जिल्लाको केदारस्युँ गाउँपालिका र जयपृथ्वी नगरपालिकाका केही विद्यालयमा बालमैत्री तथा भूकम्प प्रतिरोधात्मक विद्यालय भवन निर्माण गरिएका छन् ।
वर्ल्डभिजन र प्रगतिशिल युवा समाजको साझेदारी, स्थानीय सरकारको समन्वय र स्थानीय नागरिकको सहयोगमा विद्यालय भवन निर्माण गरिएका हुन् ।
भवन अभाव भएका विद्यालयमा बालमैत्री र भूकम्प प्रतिरोधात्मक दुई कोठे भवन निर्माण गरिएको प्रगतिशिल युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले जानकारी दिए ।
जयपृथ्वी नगरपालिका–८ को जालपा आधारभूत विद्यालय जोशीगाउँ, नवादेउ आधारभूत विद्यालय ग्वानी, युवा बर्ष आधारभूत विद्यालय सेलाखेतको भवन निर्माण गरिएको छ ।
साथै वडा नं.११ को निलकट्टी माध्यमिक विद्यालय दैकुमला र केदारस्युँ गाउँपालिका–८ मा को नवादेव आधारभूत विद्यालयमा भवन निर्माण गरिएको छ ।
निर्माण गरिएका भवन सुुविधा सम्पन्न बालमैत्री र भूकम्प प्रतिरोधी रहेको र भवनहरु विद्यालयलाई हस्तान्तण समेत गरिरहेको कार्र्यकारी निर्देशक जोशीले बताए ।
कार्यकारी निर्देशक जोशीका अनुसार जयपृथ्वी नगरपालिका र केदारस्युँ गाउँपालिकाका विभिन्न विद्यालयमा अपाङ्गतामैत्री शौचालयसमेत निर्माण गरिएको छ ।
निर्माण गरिएका संरचनाहरुको संरक्षण तथा हेरचाह गर्नुपर्ने बताउँदै भौतिक संरचना निर्माणसँगै बालबालिकाको गुणस्तरीय शिक्षामा पनि ध्यान दिनुपर्नेमा जोशीले जोड दिए ।
जयपृथ्वी नगरपालिका–११ को सबैभन्दा विकटमा रहेको निलकट्टी माध्यमिक विद्यालय दैकुमलामा भवनको अभाव हुँदा विद्यार्थीलाई पठनपाठन गर्न समस्या हुने गरेको थियो ।
अहिले संस्थाले दुुई कोठे भवन निर्माण गरिदिएपछि पठनपाठनमा निकै सहज भएको निलकट्टी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमराज जोशीले बताए ।
विद्यालयको भवनमात्र नभएर विद्यालयमा संस्थाले घेरबार, बालमैत्री धारा र बालमैत्री कक्षाकोठा व्यवस्थापनका सामग्रीहरु समेत सहयोग गरेको समेत बताए ।
वर्ल्डभिजन र प्रगतिशिल युवा समाजले जिल्लाका जयपृथ्वी नगरपालिका र केदारस्युँ गाउँपालिकामा बालबालिकाको शैक्षिक सुधारका लागि काम गर्दै आएका छन् ।
यी संस्थाले शिक्षकलाई तालिम, विद्यार्थीलाई पोसाक, कापी, कलम वितरण, भवन निर्माणमा संस्थाले सहयोग गर्दै आएको युवा समाजका कार्यक्रम संयोजक यज्ञराज जोशीले बताए ।
उनले यी दुई स्थानीय तहमा जोखिममा रहेका बालबालिकाको समृद्धिका लागि समेत संस्थाले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए ।
संस्थाले यी दुई स्थानीय तहमा २ करोड ३७ लाख ५० हजार ३२ रुपैयाँ लागतमा ५ वटा विद्यालय भवन र ५ वटा शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिसकेको छ ।
जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले वडा नं. ११ स्थित निलकट्टी माध्यमिक विद्यालयको दुई कोठे भवन हस्तान्तरणपछि गुणस्तरीय शिक्षा अभिवृद्धिका लागि संस्थाले काम गर्दै आएकोमा खुशी व्यक्त गरे ।
उनले भौतिक संरचना निर्माणले विद्यार्थीहरुको पठनपाठनमा समेत मदत पुग्ने भएकाले आगामी दिनमा विद्यालयले समेत बालबालिकाको भविष्यका लागि गुणस्तरीय शिक्षा प्रदान गर्नेमा जोड दिए ।
नगरपालिकाले आफैंले भवन निर्माण गरेको खण्डमा धेरै लागत लाग्ने भएकाले संस्थाले निर्माण गरेको भवन राम्रो भएको र आफैंले भवनको अवलोकन र हस्तान्तरण गर्न पाउँदा खुसी लागेको समेत बताए ।
सत्यराज सिंह । बझाङ ।