सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जका मेयर विष्टले छड्के गर्दा अधिकृतसहित ३२ जना कर्मचारी अनुपस्थित

नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरु एकसाथ ठुलो संख्यामा अनुपस्थित भएका छन् । अनुपस्थित रहने कर्मचारीमा शाखा प्रमुखको जिम्मेवारीमा रहेका अधिकृत स्तरका कर्मचारी नै धेरै रहेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले बिहीबार उपमहानगरपालिका कार्यालयमा कर्मचारीहरुको हाजिरी छड्के अनुगमन गरेका थिए ।
सो क्रममा शाखा अधिकृत सहित ३२ जना कर्मचारीहरुले हाजिरी नगरेको पाइएको हो ।

यद्यपी शाखा अधिकृत को–को हुन् भन्ने बारे उपमहानगरले नाम खुलाइएको छैन । नगरप्रमुख बिष्टका अनुसार बिहान १०ः२० बजे हाजिरी रजिष्ट्रर छड्के गर्दा १२ जना अधिकृतस्तरका कर्मचारीहरु अनुपस्थित पाइएको हो । उनीहरु मध्ये अधिकांश शाखा प्रमुखको जिम्मेवारीमा समेत छन् ।

यस्तै पाँचौं तहका ७ जना र करार १३ जना कर्मचारी पनि अनुपस्थित पाइएको हो । नगरप्रमुख विष्ट सहितको टोलीले दैनिक समयमै कार्यालयमा उपस्थित रहन र समयभित्रै उपस्थिती जनाउन निर्देशन दिएको छ ।

पहिलो चरणमा हाजिरी छड्के गरेको नगरप्रमुख विष्ट सहितको टोलीले सेवा प्रवाह लगायतका विषयमा पनि निरन्तर अनुगमन गर्ने जनाएको छ ।

नगरभित्रका सामुदायिक विद्यालयका शिक्षकहरुको हाजिरी रजिष्ट्ररको अनुगमन गरिरहेको नगरपालिकाको टोलीले बिहीबार आकस्मिक रुपमा कर्मचारीको पनि हाजिरीको अनुगमन गरेको हो ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार १८:०६