सूचनाको शक्ति - The Power Of Information

        

जंगली च्याउ खाँदा सल्यानमा आठ जना बिरामी

शारदा नगरपालिका र बनगाड कुपिण्डे नगरपालिकामा जंगली च्याउ खाँदा आठ जना बिरामी परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बनगाड कुपिण्डे नगरपालिका ९ जयतपानीका ४८ वर्षीय भुपबहादुर वली, श्रीमती ४५ वर्षीया मनकली वली,छोरा २३ वर्षीय प्रकाश वली र बुहारी २१ वर्षीया सुशीला वली बिरामी भएका हुन् ।

यस्तै शारदा नगरपालिका ४ साइलाकम्दमा ४० वर्षीया मिना बस्नेत, छोरी २५ वर्षीया पवित्रा बस्नेत, ९ वर्षीय जोन बस्नेत र ४ वर्षीया जोशना बस्नेत बिरामी भएका छन् । शुक्रबार साँझ जंगली च्याउ खाएर सुतेका उनीहरू राति बिरामी भएका थिए । चार वर्षीया जोशनाको अवस्था गम्भीर छ ।

अन्य बिरामीको अवस्था सामान्य भने रहेको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा सामान्य उपचारपछि गएराति नै उनीहरूलाई प्रादेशिक अस्पताल सुर्खेत रिफर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार ०९:३१