सूचनाको शक्ति - The Power Of Information

        

सप्तकाेसीमा पानीकाे सतह बढ्दै

पूर्वी नेपालम अविरल वर्षाका कारण सप्तकाेसी नदीमा पानीकाे सतह बढ्दै गएकाे छ ।

पानीकाे सतह बढ्दै गएपछि चार हजार परिवार प्रभावित हुने अनुमान गरिएकाे छ । जोखिम क्षेत्रको रेखाङ्कन गरेर थप सतर्कता अपनाउन आग्रह गरिएकाे छ ।

पानीकाे सतह बढ्दै गएपछि सप्तकोसी नदीकाे बाँध फुटेर बाढी बस्तीमा पसेसँगै स्थानीयवासी प्रभावित भएका छन् । बाँध फुटेर उदयपुरको बेलका नगरपालिका वडा नम्बर १, २, ३, ८ र ९ काे बस्तीमा बाढी पसेकाे हो ।

सुनसरीको बराह क्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ पनि डुबानमा परिसकेको छ । बुधवार बिहान सप्तकोसी नदीको बाँध फुटेर बाढी गाउँ पसेको थियो । जसको असर क्रमशः सप्तरी र सुनसरीमा समेत पर्ने देखिएकोले तीन जिल्लामा सतर्कता अपनाइएको छ ।

बस्तीमा बाढी पसेका कारण उदयपुर आसपासका सुनसरी, सप्तरी लगायतका जिल्लाका झन्डै २० हजार मानिस प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।

नदीको धार पुरानो ठाउँमा फर्किंदा बस्ती डुबानमा परेको स्थानीयवासीकाे भनाइ छ । बस्तीमा बाढी पसेसँगै स्थानीयवासी आफ्ना सामान पाेकाे पारेर सुरक्षित स्थानतर्फ लागेका छन् ।

गाउँ डुबिनसकेपनि सरकारले डुब्न सक्ने जोखिमका कारण सुरक्षित स्थानमा जान आग्रह गरेको छ । पानीको मात्रा बढिरहेकोले वस्तुभाउ छोडेर निस्किएको स्थानीयवासीले बताए ।

अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन् । नदी कटानले कोसीकाे बहाव गाउँतिर पसेको स्थानीयवासी बताउँछन् ।

बराह क्षेत्रकाे श्रीलङ्का टापुमा गए रातिदेखि सप्तकोसीकाे भङ्गालो पसेकोले त्यहाँ फसेका बासिन्दालाई उद्धार गर्न समस्या भइरहेको बताइएको छ ।

सप्तकोसी नदीको बाँध फुटेर बस्तीमा पसेपछि उदयपुरको बेलका ८ डुम्रीबोट र लाहुरेखोच क्षेत्रको प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीसहितको टोलीले आज स्थलगत अनुगमन गरिसकेको छ भने प्रभावित बासिन्दाको सुरक्षा र उद्धार कार्यमा सहजीकरण गर्ने काम भइरहेको छ ।

सप्तकोसीबाट बस्ती क्षेत्रमा पसेको बाढीले बेलका नगरपालिका तथा सप्तरीका कञ्चनरुप र सप्तकोसी नगरपालिकामा समेत क्षति गर्नसक्ने अनुमान छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार १७:५६