सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जमा सामुदायिकसँगै संस्थागत विद्यालयको पनि अनुगमन

नेपालगञ्ज उप–महानगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिकसँगै संस्थागत विद्यालयको पनि आकस्मिक अनुगमन थालेको छ ।

नगर प्रमुख प्रशान्त विष्ट गतसातादेखि आकस्मिक रुपमा विद्यालयहरुको अनूगमनमा निस्कने गर्नुभएको छ । बुधबार शिक्षा शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा सहित नगर प्रमुख विष्टले बसुदेपुरस्थित जगतज्योती माध्यामिक विद्यालय, महाराजा माजि पुरैना र जय बागेश्वरी माध्यामिक विद्यालयको अनुगमन गरेका हुन् ।

जगतज्योती माविमा नियमित पठन पाठन राम्रो देखिएपनि विद्यालयमा प्राचार्य ईश्वर पौडेल सहित हाजिर रजिष्ट्ररमा अनुपस्थित ५ जना शिक्षकहरुलाई गयल गर्दै टोलीले समयमै विद्यालयमा पुगेर हाजिर गर्न निर्देशन दिएको छ ।

यसैगरी महाराजा माविमा विद्यार्थी र शिक्षकहरु कोठा बाहिर फेला पारेपछि अनूगमन टोलीले नियमित पठनपाठनका लागि निर्देशन दिएको थियो ।

संस्थागत विद्यालयको रुपमा पहिलो पटक जय बागेश्वरीबाट टोलीले अनुगमन थालेको हो । सोक्रममा नगर प्रमुख विष्टसहितको टोलीले विद्यालयको विभिन्न विषयको जानकारी लिएको थियो । टोलीले शौचालयसहित भौतिक अवस्था र छात्रवृत्तिका विषयमा जानकारी लिएको थियो ।

नगर प्रमुख विष्ट र शाखा प्रमुख थापा सम्मिलित अनुगमन टोलीले तीनवटै विद्यालयका विद्यार्थी तथा शिक्षकसँग समेत प्रत्यक्ष परामर्श गरेको थियो ।

नगरको सुधारका लागि शिक्षामा विशेष जोड दिइएको भन्दै नगर प्रमुख विष्टले शैक्षिक सुधार भएपनि अन्य क्षेत्रमा सुधार देखिने भएकाले शिक्षामा विशेष प्राथमिकता दिइएको बताए ।

उनले अनुगमन जुनसुकै समयमा र जुनसुकै विद्यालयमा पनि हुनसक्ने बताए । अनुगमनलाई निरन्तरता दिदै विद्यालयहरुको आवश्यक सुधारका लागि पनि क्रमश पहल गरिने नगर प्रमुख विष्टले बताए ।

गतसातादेखि शुरु भएको अनुगमनका कारण सामुदायिक विद्यालयमा सकारात्मक प्रभव पारेको देखिएको छ । नगर प्रमुख विष्टले आफुले बाल्यकालमा अध्ययन गरेको सामुदायिक विद्यालय महेन्द्र मावि र संस्थागत विद्यालय जय बागेश्वरीबाट अनुगमन शुरु गरेका हुन् ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार १७:४९