सूचनाको शक्ति - The Power Of Information

        

आजको मौसम

देशका केही स्थानमा भारी बर्षाको सम्भावना

आज राति विशेषगरी पश्चिमतर्फ मनसुन सक्रिय हुने देखिएको छ ।

फाइल तस्वीर

आज देशका केही भागमा भारी बर्षाको सम्भावना रहेको छ । विहानैदेखि प्रदेश १ र बागमती प्रदेशका केही स्थान तथा अन्य बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार ती स्थानमा हिजो साँझदेखि नै पानी रोकिँदै पर्दै गरिरहेको हो । ‘काठमाडौं उपत्यकामा चाहिँ बिहान २–३ बजेदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ,’ मौसमविद् बासीले भनिन् ।

उनका अनुसार आज दिउँसो पनि पहाडी भेगका केही र तराईका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । प्रदेश १, गण्डकी र बागमती प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिइन् । यस्तै आज राति विशेषगरी पश्चिमतर्फ मनसुन सक्रिय हुने देखिएको छ ।

मौसमविद् बासीका अनुुसार राति सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । ‘ती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ,’ उनले भनिन् । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ ।

जसमा भनिएको छ, ‘देशका पहाडी भूभागका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ । साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन–यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।’

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको ३ दिनसम्मको मौसम अनुमान यस्तो छ :

साउन २१ गते शनिबार (आज)

दिउँसो – देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राती – बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

साउन २२ आइतबार (भोली)

दिउँसो – देशभर सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राती – देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साउन २३ सोमबार (पर्सी)

दिउँसो – देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राती – देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ र बागमती प्रदेशका केही भूभागमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार ०७:४१