सूचनाको शक्ति - The Power Of Information

        

अर्थ–डायरी

डुब्दै नागरिकको बचत, सरकार मौन !

सहकारी तथा बैंककै कारण धेरै नागरिक सडकमा आउने अवस्थामा पुगेका छन् ।

राजधानी लगायत मुलुकभर सञ्चालित बैंकहरुबाट धमाधम पैसा निकाल्ने क्रम जारी छ । एक महिनादेखि बैंकहरुमा पैसा निकाल्नेको भीड लागेको छ । आफ्नो बचत निकाल्न बचतकर्तालाई हतारो छ । झण्डै २५ दिनअघि एकैदिन ६३ अर्ब रुपैंयाँ नागरिकले बैंकबाट निकाले । केही साताअघि २८ अर्ब र केही दिनअघि १८ अर्ब निकालियो । भकाभक पैसा निकाल्दा बैंकहरु टाठ पल्टिसकेका छन् । तर, यसरी पैसा निकाल्नुको रहस्य के होला ?

बैंक पुग्दा निकाल्ने मात्र भेटिन्छन्, डिपोजिट गर्ने शुन्यझैं भइसकेको छ । पछिल्लो समय सहकारीहरु अर्बौं रुपैयाँ लिएर भागिरहेका छन् । जसको त्रास नागरिकहरु देखिएको छ । सहकारीपछि बैंक पनि भाग्ने त होइन भनेर नागरिकको मनमा परिसकेको छ । त्यसैले पनि पैसा निकाल्नेको भीड लागेको बुझिन्छ । प्राइभेट बैंकले धेरै व्याज दिन्छ, तर विश्वासनियता छैन । सरकारी बैंकले व्याज नै थोरै दिन्छ ।

बैंकबाट यसरी पैसा निकालेर अब कहाँ लगेर राख्ने ? अहिले प्रायजसोले पैसा निकाल्दै आफ्नो घरमा लगेर थुपार्दै गएको पाइन्छ । विपक्षी दल नेकपा एमाले लगायतका केही दलले तारन्तार नेपाल अब श्रीलंका हुन्छ भनेर घोषणा गरेको गर्यै छन् । उता, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले समेत हरेक कार्यक्रममा नेपाल श्रीलंकाकै बाटोमा गइरहेको छ भनेर दाबा गरिरहेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले वालुवाटारमा बोलाएर आफ्नो जागिर खोस्ने डर देखाइपछि मात्र गर्भनर अधिकारी चुप लागेका हुन् । विद्यार्थी संगठनहरुसमेत वालुवाटार घेर्न पुगेका थिए । अहिले ती संगठनहरु पनि मौन छ । जागिर बचाउनका लागि गर्भनर अधिकारीले सत्यतथ्य बाहिर ल्याउन चाहेका छैनन् । प्रश्न उठेको छ, ‘यसअघि बारम्बार नेपालको अर्थतन्त्रको बारेमा बोल्ने व्यक्ति अहिले किन गुपचुप छन् ?’

राष्ट्र बैंकको मौदिक नीतिले घरजग्गा, सेयर र गाडीमा कर्जा लगानी नगर्न कडा निर्देश गरेको छ । यो क्षेत्र अत्यन्तै जोखिमपूर्ण भएकाले राष्ट्र बैंकले कडा मौद्रिक नीति ल्याएको हो । तर, बैंकहरुले अझै पनि सरकारको निर्देशनलाई बेवास्ता गरेको छ । आफ्ना नजिकका आफन्तलाई घुस खाएर यी क्षेत्रमा कर्जा दिने क्रम जारी छ । यता, सहकारीमा पैसा राख्ने क्रम ठप्प भएपछि, तरलता देखिएपछि सहकारी महासंघले पनि उल्लेखित तीन क्षेत्रमा लगानी नगर्न आदेश दियो ।

यी क्षेत्रमा कर्जा ठ्याक्कै रोक्न निर्देशन महासंघले दिएको थियो । बैंकमा पैसा निकाल्नेको भीड र सहकारी टाठ पल्टिएको देख्दा नेपालको अर्थतन्त्र श्रीलंका हुन्छ भनेर बुझ्न धेरै बेर लाग्दैन । सरकारलाई विश्वास नगर्नु पैसा निकालेर घरमा लगेर राख्नुको प्रमुख कारण हो । वित्तिय संस्थामा राजनीतिक दलको दबदबा छ । आफ्नो कार्यकर्ता भर्ति गरेका छन् । कार्यकर्ताले वित्तिय संस्था चलाउन सक्छ ? वित्तिय संस्थामा काम गर्नेले पैसा चिनेको हुनुपर्छ ।

उसको पढाइ पनि वित्तिय संस्थालाई पसाउने खालको हुनुपर्छ । तर यहाँ त राजनीतिक दलको झोले बन्यो भने जहाँ पनि छिर्न पाइहालिन्छ । अनि कहाँबाट नेपालका वित्तिय संस्था उँभो लाग्छ ? वित्तिय संस्थामा पनि राजनीतिक हस्तक्षेप छ । राजनीतिक दलकै कारणले पनि वित्तिय संस्था सकिँदैछन् । अझै पनि वित्तिय संस्थामा समस्या आउने निश्चित छ । बरु, व्याज चाहिँदैन, साँवा जोगाउँछु भनेर हिँडिरहेका छन्, बचतकर्ता । सबैले व्याजको माया मारिसकेका छन् ।

नागरिकले विश्वास नगरेपछि बैंक तथा फाइनान्सले कर्जा पनि दिन सक्दैनन् । कर्जा लगानी गरेन भने वित्तिय संस्था कसरी चल्छ ? आखिरी सबैभन्दा शक्तिशाली त नागरिक नै हुन् । नागरिकबाट वित्तिय संस्था नाङ्गिसकेका छन् । अब बैंकहरुले कि हात उठाउनुपर्यो कि नागरिकको विश्वास जित्न सक्नुपर्यो । विज्ञापन र व्याजको लोभमा परेर बैंकमा लगेर बचत गरेको नागरिकको भनाइ छ । बैंकका सञ्चालक कस्ता छन् ? यसमा कति नाफा छ ? उनीहरुले बुझेनन् ।

विज्ञापनमा यति व्याज भनेर दिएकाले पनि उनीहरुले भकाभक पैसा लगेर बचत गरे । पछिल्लो समय जसरी राखेका थिए त्यसरी नै निकाल्दै पनि छन् । तर, बैंकले त थोरै थोरै भएपनि डिपोजिट रकम फिर्ता गरिरहेको छ । तर, सहकारीले त एक रुपैंयाँ पनि दिन सकेको छैन् । न साँवा दिन्छ न व्याज । सहकारीमा बचत हुनेहरुको अहिले रुवावासी चलेको छ । हिजो सरकारले सोचविचार नै नगरी सहकारी दर्ता गर्न दियो ।

एउटै घरमा पाँच वटासम्म सहकारी छन् । च्याउ उमारेझै सहकारी उमार्ने पनि सरकार नै हो । अहिले त्यही सहकारीले नागरिकको उठीबास लगाइदिएको छ । खोल्न इजाजत दिने तर निरीक्षण गर्न नजाने । भूमि सुधार, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ यस विषयमा अझै पनि मौन छिन् । सहकारीका सञ्चालक रातारात गायब भएका छन्, तर उनलाई केही मतलब नै छैन ।

बेलैमा एउटा दायरा नबनाउदा आज नागरिकको स्थिति नाजुक बनेको छ । बरु उनी नागरिक ठग्ने सहकारीकै साधारण सभामा उद्घाटन गर्न पुग्छिन् । अहिले प्रायः नागरिकको मुखबाट एउटै कुरा सुन्नमा आइरहेको छ, नागरिकको पैसा डुबेको र सबैजसो सहकारी घाटामा गएको । यो विषयले अहिले व्यापक चर्चा पाएको छ । सहकारीले पैसा दिने हो भने नागरिकले आफ्नो बचत एकैदिनमा निकाल्थे । तर के गर्नु झुल्याएर राखेको छ ।

सहकारीको यस्तै पाराले नागरिकले विश्वास गर्न छोडेका हुन् । हिजो सहकारीले नागरिकलाई बढी व्याज दिन्छु भनेर नागरिकको पैसा लगेर राख्यो । पाँच लाख डिपोजिट गर्नेलाई साधारण सभामा दोसल्ला ओढायो । फुलमाला लगाएर अनेकथरी नौटंकी देखाउने काम पनि नभएका होइनन् । सहकारीले २२ प्रतिशतसम्म व्याज दिन्छु भनेर नागरिकको पैसा लिएको थियो । एउटाबाट ल्याउने अर्कोलाई व्याज दिने । यसरी नै सहकारी सिद्धिएको हो ।

आम्दानीको स्रोत नभएपछि सहकारीहरु केही समयदेखि यसरी नै चलिरहेको थियो । बजारबाट पैसा उठाउने अनि घरभाडा र कर्मचारीलाई तलब दिने । महंगो व्याज र जथाभावी कर्जा लगानी गर्नु आफ्नो खुट्टामा आफैले बञ्चरो हानेसरह भयो । अहिले सहकारीले व्याज त छोडौं साँवा पनि दिनसकेको छैन । अनि भाग्नुबाहेकको विकल्प के ? अब ३६ प्रतिशत व्याज दिन्छु भने पनि नागरिकले सहकारीमा लगेर पैसा राख्नेवाला छैनन् ।

पछिल्लो समय दैनिक पाँच वटासम्म सहकारी कुलेलम ठोकिरहेका छन् । अब यो बढेर दैनिक दुई दर्जनसम्म पुग्ने अनुमान लगाउन थालिएको छ । अबको एकडेढ वर्षको सहकारीको संख्या निकै न्यून हुन्छ । पसलेहरु समेत आफ्नो बचत रकम फिर्ता नपाएको गुनासो गर्छन् । पैसा उठाउनचाहि कर्मचारी आउने तर सहकारीमा अध्यक्ष र सञ्चालक नभेटिने । उठाइरहने तर फिर्ता नगर्ने क्रम बढेको पसलेको भनाइ छ ।

सहकारीले यसरी नागरिकलाई दुःख दिँदा वा पैसा फिर्ता नदिँदा पनि सरकारले मतलब गर्दैन । सहकारी तथा बैंककै कारण धेरै नागरिक सडकमा आउने अवस्थामा पुगेका छन्, धेरै विस्थापित हुने निश्चित छ । करोडपतिबाट रोडपति बन्नेको संख्या पनि उकालो लाग्ने देखिन्छ । सहकारीले सबैभन्दा धेरै व्यापारीबाट पैसा उठाउने हो । तर, व्यापारीले नै रकम बचत गर्न छोडिसकेका छन् । यता, सञ्चार माध्यमको पनि यस विषयमा ध्यान गएको छैन ।

नागरिकमा पहिल्यै सचेतना फैलाइदिने हो भने उनीहरुको रकम जोगिएला । सडकमा ओइरिनेको संख्या पनि कम होला । वित्तिय संस्थाले जति भए पनि आफ्नो गोपनियता लुकाउन खोज्छन् । उनीहरु भित्रभित्र डुबे पनि बाहिर जस्ताको त्यस्तै छ भनेर देखाउन चाहन्छन् । यता, त्यहाँ कार्यरत कर्मचारीले सुराकी दियो भने उसको जागिर नै चट हुन्छ । त्यसैले पनि यो कुरा बाहिर आउन सकेको छैन ।

यतिखेर प्रायजसो वित्तिय संस्था घाटामा छन् । हिजो नाफा भएकाले वित्तिय संस्थामा पनि रजाइँ चल्यो । अहिले कर्मचारीलाई तलब दिन नसक्ने अवस्था यिनीहरुको बनिसकेको छ । न घरभाडा तिर्न सकेका छन् । बचत फिर्ता गर्नुको साटो लुकीछुपी हिडेका छन् । सहकारीमा पैसा राख्नेले त दिनभरि कुरुवाको ड्युटी पाएका छन् । बिहान खाना खाएर सहकारी पुग्यो । दिनभरि कुर्यो अनि खाली हात फर्कियो । भोलि पनि त्यही क्रम जारी छ । अब पैसा बचत गर्नुअघि धेरै कुरा सोचौं । आफूले खाइनखाई जोगाएको रकम डुब्न सक्छ । बेलैमा सोचविचार गरौं ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार १०:०१