पछिल्लो दुई दशक अघिदेखि गाउँदेखि सहरसम्म नै छोराछोरी पढाउनुपर्छ भनेर हरेक नागरिकमा चेतना आएको छ । हरेक अभिभावकको इच्छा आफ्नो बालबच्चालाई राम्रो शिक्षा दिने र जिम्मेवार पदमा पुर्याउने रहेको छ । अभिभावकको चाहना छोराछोरीलाई राम्रो शिक्षा दिने आशा भए पनि आर्थिक अभावका कारण उनीहरु चाहेर पनि दिन सक्दैनन् । अहिले आम्दानी हुने वा धनी नागरिकले आफ्ना बालबाच्चालाई गुणस्तरीय शिक्षाका लागि महंगो निजी विद्यालय वा कलेजमा पढाउँछन् भने कम आम्दानी हुने अभिभावकले चाहेर पनि राम्रो तथा गुणस्तरीय शिक्षा बालबच्चालाई दिन सक्दैनन् ।
सरकारले केही दिनअघि मात्र एसइईको नतिजा सार्वजनिक गरेको छ । जसले गर्दा अहिले विद्यार्थीलाई निजी कलेजमा तान्नका लागि कलेजहरुले हानाथान गरिरहेका छन् । सरकारी विद्यालयमा पढेका विद्यार्थीहरु एसइई पास गरेपछि गाउँबाट सहरमा पढ्न र कामका खोजीमा आउने गर्छन् । यसरी विद्यार्थीहरु सहर आएपछि साथीसँग मिलेर वा एउटा कोठा भाडामा लिएर बस्ने गर्छन् । उनीहरुमाथि घरपरिवारको जिम्मेवारी पनि थपिने गर्छ । जसले गर्दा पढाइका साथसाथै काममा पनि उनीहरु लाग्ने गर्छन् । यस्तो अवस्थामा उनीहरुसँग कलेज भर्ना गर्ने पैसाको अभाव रहन्छ र आफूले पढ्न चाहेको विषय पनि पढ्न पाउँदैनन् ।
सरकारी कलेज जतिसुकै सस्तो भए पनि भर्ना फिस, कापीकिताब, ड्रेस आदि गरेर एक वर्षको कम्तीमा पनि ५० हजार खर्च हुने गर्छ भने निजी कलेजमा पढ्नका लागि कलेज हेरेर एक वर्षको एक लाखदेखि तीन लाख रुपैयाँसम्म खर्च हुने गर्छ । निजी कलेजमा पढ्ने विद्यार्थीहरु अभिभावककै सम्पूर्ण खर्चमा पढ्ने गर्छन् । निजी कलेजमा एउटा कलेज सञ्चालन गर्न अर्बौं रुपैयाँ लगानी गरिएको हुन्छ । यिनीहरुले लगानी र नाफाका पनि राज्यलाई एक सुको कर तिर्दैनन् । निजी कलेजमा विद्यार्थीले पढ्नका लागि खर्च गरेको रकम सरकारले निर्धारण नगरी यिनीहरुले आफूखुशी निर्धारण गर्ने गर्छन् । यस्ता कलेजहरुले प्रसारप्रचार गर्नका बजाएको विज्ञापनको रकम विद्यार्थीबाटै असुली गर्छन् ।
नागरिकका छोराछोरीलाई पढाउने नाममा महंगो पैसा लिएर ठग्ने अनि राज्यलाई एक सुको कर पनि नतिर्ने साथै सञ्चारकर्मीहरु पनि निजी विद्यालय तथा कलेजहरुको विज्ञापन पाएपछि आवाज उठाउँदैनन् । यसले गर्दा कमजोर आर्थिक अवस्था हुने विद्यार्थीहरु आफूले चाहेको विषय पढ्न महंगो रकम लाग्ने भएकाले चाहेर पनि पढ्नबाट वञ्चित भइरहेका छन् । सरकारी कलेजमा पढ्नका लागि आर्थिक अभावका कारण विद्यार्थीहरु मारमा परिरहेका छन् । सरकारी विद्यालयमा पढेका विद्यार्थी दुख र अभावमा एसइईसम्म पास गर्छन् । छोराछारीले एसइई पास गरेपछि आफ्नै कमाइमा पढुन भन्ने अभिभावकको आशा हुन्छ । एसइई पास गरेका विद्यार्थीलाई राम्रो र सस्तो कलेजको आवश्यकता छ । तर सरकारी कलेजमा राजनीतिक पार्टीको सलग्नता र निजी कलेजको लुटधन्दाले विद्यार्थीहरु मारमा पर्छन् ।
यो सरकारी कलेजमा पढ्ने र आर्थिक कमजोर हुने विद्यार्थीहरुको ठुलो समस्या हो । जो निजी विद्यालय तथा कलेजमा पढ्छन् उनीहरुका अभिभावकहरु बालबच्चाले जुनसुकै महंगो कलेजमा पढ्नेभन्दा पनि पढ्न पाउँछन् । आफ्नो बालबच्चालाई महंगो र गुणस्तरीय शिक्षा प्रदान गर्ने गर्दछन् । यता सरकारी विद्यालयमा पढेका विद्यार्थीहरु बिहान आधा पिरियड मात्र कक्षा पढेर दिनभरी काम गर्ने गर्छन् भने धनी अभिभावकका छोराछोरी बिहानभरि सुत्ने र दिनभरी पढ्ने गर्छन् । सरकारी विद्यालयमा पढेका विद्यार्थीहरुले घरको सम्पूर्ण जिम्मेवारी आफूले नै निभाएका हुन्छन् । उनीहरु काम गरेर आफ्नो घरमा आमाबुबालाई घरखर्च समेत पठाउने गर्छन्, बरु उनीहरु आफू खाना खाँदैनन् । उनीहरु कलिलो उमेरमा नै जिम्मेवारी र सक्षम बन्ने भएकाले जुनसुकै परिस्थितिमा लड्न तयार हुन्छन् ।
निजी कलेजमा पढ्ने विद्यार्थीहरु कोही पढाइ सकिएपछि मात्र जागिर खान्छन् भने कोही १२ कक्षा पास गरेपछि पढ्नका लागि अमेरिका, अस्ट्रेलिया, जापानजस्ता देशतिर जान्छन् । उनीहरु अभिभावककै सम्पूर्ण खर्चमा रमाउने गर्छन् । निजी कलेजमा पढ्ने विद्यार्थीहरु पढ्न भनेर विदेश जाँदा पनि देशको मुद्रा बाहिर लैजान्छन् र बौद्धिकता पलायन पनि हुने गर्छ । यसले गर्दा देश र अभिभावक दुवैलाई घाटा हुने गर्छ । सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई सुरुमै राजनीतिक दलको सदस्यता लिन लगाइन्छ, आन्दोलन वा क्याम्पस तोडफोड गर्न सिकाइन्छ । साथै सरकारी विद्यालय तथा कलेजमा पढाउने शिक्षक शिक्षिकाले पनि राजनीतिक पार्टीको सदस्यता लिएका हुन्छन् । उनीहरु कलेज वा विद्यालय आउने हाजिर गर्ने अनि विद्यार्थी नै नपढाइ राजनीतिक दलको कार्यक्रमतिर लाग्छन् । उनीहरु विद्यार्थी पढाउन आए पनि १० देखि १५ मिनेट पढाउने अनि जाने गर्छन् ।
विद्यालय तथा कलेजहरुले विद्यार्थीसँग भर्ना वा पुरै रकम नलिएसम्म परीक्षाबाटै बञ्चित गराउँछन् । यसरी सरकारी विद्यालयमा पनि राम्रो पढाइ भएका विद्यार्थीहरु पैसा तिर्न नसकेर पढ्नबाट नै वञ्चित भइरहेका छन् । जतिसुकै विद्यार्थीसँग पढ्ने इच्छा भए पनि अभिभावकसँग पैसाको कमीले गर्दा बालबच्चा सरकारी विद्यालयमा समेत पढ्नबाट वञ्चित भइरहेका छन् । यता निजी विद्यालय तथा कलेजमा पढाउने शिक्षक शिक्षिका राजनीतिक पार्टीमा पनि नलाग्ने, तलब थोरै भए पनि विद्यार्थीलाई राम्रो र गुणस्तरीय शिक्षा प्रदान गर्ने गर्छन् । अहिले सरकारी विद्यालय वा कलेजमा पढेका नागरिक राजनीतितिर लाग्छन् भने निजी विद्यालयमा पढेका नागरिक बौद्धिक पलायन हुन्छन् । यसरी विद्यालयजस्तो पवित्र मन्दिर वा स्थलमा राजनीति र व्यापार भइरहेको छ ।
नेपालको निजी विद्यालय तथा कलेजहरुमा राजनीतिक दलहरुको लगानी रहेको छ । सरकारी विद्यालयमा बन्द गरी निजी विद्यालयको एकाग्रता ल्याउन यिनीहरुले सरकारी विद्यालयका शिक्षक शिक्षिकालाई पढाउन छोडेर राजनीतितिर लगाइरहेका छन् । यता विज्ञापन दिएर विद्यार्थीहरु सबै निजी विद्यालय वा कलेजमा तान्ने र सरकारी विद्यालय तथा कलेजहरु बन्द गर्ने काम यिनीहरुले गरिरहेका छन् । अब सरकारी विद्यालय वा कलेजमा पढाउने शिक्षक शिक्षिकाले राम्रोसँग पढाउने र आफ्नो जिम्मेवारी पुरा गरिदिने हो भने निजी विद्यालयले फाइदा लिन पाउँदैनन् । साथै आर्थिक कमजोर हुने बालबालिकाले पनि पढ्न पाउँथे र निजी विद्यालयहरुको ठगीधन्दा पनि बन्द हुनेछ ।
शिक्षा एउटा ज्ञान प्रदान गर्ने आधार हो तर अहिले शिक्षामा पनि व्यापार भइरहेको छ । अहिले धनीका छोराछोरीले राम्रो शिक्षा पाउँछन् भने गरिबका छोराछोरी राजनीतिमा लागेर आन्दोलनमा नै मर्ने गर्दछन् । सरकार शिक्षामा पनि किन यस्तो भेदभाव ? अहिले निजी विद्यायलमा पढ्ने विद्यार्थीलाई १२ पास गरेपछि के गर्ने भनेर सोधेमा अमेरिका, अस्ट्रेलिया जान्छु भनेर भन्ने गर्छन् । त्यसैगरी सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई सोधेमा आफूलाई मन पर्ने पार्टीको कार्यकर्ता बन्छु र पछि नेता बन्छु भनेर उत्तर दिने गर्छन् । वर्षैपिच्छे ४ देखि ५ लाख नेपाली विद्यार्थी निजी तथा सरकारी विद्यालयबाट एसइई पास गर्ने गर्छन् । अहिले पनि नेपालमा त्यस्ता बालबालिका धेरै रहेका छन् । जसका अभिभावक गरिब भएकाले पढ्ने इच्छा हुदाँहुँदै पनि पढाइ छोड्नुपर्ने बाध्यता छ ।
यसरी वर्षैपिच्छे ४ देखि ५ लाख एसइई पास गरेका नेपाली विद्यार्थीहरु निजी तथा सरकारी कलेजहरुलाई कमाइखाने भाडा बनिरहेका छन् । पछिल्लो समय निजी तथा सरकारी कलेजहरुलाई मात्र आम्दानीको स्रोत नबनी अस्ट्रेलिया र अमेरिकाजस्ता देशहरुलाई पनि नेपाली विद्यार्थीहरु कमाइखाने भाडो बनिरहेका छन् । नेपाल सरकार वा नेपाली नागरिकले १२ पास गरेपछि आफ्नो छोराछोरी अमेरिका र अस्ट्रेलियाका सरकारलाई जिम्मा दिने र नेपाली मुद्रा पनि उनीहरुलाई नै जिम्मा लगाइरहेका छन् । यसबाट नेपाली नागरिक कति मुर्ख छन् भनेर सजिलै थाहा पाउन सकिन्छ । नेपाली नागरिक र सरकारले नै नेपालको अर्थतन्त्र धरायसी बनाइरहेका छन् ।
त्यसैगरी अमेरिका तथा अस्ट्रेलियाका सरकार १२ कक्षापास गरेपछि मात्र नेपाली विद्यार्थीहरु आफनो देश लैजाने गर्छन् । जसले गर्दा १२ कक्षासम्म नेपाल सरकारले विद्यार्थीमाथि गरेको लगानी यस्ता मुलुकहरुले लगिरहेका छन् । अमेरिका, अस्ट्रेलिया जस्ता देशहरु पढाउने भन्दैे नेपालका दक्ष जनशक्ति लगिरहेका छन् । नेपाली विद्यार्थीहरु नेपाली नागरिकता लिने, १२ कक्षा पास गरेको सर्टिफिकेट लिने र काम गर्न भने अमेरिका, अस्ट्रेलिया जाने गर्छन् । नेपाली विद्यार्थीहरु नेपालमा सानोतिनो काम गर्न लाज मान्ने, अमेरिका अस्ट्रेलियामा चर्पी सफा गर्ने भनी केही लाज हुँदैन र । देशको विकासमा आफैँ बाधा ल्याउने अनि देश विकास भएन भनेर भाषण गर्ने यो कताको नियम हो ? अब शिक्षामा सुधार कहिले आउँछ, सरकार ?
कहिलेसम्म शिक्षामा राजनीति र व्यापार भइरहन्छ । कहिलेसम्म देशमा बौद्धिकता पलायनले निरन्तरता लिइरहन्छ । शिक्षा मन्त्रालय र शिक्षा विभाग नेपाली विद्यार्थीहरुलाई बाहिरी मुलुकमा पढ्न जान भनेर लेटर प्याड बिक्री गरेर बसिरहेको छ र यतादेशको दक्ष जनशक्ति र पुँजी पनि खेर गइरहेको छ । सरकार यो चलन कहिलेसम्म रहन्छ । यसको रोकथाम कहिले हुन्छ । पढ्ने नाममा वर्षैपिच्छे ६५ अर्ब रुपैयाँ लाखौं विद्यार्थीले अमेरिका, अस्ट्रेलिया लैजाने गर्छन् । यसले राज्यलाई ठुलो क्षति भइरहेको छ । छोराछोरी अस्ट्रेलिया, अमेरिकाबाट नफर्केपछि अभिभावक पनि आफ्नो चलअचल सम्पत्ति बेचेर वर्षैपिच्छे अर्बौ रुपैयाँ अमेरिका, अस्ट्रेलिया लैजाने गर्छन् । यसमा नेपाल सरकारले छिटोभन्दा छिटो ध्यान नदिएमा नेपालमा अर्थतन्त्र नै टाट पल्टिन्छ । अब नेपाल सरकारले नेपालको शिक्षामा भएको बेथिति हटाएर शिक्षामा सुधार ल्याउनैपर्छ । यदि समयमै सरकारले नेपाली विद्यार्थीलाई बाहिरी मुलुकमा पढ्नका लागि जान नरोकेमा नेपाल सकिनेछ । नेपाली विद्यार्थी बाहिरी मुलुक नपठाऔं, देशको अर्थतन्त्र जोगाऔं ।
रुषा थापा ।