सूचनाको शक्ति - The Power Of Information

        

लोक सेवाको उत्तर पुस्तिकामा मोबाइल नम्बर लेखेर फोन गर्नु भनेपछि…

कर्णाली प्रदेश लोक सेवा आयोगले गत साउन ७ गते लिएको (अहेव पदको) चौथो तहको परीक्षामा एक जना परीक्षार्थीले उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेखेको भेटिएको छ ।

त्यसो गर्नेमा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ का नवीनकुमार रेउले रहेका छन् । मोबाइल नम्बर लेखेर फोन गर्नु भनेपछि प्रदेश लोक सेवाले उनलाई दुई वर्षसम्मका लागि अयोग्य ठहर गरेको छ ।

आयोगले जारी गरेको सुचना अनुसार उनको मास्टर आइडी १४०५७ र रोल नं. ४४६६ रहेको छ । रेउलेले वस्तुगत र विषयगत दुवै उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेखेको प्रदेश लोक सेवा आयोगका प्रवक्ता बुद्धिबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार रेउलेलाई प्रदेश लोक सेवा आयोग ऐन, ०७५ को दफा ६४ को उपदफा (१) को खण्ड (ख) बमोजिम कसुर गरेको देखिएको र लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, २०७८ को दफा ३६ को उपदफा २० को खण्ड (ख) बमोजिम लिखित परीक्षा रद्द गरिएको छ ।

उक्त ऐन अनुसार आयोगबाट आगामी दुई वर्षसम्म हुने पदपुर्ती सम्बन्धी सबै विज्ञापनहरूमा उम्मेदवार हुन नपाउने गरी रोक लगाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार ०८:४९