सूचनाको शक्ति - The Power Of Information

        

कोशी ब्यारेजका ४२ ढोका खोलियो, जलस्तर बढेपछि ‘हाई अलर्ट’

फाइल तस्वीर ।

सप्तकोशी नदीको जलस्तर बढ्दै गएपछि कोशी ब्यारेजको ४२ वटा ढोका खुल्ला गरिएको छ ।

दिउँसो ४ बजे प्रतिसेकेण्ड २ लाख २३ हजार क्युसेक पानीको बहाव मापन भएपछि ब्यारेजको २८ वटा ढोका पूर्ण र १४ ढोका आंशिक रुपमा खोलिएको सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले थाहाखबरलाई जानकारी दिए ।

उनका अनुसार पानीको बहाव दिउँसो १ बजेसम्ममा २ लाख १७ हजार १७० क्युसेक प्रतिसेकेण्ड थियो । पानीको बहाव बढेसँगै ५६ मध्ये आंशिक र पूर्ण गरी ४२ ढोका खोलिएको प्रहरी उपरीक्षक काफ्लेले बताए । आज मध्यान्हसम्ममा ब्यारेजको २९ ढोका खुला गरिएको थियो ।

सप्तकोशी नदीको जलस्तर अस्वभाविक बढ्ने आँकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । पूर्वी भेगमा जारी अविरल वर्षाका कारण नदीको जलस्तरमा अस्वभाविक वृद्धि देखिएको भन्दै प्रशासनले तटीय क्षेत्रमा सतर्कता बढाएको जनाएको छ । कोशीको बाढीलाई मध्यनजर गर्दै सप्तरीतर्फ समेत प्रशासनले हाई अलर्ट जारी गरेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार १८:०४