चुनावी तालमेलबारे छलफल गर्न सत्तारुढ गठबन्धनमा आबद्ध दलको बैठक आज बस्दैछ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै गठबन्धनका दलहरुबीच सिट बाँडफाँट लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बिहान साढे ९ बजे बालुवाटारमा बस्नेगरी बोलाइएको बैठकमा गठबन्धन दलहरुबीच संघ र प्रदेशमा सिट बाँडफाँटका लागि कार्यदल बनाउने तयारी छ ।
कार्यदलले सिट बाँडफाँटको मोडालिटी तयार गरेपछि त्यसैअनुसार प्रतिनिधिसभा र प्रदेशसभामा सिटको भागवण्डा गर्ने बताइएको छ । गठबन्धनका दलहरुबीच अघिल्लो निर्वाचन जितेका क्षेत्र सम्बन्धित दलले नै राख्ने र एमालेले जितेका क्षेत्रमा भागवण्डा गर्ने मोटामोटी सहमति छ ।
प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० प्रत्यक्षतर्फका सिट छन् । जसमध्ये कांग्रेसले प्रतिनिधिसभामा कम्तीमा ९५ सिट राखेर बाँकी चार दललाई ७० सिटबाट भागवण्डा लगाउने मनस्थिति बनाएको छ ।
तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने कांग्रेसलाई ८० सिट दिन तयार देखिन्छन् । प्रदेशसभाको सिट बाँडफाँटमा पनि दलहरु यही अनुपातलाई मिलाएर लैजाने तयारी गरिरहेका छन् ।
यसैबीच कांग्रेससँग सिट बाँडफाँटको बार्गेनिङ गरिरहेका गठबन्धनभित्रका अन्य वाम दलहरुले छुट्टै मोर्चा बनाउने गृहकार्य पनि जारी राखेका छन् । एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जानेसम्मको तयारीमा वाम दलहरु जुटे पनि अहिलेसम्मको छलफलमा कुनै प्रगति भने देखिएको छैन ।
सत्यपाटी । काठमाडौं ।