सूचनाको शक्ति - The Power Of Information

        

समाज

‘प्रेममा धोका’ पाएपछि आत्महत्या !

किशोरावस्थाका विद्यार्थीले आत्महत्या गर्नुको प्रमुख कारण नै प्रेममा धोका हो ।

कैलालीको एउटा विद्यालयमा गत शुक्रबार साँझ विद्यार्थी मृत फेला परिन् । जिल्लाको गोदावरी नगरपालिकास्थित तेघरीको सैनिक आवासीय विद्यालयमा कक्षा १० मा अध्ययनरत हिमानी बिष्ट मृत भेटिएकी हुन् ।

उनी सोही विद्यालयको होस्टेलमा बस्दै आएकी थिइन् । सेनाको विद्यालयभित्र होस्टेलमै हिमानीको शव फेला परेको थियो । उनी त्यहाँ आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले बताएको थियो ।

साउन १२ गते सुदूरपश्चिमको दुर्गम मानिने बाजुराको एक छात्रावासमा पनि विद्यार्थीको शव भेटियो । बुढीगंगा नगरपालिका–१ मा रहेको धुरालसैन माध्यमिक विद्यालयको छात्रावासमा एक जना युवकको शव फेला परेको थियो ।

बुढीगंगा–७ बस्ने २१ वर्षीय नविन खड्का कोठामा झुन्डिएको अवस्थामा भेटिएका थिए । खड्का उक्त विद्यालयमा प्राविधिक वन विज्ञान अध्ययन गर्दै आएका थिए । केही समय अगाडि बाजुरामै एक युवती पनि मृत भेटिएकी थिइन् ।

प्रेमीसँग विवाद हुँदा जिल्लाकै एउटा जंगलमा ती युवतीले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको थियो । गत असार १७ गते पनि धनगढीको कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत कञ्चनपुरकी एक किशोरी पनि मृत फेला परेकी थिइन् ।

कञ्चनपुरको बेलौरी घर भएकी अन्दाजी १९ वर्षीया आरती विष्ट आफ्नै घरमा मृत भेटिएको प्रहरीले जनाएको थियो । उनले आत्महत्या गरेको भनाई प्रहरीको थियो । उनी कैलाली बहुमुखी क्याम्पसमा स्नातक तह मानविकी संकाय प्रथम सेमेस्टरमा अध्ययनरत थिइन् ।

प्रहरीका अनुसार किशोरावस्थाका विद्यार्थीले आत्महत्या गर्नुको प्रमुख कारण प्रेममा धोका पाउनु रहेको छ । विभिन्न घटनाको अनुसन्धान गरेको प्रहरीले प्रेममा धोका पाएपछि किशोरकिशोरीले आत्महत्याको बाटो रोज्ने गरेको निष्कर्ष निकालेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहीले प्रेममा धोका पाएका कारण कतिपयले प्राण त्याग्ने गरेको बताए । ‘किशोरावस्थाका विद्यार्थीले आत्महत्या गर्नुको प्रमुख कारण नै प्रेममा धोका हो,’ उनले भने ।

उनका अनुसार पछिल्लो समय यो आत्महत्याको क्रम सुदूरपश्चिममै बढिरहेको अवस्था छ । उनले भने, ‘हाम्रो अनुसन्धानले पनि प्रेम सम्बन्धकै कारण आत्महत्या हुने गरेको देखाउँछ ।’ यसको न्यूनीकरणका लागि अभिभावक र शिक्षक तथा साथीभाइको सल्लाह, सुझाव र भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार ०७:५२