बझाङको जयपृथ्वी नगरपालिका–१ भण्डार र सदरमुकाम चैनपुर तथा जयपृथ्वीका अन्य वडा जोड्ने भगाली खोलाको पुल बन्द भएको लामो समयसम्म बितिसकेको छ ।
भगाली खोलामा पुल बनेपछि समस्याको समाधान हुनेमा ढुक्क भएका स्थानीयलाई भने सदरमुकाम चैनपुरसम्म आवतजावत गर्न समस्या भएको छ ।
पुल सञ्चालनमा नआउँदा सास्ती भोग्नुपरेको जयपृथ्वी नगरपालिका–३ पडेसस्थित पाण्डु माध्यामिक विद्यालय पडेसमा कक्षा १० मा अध्यनरत छात्र विजय विष्टले बताए ।
पुल बनेपछि समस्या समाधान हुनेमा ढुक्क रहेका स्थानीय पनि पहिरो तथा कटानका कारण बन्द भएको पुल सञ्चालनमा नआउँदा हेरेरै चित्त बुझाउन बाध्य छन् ।
चार बर्षसम्म पनि पुल सञ्चालनमा नआउँदा स्थानीय सडक कटान भएको ठाउँबाट ढुंगाको सहायताले जोखिम मोलेरै खोला तर्न बाध्य भएको स्थानीय उकेश विष्टले बताए ।
केहि समय सञ्चालनमा आएर सडक कटानका कारण पुलको भण्डारतिरको भाग पुरिएको छ भने दिनहुँ पहिरो खस्ने गरेकोले पुल सञ्चालनमा आउन कठिन छ ।
सडक कटानपछि बर्षैपिच्छे पुल अगाडी पहिरोले क्षति गरेर जाने बाटो नभएकाले स्थानीयले सहजताको अनुभूति गर्न नपाएको स्थानीय खडक बिष्टले बताए ।
पुल निर्माणपछि सहज होला भन्ने सोचेका स्थानीय अहिले निराश भएका छन् । पुल सञ्चालनमा ल्याउनुभन्दा पुललाई नै स्थान्तरण गर्नुपर्ने स्थानीयको माग छ ।
पुल स्थान्तरण भएमा भण्डारका स्थानीयलाई सहजरुपमा अन्य वडा तथा सदरमुकाममा जान र अन्य वडाका स्थानीयलाई भण्डार क्षेत्रमा आउन सहज हुने देखिन्छ ।
पुल स्थान्तरण गर्न सकेमा जयपृथ्वी नगरपालिका–३ पडेससँग प्रत्यक्ष सम्बन्ध भएका भण्डारका स्थानीयलाई चैनपुर आवतजावतमा सहज हुने देखिन्छ ।
उक्त खोलाको पुल स्थान्तरण नहुँदा तथा बन्द भएको पुल सञ्चालनमा नआउँदा विद्यार्थीको पढाइ समेत प्रभावित बनेको त्यस क्षेत्रका विद्यार्थीहरु बताउँछन् ।
जोखिम मोलेर खोला तर्दा दिनहुँ आफुहरुलाई समस्या हुने गरेको पाण्डु माध्यामिक विद्यालय पडेसमा कक्षा १० मा अध्यनरत छात्र विजय विष्टले बताए ।
उनले धेरै बर्षा भएर खोलामा बाढी आएको दिन विद्यालय छुट्ने गरेको बताउँदै भने, ‘भण्डार गाउँबाट पडेस जान खोला तर्नेपर्ने हुन्छ । बर्खाको समयमा निकै अप्ठेरो हुन्छ ।’
सोही विद्यालयमा अध्यनरत छात्रा समिता थापाले बर्खाको दुई–तीन महिना विद्यालय आउजाउ गर्न आफूहरुलाई साह्रै अप्ठेरो हुने गरेको बताइन् ।
उनले भनिन्, ‘यहाँबाट हामी करिब ४० जना विद्यार्थी विद्यालय जान्छौं, हामीलाई खोला तरेरै जानुपर्ने बाध्यता छ । खोला तर्दा निकै जोखिम हुन्छ ।’
खोला तर्दा पोसाक, झोला, कापी, किताब सबै भिनेर काम नलाग्ने हुने भएकाले विद्यालय जानुभन्दा कक्षा छाडेरै भए पनि घरमै बस्ने गरेको थापाले बताइन् ।
विहान विद्यालय जाने बेला र बेलुका विद्यालयबाट आउने बेलामा खोला तराउन एक जना अभिभावक दैनिक जानुपर्ने बाध्यता रहेको स्थानीय उकेश विष्ट बताउँछन् ।
उनले भने, ‘पढ्न गएका छोराछोरी विद्यालयबाट घर नफर्केसम्म बाटो हेरेर बस्नुपर्ने अवस्था छ । ठूलो बाढी आएका बेला छोराछोरीको पढाई नै छुट्छ ।’
वडाध्यक्ष डम्बरबहादुर सिंहले भने पुल सञ्चालनमा आए नआएको बारे स्थानीयले कुनै सूचना नै नदिएको भन्दै त्यस विषयमा आफुलाई जानकारी नभएको बताए ।
‘स्थानीयले मसँग माग लिएर आउनुभएको छैन । यस विषयमा स्थानीयसँग छलफल गरेर समस्या समाधानका लागि पहल गर्नेछु,’ वडाध्यक्ष सिंहले भने ।
जयपृथ्वी–१ का स्थानीयलाई सदरमुकाम चैनपुर जान भगाली खोला तरेरै जानुपर्ने बाध्यता छ । उक्त खोलाले शुक्रबार विहान स्थानीय पारु निसानीको एउटा गोरुसमेत बगाएको छ ।
सत्यराज सिंह । बझाङ ।