नेपालगन्जका युवा समाजसेवी विमल चन्दले शुक्रबार राती आफ्नो फेसबुकमा स्टाटस लेख्दै केही तस्वीरहरु पोष्ट गरे । उनले लेखे, ‘यतिबेला रातको १० बजेको छ, म उज्यालो सहर नेपालगन्जमा छु ।’ उनले पोष्ट गरेझैं अहिले नेपालगन्ज उज्यालिँदै गएको छ ।
उनले लेखेका छन्, ‘नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त बिष्ट बिग्रेका सबै सौर्य बत्ती हटाएर नयाँ जडान गरी नगरलाई उज्यालो नगर बनाउने महान अभियानमा लाग्नुभएको छ । उहाँको यो कामलाई सबैले सहयोग र आत्मसाथ गरी नगरलाई उज्यालो शहर बनाउने अभियानमा लागौं ।’
नेपालगन्ज र आसपासमा २०७५ सालमा जडान गरिएका सौर्य बत्ती बर्षदिन नपुग्दै बल्न छोडेका मर्मतका लागि उपमहानगरपालिकाले चासो देखाएसँगै रात्रिकालिन नेपालगन्ज उज्यालिँदै गएको छ । अघिल्लो कार्यकालमा उपमहानगरको नेतृत्व गरेका जनप्रतिनिधिले सौर्य बत्ती जडानपछि मर्मतमा चासो देखाएका थिएनन् ।
२०७५ सालमा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र, तत्कालिन संसद विकास कोष, जिल्ला विकास समितिको संयुक्त प्राविधिक तथा आर्थिक सहयोगमा जडान गरिएका सौर्य बत्ती मर्मतमा नेपालगन्जका नगर प्रमूख प्रशान्त विष्टले चासो देखाएसँगै नेपालगन्ज शहर उज्यालो बन्दै गएपछि नेपालगन्जका स्थानीय खुशी भएका छन् ।
यसअघि सौर्य बत्ती मर्मतका लागि नेपालगन्ज उपमहानगरपालिकाले हरेक वर्ष बजेट विनियोजन गर्दै आए पनि मर्मत नगर्दा सौर्य बत्ती बेकामे देखिएका थिए । सुरुवाती समयमा उपमहानगरपालिकाभित्र २५० वटा सौर्य बत्ती जडान भएका थिए । तर, जडान भएकामध्ये धेरैजसो बिग्रिएर काम नलाग्ने अवस्थामा पुगेका थिए ।
सौर्य बत्ती मर्मतपछि रात्रीको समयमा नेपालगन्जको मुख्य सडकमा बलेका बत्ती । तस्वीर : विमल चन्दको फेसबुकबाट
सौर्य बत्ती बल्न छाडेकाले सडकमा दुर्घटनाको जोखिमसमेत बढेपछि मर्मत तथा नयाँ जडानका लागि तत्काल काम सुरु भएको नगर प्रमूख बिष्टले बताए । उनले सडक बत्ती मर्मतको काम गरिरहेको जानकारी दिँदै उपमहानगरभित्र रहेका सबै सौर्य बत्ती मर्मत तथा नयाँ जडानको काम केही दिनमै सकिने पनि बताए ।
जडान गरेको तीन–चार बर्षसम्म पनि सोलार प्यानल र बल्वहरु मर्मत नभएपछि लाखौंको लगानी वालुवामा पानीझैं भएको थियो । ‘अब सौर्य बत्ती मर्मतपछि उक्त लगानी सदुपयोग हुने देखिएको छ,’ नेपालगन्जका युवा समाजसेवी विमल चन्दले भने, ‘नगर प्रमूख ज्यूले यसमा मर्मतमा चासो देखाएपछि यहाँका नागरिक खुशी पनि भएका छन् ।’
उपमहानगरपालिका क्षेत्रभित्र सुर्खेत रोडमा राखिएका सौर्य बत्ती मर्मत गर्न थालिएको र क्रमशः सबैतिर मर्मत हुने नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । रात्रीकालिन समयमा अधिकांश सौर्य बत्ती नबल्दा पैदल यात्रु समस्यामा पर्दै आएका थिए, अब रातीको समयमा हिँडडुल गर्न सहज हुने नगरबासी बताउँछन् ।
सडकमा जडान गरिएका सौर्य बत्ती समयमा नै मर्मत नहुँदा राती हिँड्न समस्या थियो । नेपालगन्जका मुख्य चोकहरुमा उच्च क्षमतायुक्त हाइमास्ट बत्ती जडान गरे पनि अन्य क्षेत्रमा जडान गरिएका सौर्य बत्ती मर्मत नहुँदा राती हिड्ने पैदल यात्रु र विहानै झिसमिसेमा कलेज जाने विद्यार्थीलाई आवतजावतमा समस्या हुँदै आएको थियो ।
सत्यपाटी । बाँके ।