आगामी संघीय तथा प्रदेश निर्वाचनका लागि बझाङ जिल्लामा दुई मतदानस्थल थप गर्न सिफारिस गरिएको छ । जिल्ला मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिको बैठकले मतदान स्थल थप गर्न सिफारिस गरेको हो ।
प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको अध्यक्षतामा बसेको बैठकले छविसपाथिभेरा गाउँपालिका–५ को चन्द्रोदय माध्यमिक विद्यालय खतेडा र केदारस्युँ गाउँपालिका–४ को शिक्षोदय माध्यामिक विद्यालय बागथलामा केन्द्र थप गर्न सिफारिस गरेको हो ।
मतदानस्थल थप गर्न निवेदन आएपछि थपका लागि सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकारी विमल प्रसाद गौतमले जानकारी दिए । यसका लागि सिफारिस गरिएको मतदानस्थलसँगै जिल्लामा १३५ मतदानस्थल हुनेछन् ।
मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिले जिल्लाका चार वटा मतदानस्थल मतदातालाई पायक नपर्ने ठाउँमा, मतदानस्थल भएका विद्यालयमा बाढी पहिरोले क्षति गरेपछि मतदानस्थल परिवर्तन गर्न सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जसमा थलारा गाउँपालिका वडा नं. ६ को त्रिभुवन आधारभुत विध्यालय पिखेतमा रहेको विद्यालयमा पहिरोले क्षति पुर्याएपछि वडा कार्यालयमा, वडा नं. ८ को शैलेश्वरी आधारभूत विद्यालय देवस्थलीमा पनि पहिरोले क्षति पुर्याएपछि वडा कार्यालयमा सारिएको छ ।
त्यस्तै साइपाल गाउँपालिका वडा नं.५ धुली माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा नागरिकले अपायक परेको भनेपछि एराङपुरी डाँडास्थित सामुदायिक भवनमा र खप्तडछान्ना गाउँपालिका वडा नं.१ जगदम्बा आधारभूत विद्यालयमा पहिरोले क्षति गरेपछि विद्यालय भवन नै बयलपाटामा सारेकाले मतदानस्थल पनि सोही स्थानमा सारिएको छ ।
गत स्थानीय तह निर्वाचनमा बझाङमा १ लाख २२ हजार १३७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । अहिले पनि निरन्तर मतदाता नामावलीमा नाम दर्ता गर्ने क्रम जारी छ । अहिले जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमै मतदाता नामावली दर्ता क्रम जारी छ ।
सत्यराज सिंह । बझाङ ।