्राष्ट्रिय माउन्टेन म्युजियम र काठमाडौँ स्वयम्भुमा रहेको नेचुरल हिस्ट्री म्युजियममा रहेको छ । यी तीनै ठाँउमा पुतली सङ्कलन र अध्ययनमा कोलिनले महत्वपूर्ण योगदान दिएका छन् ।

नेपालमा पुतलीको सङ्कलन र अध्ययनमा कोलिनसँगै अर्को महत्वपूर्ण योगदान पुर्याएको व्यक्तिको नाम हो महेन्द्रसिंह लिम्बु । पुतलीविज्ञ लिम्बुले कोलिन स्मिथलाई पहिलो पटक सेन्ट जेभियर्समा कक्षा १० मा पढ्दा भेटेका थिए । उनलाई त्यतिबेला नै पुतलीप्रति रुचि थियो । लिम्बुले पुतलीबारे स्वअध्ययन गर्न थाले । उनले सन् १९९२ मा एक जापानी एनटोमोलिजस्ट (किरा, पुतलीबारे अध्ययन गर्ने) टोसिरो हरुतासँग निशाचर पुतली सङ्कलनको काम सुरु गरे ।
त्यसबीच हरुताले ५ वटा निशाचर पुतलीबारे किताब निकालिसकेका थियो । सन् १९९६ मा हरुताको मृत्यु भएसँगै निशाचर पुतलीको अनुसन्धानको काम केही समय रोकिएको थियो । यही समयमा स्मिथ र लिम्बु पुतली अध्ययनका क्रममा नजिकिन पुगे । उनले कोलिन सधैँ पुतलीको बारेमा एकोहोरो कुरा गरिरहने बताए । उनले कोलिनले गर्दा नै पुतलीको अध्ययन र सङ्कलनमा नेपालको नाम विश्वको नक्सामा चिनिएको बताए ।
उनले भने, ‘कोलिनले त्यतिबेला यो आवाज नराखेको भए अहिले पनि हाम्रा पुतलीहरू विदेशमा मात्र अध्ययन गरिन्थ्यो तर अहिले नेपालमा नै अध्ययन र सङ्कलन भएकाले विदेशीहरू पुतलीबारे नेपालमा अध्ययनमा आउन थालेका छन् ।’ उनको नजरमा कोलिन पुतली बाहेक एक साधारण जीवन जिउन मनपराउने मनकारी व्यक्ति हुन् ।
कोलिनलाई नजिकबाट चिनिएका लिम्बुले भने, ‘कोलिन सहयोगी, दीनदुःखीलाई माया गर्ने किसिमको व्यक्ति हुन् । तर उनको सिद्धान्त एक हातले दिँदा अर्को हातले थाहा नपाओस् भन्ने छ । जसले गर्दा उहाँले गर्नुभएको सहयोग बाहिर धेरैलाई थाहा छैन ।’ सन् २००९ मा कोलिन र लिम्बुले संयुक्त रुपमा बटरफ्लाई टुर्स नामको एक ट्रेकिङ कम्पनीको स्थापना गरेका थिए । जसको उद्देश्य ट्रेक गर्दै पुतलीको अध्ययन गर्ने थियो ।
कोलिन स्मिथले नेपालको पुतलीबारे ११ भन्दा बढी किताब र दर्जनौँ जर्नलहरू प्रकाशित गरेका छन् । उनको पहिलो किताब सन् १९८९ मा बर्टरफ्लाइज अफ नेपाल अर्थात् नेपालका पुतलीहरू भन्ने थियो । काठमाडौँभित्र पाइने पुतली, चितवन राष्ट्रिय निकुञ्जभित्र पाइने, अन्नपूर्ण संरक्षण भित्र पाइने पुतली लगायतका किताब प्रकाशित छन् । पीएन क्याम्पसभित्रको एक्याप सङ्ग्राहालयका प्रमुख परियारलाई कोलिनले पुतलीको सङ्कलन र अध्ययन गरि नेपाल र नेपालीका लागि ठूलो सम्पत्ति दिएको बताए ।
उनले भने, ‘कोलिन पुतलीका लागि नै जन्मिएको मान्छे हुनोहुँदो रहेछ । उहाँले गर्नुभएको काम नेपाल र नेपालीको लागि ठूलो सम्पत्ति हो । उहाँले साधारण मान्छेलाई बायोडाइभर्सिटिमा पुतलीको महत्व र यसको संरक्षणको आवश्यकताबारे ज्ञान दिनुभएको छ । त्यही भएर नै पुतली सङ्ग्रहालयमा देश विदेश देखि पुतलीबारे बुझ्न आउने गरेका छन् ।’

नेपाली नागरिक कोलिन स्मिथ
सन् १९९४ मा नेपाली नागरिक बन्नका लागि कोलिनले पहिलो पटक निवेदन दिएका थिए । त्यसपछि पनि पटक पटक निवेदन दिदाँ पनि उनलाई नागरिकता दिइएन । विसं २०७६ मा चौतर्फी दबाब दिएपछि भने उनलाई सम्मानार्थ नागरिकता प्रदान गरिएको थियो ।
आफ्नो देश बेलायत छाडेर नेपाललाई नै आफ्नो घर मानेका कोलिनको लागि त्यो दिन खुसीको दिन थियो । सधैँ नेपाली ढाका टोपीमा हिँड्ने कोलिनलाई सरकारले नेपालमा पाइने पुतलीहरूको अनुसन्धान र अध्यापनको क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भनी सम्मानार्थ नागरिकता प्रदान गरेको थियो ।
‘बिरामी भएँ, याद छैन’
कोलिन स्मिथले सुरुवातदेखि नेपाली भएर नेपालमा नै मर्ने इच्छा व्यक्त गरेका थिए । बेलाबखतमा आफ्ना नजिककाहरूलाई उनले आफ्नो लाश सेतीमा लगेर जलाइदिनु पनि भनेका छन् । उनी पेटको समस्याका कारण योभन्दा अघि पनि धेरैपटक अस्पतालमा भर्ना भएका छन् ।
यसपटक भने उनको अस्पतालको बसाइ लम्बिएको छ । अहिले ‘पुतली बाजे’लाई पहिलेको धेरै कुरा याद छैन । अंग्रेजी लवज भए पनि नेपाली बोल्ने उनको बोली लरबरिन थालेको छ । पहिलेको कुरा सोध्दा उनी आफूलाई याद नभएको बताउँछन् । उनले भने, ‘हिजो आजको कुरा याद छ पहिलेको याद छैन । बिरामी भएँ ।’
कहिलेकाँही न्युजिल्याण्डमा रहेका दाइसँग उनको कुरा हुने गरेको छ । अस्वस्थ भएका कारण उनी धेरै बोल्न चाहँदैनन् । अस्पतालको भुइँतला र ढोका छेउ नै उनको बिस्तरा छ । नजिकै हरियाली बगैँचा छ । बगैँचामा पुतली पनि आउने गरेका छन्, तर पहिले जसरी अब ‘पुतली बाजे’ पुतली छेउ जान र तिनलाई पढ्न सक्दैनन् ।
आइएनएस–स्वतन्त्र समाचार
दुर्गा रानामगर । पोखरा ।