सूचनाको शक्ति - The Power Of Information

        

समाचार

बेचविखनको उच्च जोखिममा ‘महिला र बालबालिका’

पछिल्लो ११ वर्षमा बेचविखनमा पर्नेको संख्या ह्वात्तै बढेको छ ।

पश्चिम नेपालका तराई र पहाडी जिल्लाका महिला तथा बालबालिका बेचविखनको उच्च जोखिममा रहेका छन् । अशिक्षा, गरिबी र चेतनाको कमीले उनीहरु जोखिममा पर्दै गएको बेचविखन नियन्त्रणमा सक्रिय संघ संस्थाले जनाएका छन् ।

लामो समयदेखि मानव बेचविखन रोकथाम र उद्धारको कार्यमा संलग्न माइती नेपालको नेपालगन्जस्थित क्षेत्रीय कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो ११ वर्षमा बेचविखनमा पर्नेको संख्या ह्वात्तै बढेको छ ।

आर्थिक वर्ष २०६७–०६८ मा जोखिमपूर्ण यात्रामा रहेकाको पहिचान गरी यहाँस्थित जमुनाहा नाकाबाट २१४ जनाको उद्धार गरिएको थियो । आर्थिक वर्ष २०७८–०७९ सम्म पुग्दा यो संख्या बढेर ६२७ पुगेको सो संस्थाले जनाएको छ ।

आर्थिक वर्ष २०७८–७९ को तथ्यांक अनुसार जोखिमपूर्ण यात्रामा रहेको पाइएका ६२७ मध्ये ६२३ जनालाई सिमानाबाट उद्धार गरी घर फर्काइएको थियो । बाँकी चार जनालाई माइती नेपालको सेल्टरमा राखिएको नेपालगन्जका कार्यक्रम संयोजक केशव कोइरालाले बताए ।

सीमाबाट फर्काइएका अधिकांश व्यक्ति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका रहेका छन् । तीमध्ये सबैभन्दा बढी महिला र माध्यमिक तहको शिक्षा लिने उमेरका रहेको माइती नेपाल नेपालगन्जले जनाएको छ ।

माइती नेपाल नेपालगन्जका अनुसार आर्थिक वर्ष २०७८–०७९ मा श्रम र यौन शोषणमा परेका ११ जनाको उद्धार गरिएको छ । बेचविखनमा परेका आशंकामा खोजतलास गरी पाउँ भनी ७०२ जना आफन्तको निवेदनमा २८५ जनालाई फेला पारेर उद्धार गरिएको संयोजक कोइरालाले बताए ।

महिला र बालकबालिका हराउने क्रम नरोकिएको जनाउँदै अझै ४२७ जनाको अवस्था बेपत्ता सूचीमा रहेको उनले बताए । बेचविखनमा परेकाको उद्धारका लागि सरकारले अझै कार्यविधि बनाउन नसकेको उहाँले जानकारी दिए ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार ०७:४७