सूचनाको शक्ति - The Power Of Information

        

संघ–प्रदेश निर्वाचन

गठबन्धनभित्र एउटै चुनाव चिह्नमा सहमति बन्न कठिन

तालमेल बमोजिम गठबन्धन बनाएर दल दर्ता गर्दा चुनाव चिह्नमा सहमति बनाउन कठिन देखिन्छ ।

निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन आह्वान गर्दा तालमेल गरेर चुनावमा जाने दुई वा दुईभन्दा बढी दलले एउटै चुनाव चिह्न लिएर उम्मेदवारी दिन पाउने व्यवस्था गरेको छ ।

उक्त व्यवस्था राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम नै रहेको आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले बताए । ऐनले एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिन सक्ने व्यवस्था गरेको छ ।

उक्त प्रावधान बमोजिम तालमेल गर्ने राजनीतिक दलले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आयोगमा दर्ता रहेको आफ्नै चुनाव चिह्न वा अन्य छुट्टै चुनाव चिह्नसमेत रोजेर संयुक्त रूपमा निर्वाचनमा सहभागी हुन पाउनेछन् ।

आयोगले निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गर्दा यस प्रकारको व्यवस्थाबारे प्रष्ट्याएको हो । स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरू दुई ध्रुवमा विभाजित भई अलग अलग गठबन्धन बनाएर चुनावमा स्पर्धा गरेका थिए ।

तर आआफ्नै दल दर्ता गरेर चुनावमा जाँदा १० प्रतिशतभन्दा बढी मत आंशिक बदर भएको थियो । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअघि राजनीतिक दलहरूले एउटै चुनाव चिह्न लिएर स्पर्धा गर्नेबारे समेत छलफल गर्दैछन् ।

तर तालमेल बमोजिम गठबन्धन बनाएर दल दर्ता गर्दा चुनाव चिह्नमा सहमति बनाउन कठिन देखिन्छ । तालमेल गरेर एउटै चुनाव चिह्न रोजेर निर्वाचनमा जाँदा सबैभन्दा बढी सिट जित्ने दलको संसदीय दल हुनेछ ।

यद्यपि दलीय चिह्नबाहेक छुट्टै रोजेको अवस्थामा भने दलहरूबाट निर्वाचित सांसद्को छुट्टै संसदीय दल गठन गर्नुपर्ने हुन्छ । यसअघि २०७४ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा यस प्रकारको अभ्यास भइसकेको छ । आयोगका अनुसार उक्त चुनावमा ९५ दल दर्ता रहेकोमा चार दलले चुनावी तालमेल गरी एउटै चुनाव चिह्न रोजेका थिए ।

दल दर्ता आह्वान

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि १० दिनको समय दिएर राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले साउन २२ गतेदेखि सुरु भई साउन ३१ गतेसम्म दल दर्ताको समयसीमा निर्धारण गरेको हो ।

आयोग पदाधिकारीको शुक्रबार बसेको बैठकले दल दर्ता गर्ने निर्णय गरेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले साउन १९ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरिएको बताए ।

उक्त समयभित्र दिइने निवेदनकै आधारमा दलले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन पाउने जानकारी उनले दिए । मन्त्रिपरिषद्ले मङ्सिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा गर्नुपूर्व निर्वाचन आयोगमा साउन १९ गतेसम्म ११६ राजनीतिक दलको दर्ता कायम छ ।

आयोगका अनुसार दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति उल्लेख गर्नुपर्नेछ ।

दलहरूले प्रतिनिधि सभा सदस्यको छुट्टै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा सातवटा प्रदेशका लागि छुट्टाछट्टै निवेदन पेस गर्नुपर्नेछ ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार ०८:०५