सूचनाको शक्ति - The Power Of Information

        

भारतको उपराष्ट्रपतिमा जगदीप धनखर निर्वाचित

भारतको नयाँ उपराष्ट्रपतिमा जगदीप धनखर निर्वाचित हुनुभएको छ ।

हिजो भएको मतदानबाट पश्चिम बङ्गालका पूर्व गभर्नर धनखर नयाँ उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

उपराष्ट्रपतिका विपक्षी उम्मेदवार मार्गरेट अल्भालाई ३ सय ४६ मतले पराजित गर्दै धनखर उपराष्ट्रपतिमा चयन हुनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

खसेको सदर ७ सय १० मतमध्ये धनखरले ५ सय २८ र विपक्षी उम्मेदवार मार्गरेट अल्भाले १ सय ८२ मत प्राप्त गर्नुभयो । १६औँ उपराष्ट्रपति चुनावका लागि अध्यक्षता गरेका लोकसभाका महासचिव उत्तमकुमार सिंहले मतदानका लागि योग्य ७ सय ८० सांसदमध्ये ७ सय २५ सांसदले मतदान गरेकोमा पन्ध्र मत अमान्य भएको घोषणा गर्नुभयो ।

भारतमा नयाँ उपराष्ट्रपतिका लागि हिजो मतदान भएको थियो । धनखरलाई सत्तारूढ दल भारतीय जनता पार्टीको गठबन्धनले अघि सारेको थियो ।

यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतवार ०८:२१