सूचनाको शक्ति - The Power Of Information

        

गठबन्धनमा चुनावी सिट बाँडफाँट गर्न बन्यो कार्यदल

सत्तारुढ पाँच दलीय सत्ता गठबन्धनमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको छ । गठबन्धनबीच आगामी मंसिर ४ मा हुने निर्वाचनमा तालमेल गर्ने सहमति भएको हो ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । हिजो मन्त्रिपरिषदको बैठकले मंसिर ४ मा प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेको थियो ।

चुनावी तालमेललाई न्यायपूर्ण र व्यवस्थित बनाउनका लागि कार्यदल गठन गरी अघि बढने सहमति पनि गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कांग्रेसबाट शेरबहादुर देउवा, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल, एकीकृत समाजवादीबाट माधवकुमार नेपाल, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल बैठकमा सहभागी थिए ।

त्यस्तै भदौ पहिलो साता सिटबाँडफाँटको समेत टुंगो लगाउने निर्णय भएको छ । सिट बाँडफाँटको गृहकार्य गर्न कार्यदलसमेत बनेको छ । कार्यदलमा नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् ।

नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन् । नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल रहेका छन् । जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार १५:४२